१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
कमलराज भट्ट काठमाडौं
२०८० चैत ७ बुधबार १७:१२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रतिनिधिसभा १० दिनका लागि बन्द, हतारोमै सकियो प्रि-बजेट छलफल

राष्ट्रिय सभा पनि एक साताका लागि बन्द

Read Time : > 1 मिनेट
कमलराज भट्ट, काठमाडौं
२०८० चैत ७ बुधबार १७:१२:००

प्रतिनिधिसभा १० दिनका लागि बन्द गरिएको छ। सभामुख र संसद्का पदाधिकारीको जेनेभा भ्रमणका लागि संघीय संसद्को तल्लो सदन १० दिनका लागि बन्द गरिएको हो। 

अन्तरव्यवस्थापिका संसद् आइपियूको सम्मेलनमा भाग लिन सभामुख देवराज घिमिरेको नेतृत्वका ठूला चार दलका प्रमुख सचेतकसहित १० सदस्यीय टोली ८ चैतमा स्विट्जरल्यान्डस्थित जेनेभा प्रस्थान गर्दै छ। 

संसद्का पदाधिकारीको भ्रमणलाई मध्यनजर गरेर आगामी आव ०८०/८१ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफल बुधबार हतारोमा सकेर प्रतिनिधिसभा बैठक १८ चैत बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो। 

सिद्धान्त र प्राथमिकतामा पर्याप्त छलफल गर्न सरकारले अध्यादेशमार्फत फागुनमै संसदमा पेस गर्ने व्यवस्था गरे पनि संसद्का पदाधिकारीले भने कर्मकाण्डी रूपमै छलफल सकेर जेनेभा भ्रमणतिर लागेका हुन्। 

संसद् सचिवालयका अनुसार १४ फागुनमा प्रतिनिधिसभामा प्रस्तुत आगामी बजेटको बजेटका सिद्धान्त र प्राथमिकतामाथि १ चैतबाट छलफल प्रारम्भ भएर ५ र ७ गते गरी तीन दिनसम्म चलेको छ।

पहिलो दिन १८, दास्रो दिन २४ र बुधबार ३१ जनाले बोलेका छन्। ६ गते भन्सार विधेयकमा सैद्धान्तिक छलफल चलाएको प्रतिनिधिसभाले साँझ परिसकेकाले सिद्धान्त र प्राथमिकतामा छलफल चलाएन, बैठकको अन्तिममा एकजनाले मात्रै बोलेका थिए।

प्रतिनिधिसभामा कायम रहेको २७३ सदस्यमध्ये ७४ जनाले मात्रै भाग लिए। ८ गते जेनेभा जाने भएकाले सात गतेभित्र सकाउने दबाबका बीच सांसदहरूले पर्याप्त छलफल गर्न पाएनन् भने आधाभन्दा बढी सांसदले छलफलमा भाग नै लिन पाएनन्, हतारोमै छलफल सकियो।  

सरकारले ल्याएको अध्यादेशअनुसार संसद् सचिवालयले १५ चैतभित्र अर्थ मन्त्रालयलाई संसद्को सुझाव बुझाउनुपर्ने व्यवस्था छ। यही समयसीमालाई हेरेर कांग्रेसले सहकारी ठगी प्रकरणमा छानबिन समिति मागे पनि सिद्धान्त र प्राथमिकतामा छलफल प्रभावित हुने गरी संसद् अवरुद्ध गरेन। 

संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयले सदन बन्द भए पनि संसदीय समितिहरू सक्रिय रूपमा चल्ने र विचाराधीन विधेयक प्रक्रियामा लगेर टुंग्याउने बताए। 

सांसदहरूले भने विधेयक अधिवेशनलाई कानुन निर्माणमा प्रभावकारी बनाउने वेला संसद् बन्द गरेर विदेश जानु उपयुक्त नभएको भन्दै आलोचना गरेका छन्। 

राष्ट्रिय सभा एक साता बन्द

प्रतिनिधिसभा १० दिन बन्द हुँदा राष्ट्रिय सभा पनि एक साताका लागि बन्द हुँदै छ। बुधबार आगामी बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकाएको राष्ट्रिय सभा १५ चैत दिउँसो १ बजेबाट स्थगित गरिएको हो। 

बैठक स्थगित हुनुअघि सभाले अनुमगन तथा मूल्यांकनसम्बन्धी विधेयकमा प्रतिनिधिसभाले गरेको संशोधन सर्वसम्मत स्वीकार गरेको थियो। बैठकले राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिमा रहने गरी सातजना सांसदको नाम मनोनयन गरेको थियो।