सन् २०२३ को अन्त्यताका अमेरिकी सरकारले पाँचौँ राष्ट्रिय जलवायु मूल्यांकन (एनसिए) जारी गर्यो । अमेरिकाको जलवायु परिवर्तनको अर्ध नियमित संक्षेप पाँचौँ एनसिएमा सामाजिक व्यवस्था एवं न्याय नामक अध्याय पहिलोपटक राखिएको छ । जलवायु परिवर्तनमा दशकौँको समाज वैज्ञानिक अनुसन्धानमा आधारित पाँचौँ एनसिएले अमेरिकी लोकप्रिय एवं प्राज्ञिक छलफलमा ठाउँ बनाएका दुई सत्यबारे बहस गरेको छ ।
पहिलो हो, जलवायु परिवर्तनले अश्वेत, आदिवासी, गैरश्वेत र न्यून आय भएका समुदायको स्वास्थ्य, सामाजिक र आर्थिक परिणामलाई थप खराब बनाउने सम्भावना राख्छ । दोस्रो हो, सरकारी, सांस्कृतिक, आध्यात्मिक एवं आर्थिक संरचना समेट्ने सामाजिक व्यवस्था र संस्था मात्रै अनुकूलन र न्यूनीकरण उपायको माध्यम हो । कोभिड–१९ महामारीका वेला जनसंख्यालाई नश्ल, आम्दानी र अन्य असमानतामा छुट्याएर मृत्युदरलाई हेर्ने हो भने हामी सबैले एउटै तुफान झेले पनि हामी सबै फरक–फरक डुंगामा थियौँ भन्ने देखिन्छ ।
आजको समयमा ठूलो चक्रवात्का कारण स्थायी रूपमा विस्थापित हुने–नहुने अवस्था नश्ल एवं आम्दानीले तय गर्छ । र, बाध्यकारी विस्थापनले व्यक्ति र समुदायलाई पुस्तौँसम्म नकारात्मक असर पार्छ । मौजुदा सामाजिक व्यवस्थाले कसरी जलवायु परिवर्तनलाई प्रभावित गरिरहेको छ वा जलवायु परिवर्तनले सामाजिक व्यवस्थालाई कसरी प्रभावित गर्छ भन्ने बुझेमा तातिरहेको विश्वको प्रभाव कम गर्न र नयाँ बनिरहेको विश्वलाई न्यायपूर्ण विश्व बनाउन सकिन्छ । अहिले हामी यही नयाँ विश्वको सामना गरिरहेका छौँ ।
दशकौँको वैज्ञानिक अनुसन्धानले बढ्दो रूपमा विनाशकारी एवं तीव्र जलवायु परिवर्तन हाम्रो सम्मुख छ भन्ने देखाएको छ । अबका समयमा ठूला चक्रवात्, खडेरी र बाढी निम्तिन सक्छन् । हामीले, विशेषतः उत्तरी गोलाद्र्ध एवं ठूला अर्थतन्त्रका मुलुकले स्रोतको उपभोग अत्यधिक गरेका छन् । तर, विश्व यो अत्यधिक स्रोत उपभोगले निम्त्याउने जोखिमको प्रतिक्रिया दिइरहेको छ । उदाहरणका लागि अमेरिकाले सन् २००५ देखि २०१९ को वार्षिक हरितगृह ग्यास उत्सर्जन १३ प्रतिशतले घटाएको छ । तर, यी प्रतिक्रिया पर्याप्त भने छैनन् । यो अपर्याप्तता समाज वैज्ञानिकको चासोको विषय हो ।
कुनै समुदाय न्यून उत्सर्जन एवं उपभोगमा कसरी बाँच्न सक्छन् भन्ने बुझ्नुहुन्न भने नयाँ प्रविधि साथमा हुनुको अर्थ छैन
विश्वमा आएका परिवर्तनलाई पुरानै अवस्था वा सुधारको अवस्थामा पुर्याउन अप्ठ्यारो भइरहेका वेला नैतिकता, संस्कृति, अर्थतन्त्र र प्रतीकको भूमिका के हुन्छ ? हामी अर्थात् व्यक्ति, समाज, संस्कृति र राष्ट्र आफैँ र हाम्रो घर परिवारलाई जोगाउन आवश्यक पर्ने उत्सर्जनदर कायम किन गर्न सकिरहेका छैनौँ ? आंशिक रूपमा यी प्रश्नको उत्तर वैज्ञानिक एवं इन्जियरले निर्माण गरेको नयाँ सूचना एवं प्रविधिले दिन सक्छन् । यसका साथै हामीले मानवीय व्यवहारबारे बुझाइ निर्माण गर्न आवश्यक छ ।
