१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० चैत ८ बिहीबार ०८:३५:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

रुसी सेनामा भर्ना भएका नेपाली फिर्ता गर्न अर्थमन्त्रीको आग्रह

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० चैत ८ बिहीबार ०८:३५:००

रुसी राजदूत भन्छन्— सबैजना फर्किन चाहेका छैनन्, रुसी–युक्रेनी कैदी साटासाटमा नेपाली मुक्त गर्ने प्रयास जारी छ 

अर्थमन्त्री वर्षमान पुनले नेपालको परराष्ट्र नीतिविपरीत रुसी सेनाले नेपालीको भर्ती गरेको भन्दै उनीहरूलाई स्वदेश फिर्ता गर्न रुसलाई आग्रह गरेका छन् । शिष्टाचार भेटका लागि बुधबार अर्थ मन्त्रालय पुगेका नेपालका लागि रुसी राजदूत अलेक्सेई ए नोभिकोभलाई उनले भर्ती भएकालाई नेपाल फिर्ता, घाइतेको उपचार, मृत्यु भएका नेपालीको शव नेपाल फिर्ता ल्याउन आग्रह गरेका हुन् । 

रुसी राजदूतले भने रुस सरकारले आह्वान गरेर नेपालीको भर्ती नभएको जिकिर गर्दै सेनामा रहेका नेपाली स्वदेश फिर्ता आउन नचाहेको जवाफ दिएका छन् । रुसी राजदूतले सञ्चारमाध्यममा रुसप्रति नकारात्मक प्रचारबाजी भएको भन्दै अर्थमन्त्रीसामु अप्रशन्नता व्यक्त गरेका छन् । 

‘नेपाल र रुसबीच सैन्य भर्ती गर्ने सम्झौता छैन । रुसले नेपालीलाई सम्झौताविपरीत भर्ती गरेको छ । त्यहाँ मृत्यु भएका ३३ नागरिकको शव रुसले पठाएको छैन । पीडित परिवारलाई क्षतिपूर्ति पनि आएको छैन,’ अर्थमन्त्री पुनलाई उद्धृत गर्दै उनका प्रेस सहयोगी दयानिधि भट्टले भने, ‘रुसले भर्ती भएका नेपालीलाई स्वदेश फर्काउनुप¥यो । घाइतेको उचित उपचार हुनुप¥यो । शव नेपाल पठाउनुप¥यो र परिवारजनकहाँ क्षतिपूर्ति पुग्ने व्यवस्था गर्नुपर्छ ।’ पुनले परराष्ट्र मन्त्रालयमार्फत रुसी सरकारलाई यसबारे जानकारी गराइसकेको स्मरण गर्दै रुसी सेनामा कार्यरत नेपालीलाई स्वदेश फिर्तीको वातावरण बनाउन आग्रह गरे । ‘रुसी सेनामा आफ्ना नागरिक भर्ती गराउने हाम्रो नीति नभएको विषयमा परराष्ट्र मन्त्रालयले यसअघि नै स्पष्ट गरिसकेको छ । तैपनि विभिन्न बाटो भएर गएका नेपाली रुसी सेनामा भर्ती भएका छन्,’ अर्थमन्त्री पुनले भने, ‘यसमा नेपाल सरकार र आमजनताको गम्भीर चासो र चिन्ता छ ।’ 

भट्टका अनुसार रुसी राजदूतले भने रुसी सरकारले आह्वान गरेर नेपालीको भर्ती नभएको जवाफ दिएका थिए । रुसले सेनामा भर्ती भएकालाई फिर्ता नगरेको भ्रम फैलाइएको भन्दै रुसी राजदूतले असन्तुष्टि पोखेका थिए । राजदूत नोभिकोभले नेपालीलाई सेनामा भर्ती गर्ने कार्यमा नेपाल सरकार दोषी नभएको, तर रुसले पनि उनीहरूलाई बोलाएर भर्ती नगरेको तर्क गरे । ‘भारत र युनाइटेड अरब इमिरेट्ससहित विभिन्न मुलुकबाट अवैध रूपमा गएका नेपाली स्वेच्छाले सेनामा भर्ती भएको राजदूतको भनाइ थियो,’ भेटमा सहभागी अर्थमन्त्रीका प्रेस सहयोगी भट्टले भने । रुसले फिर्ता पठाउन चाहे पनि सबै नेपाली स्वदेश फर्कन इच्छुक नभएको खबर आफूले पाएको पनि रुसी राजदूतको दाबी थियो । ‘नेपालले पठाएर र हामीले आह्वान गरेर उनीहरू सेनामा भर्ती भएका होइनन् । स्वेच्छाले भर्ती भएकाले स्वदेश फर्क भन्दा पनि धेरै नेपाली नफर्कने मनस्थितिमा रहेको खबर हामीले पाएका छौँ,’ राजदूतले भने । तर, रुस सरकारले भने कानुनमा संशोधन गरेरै विदेशी नागरिकलाई रुसी सेनामा भर्ती गरेको छ ।

रुस–युक्रेन युद्धका क्रममा हालसम्म ३३ जना नेपालीको मृत्यु भएको मस्कोस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको विवरणमा उल्लेख छ । ‘मृत्यु भएका बाँकी व्यक्तिका परिवारजनले भोलिदेखि क्रमशः नमुना दिनेछन् । यसका लागि सरकारी प्रक्रिया निकै लामो र झन्झटिलो रहेछ । मैले उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीज्यूलाई बुधबार भेटेर जानकारी पनि दिएकी छु,’ परिवारजनको समन्वय गरेकी नेतृ कृतु भण्डारीले भनिन्, ‘परराष्ट्रमन्त्रीले पीडितलाई सजिलो हुने गरी काम गर्न सम्बन्धित निकायलाई भनिदिन्छौँ भन्नुभएको छ ।’ 

रुसी राजदूत नोभिकोभले युक्रेनी सेनाले बन्धक बनाएका नेपालीसहितका युद्धबन्दीलाई रिहाइका लागि कोसिस भइरहेको बताए । रुस र युक्रेनका युद्धबन्दी साटासाट गर्ने क्रममा युक्रेनमा बन्धक रहेका पाँचजना नेपालीलाई रुसले मुक्त गराउने गरी काम भइरहेको रुसी राजदूतले अर्थमन्त्रीलाई बताए । ‘हाम्रो सेनाको नियन्त्रणमा रहेका युक्रेनी फौजका सदस्यसँग साटेर नेपालीलाई युक्रेनबाट मुक्त गर्ने तयारी छ,’ राजदूत नोभिकोभले भने । राजदूतले अवैध बाटोबाट रुसी सेनामा भर्ती हुन जाने युवालाई नेपालले रोक्नुपर्ने पनि सुझाब दिए । नेपाल सरकारको चासो रुसको रक्षा मन्त्रालयमा पुगिसकेको र मस्कोस्थित नेपाली दूतावासले पनि यसबारे रुसमा फलोअप गरिरहेको राजदूतको भनाइ थियो ।