१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
शिवहरि घिमिरे काठमाडाैं
२०८० फाल्गुण ३० बुधबार ०८:१०:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

दबाबमा एसइईका विद्यार्थी : ३५ प्रतिशत अंक नल्याए फेल

अब विद्यार्थीले लिखितमा ३० प्रतिशत र आन्तरिक तथा प्रयोगात्मक परीक्षामा ४० प्रतिशत ल्याउनैपर्ने

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०८० फाल्गुण ३० बुधबार ०८:१०:००

एसइई नजिकिएसँगै विद्यार्थीमा पढाइको दबाब बढिरहेको छ । अझ यसपटक राष्ट्रिय परीक्षा बोर्डले नयाँ नियम लागू गर्ने निर्णय गरेसँगै विद्यार्थी थप दबाबमा छन् । विगतका वर्षमा बी ग्रेडभन्दा कमका विद्यार्थीले पनि ११ र १२ कक्षामा पढ्न पाउँथे । तर, परीक्षा बोर्डको निर्णयअनुसार अब भने यो मौका पाउनेछैनन् ।

११ र १२ कक्षामा अध्ययन गर्नका लागि हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनैपर्ने भएको छ । यदि योभन्दा कम अंक ल्याएमा माथिल्लो तहमा अध्ययन गर्न नपाइने बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । उनका अनुसार यसपटक विद्यार्थीले लिखितमा ३० प्रतिशत र आन्तरिक तथा प्रयोगात्मक परीक्षामा ४० प्रतिशत ल्याउनैपर्छ ।

‘नयाँ ग्रेडिङ प्रणाली लागू गरेपछि यति नम्बरचाहिँ ल्याउनैपर्छ, पुरानो ग्रेडिङ प्रणाली अन्तर्राष्ट्रियस्तरको थिएन, त्यसकारण हामीले यसपटकदेखि उक्त स्ट्यान्डर्ड मेन्टेन गर्न खोजिरहेका छौँ,’ बोर्डका अध्यक्ष शर्माले भने, ‘विद्यार्थीले यसपटक नयाँ करिकुलमअनुसार परीक्षा दिने भएकाले नतिजामा पनि सुधार हुन सक्छ भन्ने अनुमान छ ।’ १५ देखि २७ चैतसम्म सञ्चालन हुने एसइई परीक्षामा यसपटक देशभर पाँच लाख विद्यार्थी सामेल हुँदै छन् । परीक्षा नजिकिएसँगै बोर्डले तयारी तीव्र पारेको जनाएको छ । 

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा भन्छन्–नयाँ ग्रेडिङ प्रणाली लागू गरेपछि ३५ प्रतिशत त ल्याउनैपर्छ, पुरानो ग्रेडिङ प्रणाली अन्तर्राष्ट्रियस्तरको थिएन, त्यसकारण हामीले यसपटकदेखि उक्त स्ट्यान्डर्ड मेन्टेन गर्न खोजिरहेका छौँ । विद्यार्थीले यसपटक नयाँ करिकुलमअनुसार परीक्षा दिने भएकाले नतिजामा पनि सुधार हुन सक्छ भन्ने अनुमान छ ।

बोर्डका अध्यक्ष शर्माका अनुसार कट अफ प्वाइन्ट ३५ प्रतिशत कायम गरिएकाले यो अंक ल्याउनैपर्छ । अन्यथा फेल भएको मानिनेछ । विगतको ग्रेडिङ प्रणालीले विद्यार्थीलाई सहज भएको थियो । तर, सिकाइ स्तर भने कमजोर बनेको थियो । सहजै उत्तीर्ण भइन्छ भन्ने मानसिकताका कारण विद्यार्थीले पुग्दो तयारी गरेका थिएनन् । जसका कारण हाल ११ र १२ कक्षामा शिक्षाशास्त्र तथा मानविकी संकाय अध्ययन गर्नेमध्ये अधिकांश कमजोर विद्यार्थी छन् । तर, अर्को वर्षदेखि नै ११ र १२ कक्षाका सबैजसो संकायमा कम्तीमा पनि पढाइमा मध्यमस्तरका विद्यार्थी प्रवेश गर्नेछन् । जसका कारण समग्र नतिजामा सुधार हुनेछ । विगतमा १.६ जिपिए ल्याउने पनि उत्तीर्ण हुने व्यवस्था थियो । तर, ती विद्यार्थी सामुदायिक विद्यालयमै पढ्न जाने भएकाले सामुदायिक विद्यालयको शैक्षिक अवस्था खस्किँदो थियो । 

