मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत ४ आइतबार
  • Wednesday, 18 December, 2024
कमल खत्री म्याग्दी
२o८o चैत ४ आइतबार १४:oo:oo
Read Time : > 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

आर्थिक सहयोग र श्रमदान जुटाएर रघुगंगामा पदमार्ग निर्माण

Read Time : > 1 मिनेट
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
२o८o चैत ४ आइतबार १४:oo:oo

म्याग्दीको रघुगंगा गाउँपालिका– २ रिसिनचौतारीका युवाले श्रमदान र सहयोग जुटाएर पदमार्ग निर्माण गरेका छन्। बेनी–जोमसोम सडकखण्डअन्तर्गत सिरुबारी आर्यघाटदेखि रिसिनचौतारीसम्म करिब दुई किलोमिटर लामो पक्की पदमार्ग सहयोग र श्रमदान जुटाएर निर्माण गरिएको हो।

पदमार्ग बनाउन कुल १५ लाख २७ हजार तीन सय ३३ रुपैयाँ सहयोग संकलन भएको र १४ लाख ७७ हजार तीन सय ३३ रुपैयाँ खर्च भई रु. ५० हजार समितिको खातामा बचत भएको समितिका कोषाध्यक्ष शिवध्वज कार्कीले जानकारी दिए। युवाहरूको नेतृत्वमा सहयोग र श्रमदान जुटाएर निर्माण गरिएको पदमार्गको एक कार्यक्रमबीच खर्च विवरण सार्वजनिक तथा सहयोगदातालाई सम्मान गरिएको छ।

कार्यक्रमका अवसरमा पदमार्ण निर्माण गर्नका लागि आर्थिक सहयोग गर्ने सहयोगदातालाई सम्मान र पदमार्ग निर्माण कार्यमा ४० दिनसम्म श्रमदान गर्ने व्यक्तिलाई सम्मान गरिएको हो। उक्त पदमार्ग निर्माण कार्य नमुना भएको र पारदर्शी तरिकाले समयमा नै सम्पन्न भएको भन्दै निर्माण समितिलाई वडा कार्यालयको तर्फबाट वडाध्यक्ष अमृत भण्डारी र जिल्ला समन्वय समितिका पूर्वप्रमुख देवेन्द्रबहादुर कटुवालले दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए।

गाउँदेखि बेनी–जोमसोम सडकखण्डको सिरुबारी जोड्ने परम्परागत गोरेटो बाटो जीर्ण बनेपछि अभियान नै चलाएर पक्की पदमार्ग निर्माण गरिएको पदमार्ग निर्माण समितिका अध्यक्ष सागर केसीले जानकारी दिए। गाउँको भेलाबाट पक्की पदमार्ग निर्माण गर्नका लागि प्रत्येक घरबाट कम्तीमा पाँच दिनसम्म श्रमदान गर्नुपर्ने नियम बनाइएको थियो। सो अभियानमा स्थानीयले ४० दिनसम्म श्रमदान गरेका थिए भने देश तथा विदेशमा रहेका स्थानीयले आर्थिक सहयोग गरेका थिए। रिसिनचौतारीदेखि यो पदमार्ग रघुगंगा गाउँपालिका– २ को वडा कार्यालय जोडिएको छ।

कार्यक्रममा बौल्दै रघुगंगा गाउँपालिका– २ का वडाध्यक्ष भण्डारीले युवाहरूको नेतृत्वमा सहयोग र श्रमदान जुटाएर लाखाैँको पूर्वाधार निर्माण गरेर उदाहरणीय काम गरेको बताए। उनले यस पदमार्गलाई वडा कार्यालयसँग जोड्नका लागि तथा सिरुबारीमा थप पूर्वाधार निर्माण गर्नका लागि यसै आर्थिक वर्षमा रु. १० लाख बजेट व्यवस्थापन गरिएको जानकारीसमेत दिए।