ल्यापटपमा लगातार काम गर्दा स्क्रिनमा धुलो जम्मा भइरहेको हुन्छ । धुलोले स्क्रिनको कलर र चमक दुवैमा असर पुर्याउने भएकाले समय–समयमा यसको सफाइ गर्नुपर्छ । कतिपय मानिस स्क्रिन सफा गर्न डराउँछन्, किनकि यसो गर्दा ल्यापटप बिग्रन सक्ने भय उनीहरूलाई हुन्छ । तर, घरमै केही सामग्रीको सहयोगले स्क्रिनलाई सफा गर्न सकिन्छ ।
स्क्रिन सफा गर्नुअघि ल्यापटप बन्द गर्नुस् र ब्याट्री निकाल्नुस् । त्यसपछि माइक्रो फाइबर कपडाले सफा गर्न थाल्नुस् । माइक्रोफाइबर कपडा निकै नरम हुन्छ । टिसर्ट वा अन्य कुनै कपडाले पुछ्दा स्क्रिन स्क्र्याच हुन सक्छ । कागज, टावेल वा टिस्यु पेपरले पनि स्क्रिन सफा गर्नुहुँदैन ।
नयाँ स्पोन्जले पनि स्क्रिन सफा गर्न सकिन्छ । स्पोन्जलाई हल्का भिजाउनुस् र सफा गर्नुस् । स्पोन्ज र माइक्रो फाइबर कपडा नभएको अवस्थामा नरम डस्टर ब्रसले पनि सफा गर्न सकिन्छ ।
तर, स्क्रिनमा कहिल्यै सीधै लिक्विड छर्कन हुँदैन । अमोनिया बेस्ट लिक्विड प्रयोग गर्दा प्लास्टिकको स्क्रिन चाँडै बिग्रन सक्छ । ल्यापटपलाई महिनामा कम्तीमा दुईपटक सफा गर्नु राम्रो हुन्छ ।