१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत १ बिहीबार
  • Friday, 27 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o चैत १ बिहीबार o८:१६:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

नक्कली लाइसेन्स प्रकरण : इन्जिनियरसहित तीन बिचौलिया दोषी ठहर, १३ जनालाई सफाइ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o चैत १ बिहीबार o८:१६:oo

पाँच सयभन्दा बढी नक्कली लाइसेन्स वितरण भएको विषयमा यातायात कार्यालय एकान्तकुनाका इन्जिनियरसहित चारजना दोषी ठहर भएका छन् । बिहीबार विशेष अदालतले यो मुद्दाका १७ प्रतिवादीमध्ये १३ जनालाई दोषी ठहर गरेको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले यस्तो फैसला गरेको हो । 

विशेषका प्रवक्ता तथा उपरजिस्ट्रार धनबहादुर कार्कीका अनुसार कार्यालयका मेकानिकल इन्जिनियर विजयराज गिरीलाई सबैभन्दा बढी सजाय सुनाइएको छ । उनलाई १६ महिना कैद र ३० हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ । उनले सरकारी कागजात सच्याएको पुष्टि भएपछि भ्रष्टाचार निवारण ऐनको दफा ११ बमोजिम सजाय सुनाइएको हो । यस कसुरमा अधिकतम दुई वर्ष कैद हुन सक्ने प्रावधान छ । 

गिरीसमेतले सवारीचालक अनुमतिपत्र नवीकरण गर्ने सम्बन्धमा आफ्नो जिम्मेवारीअन्तर्गतको कार्यसम्पादन गर्न प्राप्त गरेको अख्तियारीको दुरुपयोग गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी थियो । आर्थिक वर्ष ०७७/७८ र ०७८/७९ को साउन र भदौमा समेत गरी पाँच सय ३३ जना व्यक्तिका नाममा नक्कली लाइसेन्स जारी भएको थियो । 

१४ महिना अवधिमा तीनजना बिचौलियाको सक्रियतामा कार्यालयबाट नक्कली लाइसेन्स जारी भएको पुष्टि भएपछि उनीहरूलाई समेत सजाय सुनाइएको छ । विशेषका अनुसार हरिभक्त श्रेष्ठ, दीपक विश्वकर्मा र बाबुराम शर्मा भन्ने उद्धवबहादुर खत्रीलाई विशेषले दोषी करार गरेको हो । उनीहरू तीनैजनालाई जनही १५ हजार रुपैयाँ जरिवाना र आठ–आठ महिना कैद सजाय सुनाइएको छ । 

उनीहरू तीनैजना मिली विविध कारणले नवीकरण नभएका तथा स्वतः रद्द भएका सवारीचालकको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र गैरकानुनी रूपमा नवीकरणको बाटोबाट नयाँ व्यक्तिका नाममा जारी गरेका थिए । उनीहरूका साथै अन्य बिचौलिया र कार्यालयका कर्मचारीको पनि संलग्नता रहेको दाबीसहित अख्तियारले गत वर्ष ७ असारमा मुद्दा दायर गरेकोमा बाँकीले भने सफाइ पाएका छन् । 

यस मुद्दाका प्रतिवादीहरू गणेश अधिकारी, कमल स्याङ्तान, अच्युतप्रसाद फुयाल, प्रकाश कार्की, रेजु भट्टराई, लक्ष्मी श्रेष्ठ, श्यामसुन्दर चौधरी, माया सेठी, रोशन राजभण्डारी, रिचा श्रेष्ठ, नरेश शाक्य, राजुभाइ कुस्मा र सम्बरबहादुर कार्कीले सफाइ पाएका हुन् । कुस्मा र सम्मर तत्कालीन कार्यालय प्रमुख हुन् ।

सफाइ पाउनेमध्येका स्याङ्तान सहायक स्तर पाँचौँ र फुयाल सिनियर मेकानिकल इन्जिनियर हुन् । बाँकी रहेका प्रकाश, भट्टराई, राजभण्डारी, चौधरी, लक्ष्मी, सेठी र रिचा कम्प्युटर अप्रेटर पदमा कार्यरत थिए । बिचौलियाको अभियोग लागेका गणेश अधिकारी र नरेन शाक्यले पनि सफाइ पाएका छन् ।