कोरोनाका कारण लामो समयदेखि सुनसानजस्तै रहेको कञ्चनजंघा क्षेत्रमा अहिले बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । चालू आर्थिक वर्ष ०८०/०१ को माघ मसान्तसम्म कञ्चनजंघा क्षेत्रमा ६ सय ५० जना विदेशी पर्यटक आएको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को कार्यालयका सूचना अधिकारी दोभान लिम्बूले बताए । कञ्चनजंघा संरक्षण क्षेत्रको बेस क्याम्पसम्म जाने आन्तिरिक पर्यटकको संख्या पनि बढ्दै गएको छ । आन्तरिक पर्यटकको तथ्यांक राख्ने व्यवस्था नभए पनि आउनेको संख्या भने बढिरहेको कार्यालयले जनाएको छ । यो क्षेत्रमा पर्यटकका लागि व्यवस्थापन राम्रो हुन नसक्दा पर्यटक भने न्यून नै आउने गर्छन् ।
२५ वर्षमा ०५७ सालमा आठ सय ७३ विदेशी पर्यटक यो क्षेत्रमा आएका थिए । तर, त्यसपछि त्यो संख्यामा पर्यटक आएका छैनन् । गत आर्थिक वर्षमा चार सय ३९ जना विदेशी पर्यटक आएको कञ्चनजंघा संरक्षण क्षेत्र परिषद्ले जनाएको छ । चालू आर्थिक वर्षको सात महिनामा गत वर्षभरिको भन्दा दुई सय ११ जना विदेशी पर्यटक बढेका छन् । यस क्षेत्रमा भदौदेखि मंसिर तेस्रो सातासम्म उपयुक्त मौसम मानिन्छ । भर्खर यस वर्षको हिउँदपछिको सिजन भर्खर सुरु भएको छ । अब चैतको तेस्रो सातादेखि असारसम्म कञ्चनजंघा क्षेत्र भ्रमण गर्ने अनुकूल समय मानिन्छ ।
लयमा फर्कन थालेको पर्यटन व्यवसायले कञ्चनजंघा क्षेत्रमा बसोवास गर्न समुदायमा केही आशा पलाएको छ । यस क्षेत्रको मुख्य आम्दानीको स्रोत पर्यटन नै हो । कञ्चनजंघा आउने पर्यटक लक्षित गरेर कञ्चनजंघा हिमाल जाने पदमार्गमा साना–ठूला लगानीका ५२ होटेल सञ्चालनमा रहेको परिषद्को तथ्यांक छ ।
कञ्चनजंघा हिमालको आधार शिविर कसरी पुग्न सकिन्छ ?
कञ्चनजंघा हिमालको आधार शिविर पुग्न दुईवटा पदमार्ग प्रयोग हुँदै आएको छ । झापाको बिर्तामोडबाट मेची राजमार्गमा पर्ने पाँचथरको गणेशचोक हुँदै ताप्लेजुङको सिरिजंघा गाउँपालिकाबाट पर्यटक कञ्चनजंघा हिमालको आधार शिविर पुग्ने गर्छन् । यो पदमार्ग (साउथ रुट)मा पर्ने कञ्चनजंघा व्यवस्थापन परिषद्को याम्फुदिन कार्यालयका पर्यटन सहायक सूर्यमान राईले बताए ।
काठमाडौंदेखि हवाईमार्ग भएर ताप्लेजुङको सुकेटर विमानस्थलसम्म पुगेर फक्ताङलुङ गाउँपालिका हुँदै कञ्चनजंघा हिमालको आधार शिविर पुगिन्छ । यो पदमार्ग (नर्थ रुट)मा पर्छ । कञ्चनजंघा क्षेत्र जाने पर्यटकको विवरण कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले राख्दै आएको छ ।