१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
फाइल तस्बिर ।
नयाँ पत्रिका काठमाडौं
२०८० चैत २ शुक्रबार १५:०७:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

दुध किसानको बक्यौता भुक्तानीको प्रक्रिया अघि बढाउन अर्थमन्त्री पुनको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० चैत २ शुक्रबार १५:०७:००

अर्थ मन्त्रालयले दुध किसानको बक्यौता तत्कालै भुक्तानी गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले शुक्रबार सचिव डा. रामप्रसाद घिमिरेसहित मन्त्रालयका उच्च अधिकारीलाई किसानको बक्यौता भुक्तानी प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएका हुन् । 

त्यसअघि मन्त्री पुनले कृषिमन्त्री ज्वालाकुमारी साह, कृषिसचिव डा. गोविन्दप्रसाद शर्मा र पशुपक्षी विकाससचिव डा. रेवतीरमण पौडेलसँग छलफल गरेका थिए । 

भुक्तानी नपाएको भन्दै केही महिनायता दुध किसान आन्दोलित छन् ।  किसानलाई भुक्तानीका लागि दुग्ध विकास संस्थान (डिडिसी) ले अर्थ मन्त्रालयसँग रकम माग गरेको थियो । अर्थले रकम अभावको कारण देखाउँदै भुक्तानी दिएको थिएन । 

मन्त्रालयको नेतृत्व सम्हालेको केही दिनमै अर्थमन्त्री पुनले किसानलाई भुक्तानी दिने प्रक्रिया अघि बढाएका हुन् । ‘देशभरका हजारौँ किसान भुक्तानी नपाएर तड्पिएको अवस्था रहेछ । राज्य जनताको अभिभावक भएकाले किसानका पीडा हेरेर बस्न सक्दैन,’ अर्थमन्त्री पुनले भने, ‘विगतमा जे कारणले रोकिएको भए पनि आजै वा आइतबारसम्म किसानको बक्यौता भुक्तानी हुन्छ ।’

मन्त्री पुनले राज्यले बहानाबाजी गरेर किसान, निर्माण व्यवसायीलगायतको भुक्तानी रोक्न नमिल्ने स्पष्ट गरे । जनतालाई डेलिभरीको महसुस गराउनकै लागि आफ्नो कुर्सी सुरक्षित हुँदाहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तासमीकरण बदलेको उल्लेख गर्दै पुनले ‘केही गरौँ’ भन्ने प्रधानमन्त्रीको हुटहुटीलाई बुझेर आफूले काम थालिसकेको बताए । 

मन्त्रीबाट स्पष्ट निर्देशन आएकाले मन्त्रालयले दुध किसानको बक्यौता क्रमशः भुक्तानी गर्दै जाने सचिव डा. घिमिरले जानकारी दिए ।