विगतका वर्षहरूमा भन्दा यसपटक बोर्डले परीक्षामा पनि फरक नियम लागू गर्ने भएकाले विद्यालयले पनि सोहीअनुसार विद्यार्थीलाई सामेल गराएका छन् । नयाँ नियम तथा पाठ्यक्रमअनुसार विद्यार्थीलाई नियमित तथा अतिरिक्त कक्षा सञ्चालन गरिरहेका छन् । नेपालमा ०७२ सालदेखि एसइईमा ग्रेडिङ सिस्टम लागू भएको थियो । यो सिस्टममा १.६ जिपिए ल्याउनेसम्मका विद्यार्थीले माथिल्लो तह अध्ययन गर्न पाउँथे । 

 कक्षा १० को नेपालीमा पुनः समावेश गरियो सन्दुक रुइतको जीवनी
कक्षा १० को नेपाली विषयबाट हटाइएको डा. सन्दुक रुइतको जीवनी यसपटक पुनः समावेश गरिएको छ । एउटै व्यक्तिका बारेमा धेरैवटा पुस्तकमा पाठ्यांश राखिएको र अन्य प्रख्यात व्यक्तिलाई पनि स्थान दिनुपर्ने भन्दै पाठ्यक्रम विकास केन्द्रले उनको जीवनी हटाएको थियो । हाल कक्षा १० का विद्यार्थीले रुइतको जीवनी पढ्न पाउँदैनन्, तर अब भने उनको जीवनी पुनः समावेश गरिएको छ । ०८१ बाट सुरु हुने नयाँ शैक्षिक सत्रदेखि उनको जीवनी कक्षा १० का विद्यार्थीहरूले पनि अध्ययन गर्न पाउनेछन् । पुस्तकको अन्तिम पाठमा उनको जीवनी समेटिएको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।

गत वर्ष रुइतको जीवनी पाठ्यपुस्तकबाट हटाउँदा व्यापक विरोध भएको थियो । विरोध भएपछि पाठ्यक्रम विकास केन्द्रले उनको जीवनी समावेश गरेको हो । ‘उहाँको जीवन तथा उहाँका बारेमा अन्य कक्षाका धेरै पुस्तकमा पनि समावेश थियो । सोहीकारण गत वर्ष हटाइएको थियो, तर त्यसको व्यापक विरोध र माग भएपछि हामीले पुनः राखेका छौँ,’ केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालले भने, ‘अन्य पाठ्यपुस्तकमा पनि हामीले धेरैथोरै परिमार्जन गरेका छौँ ।’

कक्षा १० बाहेक अन्य कक्षाका चारवटा पाठमा रुइतका बारेमा समावेश गरिएको छ । तर, कक्षा १० बाट पनि उनको जीवनी हटाउन नहुने भन्दै विरोध भएपछि विकास केन्द्रले नयाँ पाठ्यक्रममा त्यसलाई पुनः समावेश गर्न लागेको हो । यसबाहेक कक्षा ४ र ८ को नेपाली, कक्षा ७ को अंग्रेजी र कक्षा १० को सामाजिक विषयमा वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. रुइतका बारेमा पाठ समावेश गरिएको छ । 

आगामी शैक्षिक सत्रमा विद्यार्थीले यी पुस्तक नयाँ नै किन्नुपर्ने 
नयाँ शैक्षिक सत्र सुरु भएपछि पुरानै तथा गत वर्षकै पाठ्यपुस्तक पढ्ने र पढाउने प्रचलन पनि विद्यालय र विद्यार्थीमा छ । तर, यस वर्ष गत वर्षकै पाठ्यपुस्तक पढ्दा विद्यार्थीलाई घाटा हुनेछ । पाठ्यक्रम विकास केन्द्रले समयसापेक्ष हुने गरी केही पुस्तकको पाठ तथा तथ्यांक परिमार्जन गरेको छ । तैपनि, गत वर्षका अधिकांश किताब र पाठ काम लाग्न सक्ने केन्द्रका महानिर्देशक अर्यालको भनाइ छ ।

कक्षा १ देखि कक्षा १२ सम्म स्कुल तहमा पढाइ हुने जनसंख्या तथा कृषिसँग सम्बन्धित विषय परिमार्जन भएका छन् । यी पुस्तकमा जनगणना र कृषि गणनाको तथ्यांक परिवर्तन भएको हो । त्यस्तै, लेखा विषयमा पनि परिमार्जन गरिएको केन्द्रले जनाएको छ । यसबाहेक आगामी शैक्षिक सत्रदेखि लागू हुने गरी कक्षा १० को नेपाली विषयबाट सुनुवाइ भन्ने पाठ पनि हटाइएको छ । सो पाठको श्रव्य सामग्री तयार पारिएकाले स्क्रिप्ट हटाइएको हो । परिमार्जन नभएका अन्य विषयका पुस्तक विद्यार्थीले गत वर्षकै पनि पढ्न सक्नेछन् ।