यदि तपाईं सामाजिक, आर्थिक र राजनीतिक निर्णय कसरी हुन्छन् र कसरी कुनै निश्चित समुदाय न्यून उत्सर्जन एवं उपभोगमा बाँच्न सक्छन् भन्ने बुझ्नुहुन्न भने नयाँ प्रविधि साथमा हुनुको अर्थ छैन । असमानतापूर्ण व्यवस्थाले असमान रूपमा विभाजित जोखिम एवं यसका प्रतिक्रियाको जन्म दिन्छ भन्नेमा हामी अवगत छौँ । उदाहरणका लागि चक्रवात्ले निम्त्याउने मृत्युदर त्यहाँ कम हुन्छ, जहाँको आर्थिक–सामाजिक अवस्थाका आँधीले पहिरो निम्त्याउने गर्छ । यी आयामलाई बुझ्दा मात्रै जलवायु परिवर्तनको यस्तो प्रतिक्रिया निर्माण गर्न सक्छ, जसले कुनै नश्लभेदी, लिंगभेदी र वर्गभेदी जोखिम बोक्नेछैन ।
प्रकोप र जलवायु दुर्घटनाले मौजुदा असमानतालाई चर्काउँछ भनेर बुझ्नु भनेको हामीसँग सुधार गर्ने अवसर पनि छन् भन्नु हो । जलवायु–सम्बन्धित प्रकोपले सम्भावनाको विस्तृत शृंखलाका साथै विभिन्न परिणाम निम्त्याउन सक्छ । यद्यपि प्रभावकारी सहयोग र समाधानउन्मुख दृष्टिकोण प्रदर्शन गर्ने प्रेरणादायक उदाहरण पनि छन्, जसले यी चुनौतीलाई सम्बोधन गर्ने आशा जगाउँछ । उदाहरणका लागि अमेरिकाको तुलसा, ओक्ला सहरमा सन् १९६० देखि १९८० को दशकमा सबैभन्दा धेरै बाढी आएको थियो, तर प्रभावित नागरिकको गठबन्धनले स्थानीय सरकारसँग मिलेर बाढी मैदान व्यवस्थापन योजना सिर्जना गर्यो, जसले अन्य सहरका लागि उदाहरणका रूपमा काम गर्छ । त्यसैगरी, प्रताडना, चोरी र हिंसात्मक शोषणको इतिहासको बाबजुद अमेरिकी आदिवासी समुदायले जलवायु परिवर्तनलाई अनुकूलन गर्न सबैभन्दा सक्रिय योजना बनाएका छन् ।
छिटो जानका लागि एक्लै जानुहोस्, तर तपाईं टाढा जान चाहनुहुन्छ भने सँगै जानुहोस् भनाइलाई आत्मसात् गक्र्नुपर्छ । निःसन्देह जलवायु परिवर्तन हाम्रो समयको सबैभन्दा अत्यावश्यक मुद्दा हो, यद्यपि छिटो र लापरबाहीपूर्वक अघि बढ्दा विद्यमान सामाजिक, आर्थिक, राजनीतिक र वातावरणीय असमानता बढ्ने मात्रै हुन्छ । बरु हामीले विश्वमा अन्य उपाय तर्जुमा गर्नुपर्छ । यस बिन्दुमा पुर्याउने पृथ्वी र उपभोगसँग हाम्रो सम्बन्धलाई सुधार गर्न र पुनः निर्माण गर्न सक्छौँ । हामी विश्वव्यापी आदिवासी जनजाति र सहस्राब्दीयौँदेखि पृथ्वीको हेरचाह गर्ने अन्यलाई ध्यान दिन र सुन्न सक्छौँ । हामी हाम्रा समाधानसँग थप रचनात्मक हुनुपर्छ । विशेषाधिकार प्राप्त थोरै मात्र नभई सबैजनाले आफू जन्मेको भन्दा राम्रो संसारमा बाँच्न सकिन्छ भन्ने सुनिश्चित गर्न प्रतिबद्ध हुनुपर्छ । प्राविधिक दृष्टिकोणले मात्र यो लक्ष्य हासिल हुँदैन । असल विश्व निर्माण गर्न हामीलाई सामाजिक विज्ञान चाहिन्छ ।
(ज्याकोब्स मिनोसोटा विश्वविद्यालयकी सहरी योजनाका उप–प्राध्यापक हुन्, क्यालिसन ब्रिटिस कोलम्बिया विश्वविद्यालयकी सह–प्राध्यापक हुन्, मारिनो ओरेगन स्टेट विश्वविद्यालयकी मानवशास्त्रकी सह–प्राध्यापक हुन्)
द कन्भर्सेसनबाट