१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० फाल्गुण २९ मंगलबार १६:५०:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

एडिबीका कन्ट्री डाइरेक्टरले भेटे अर्थमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० फाल्गुण २९ मंगलबार १६:५०:००

एसियाली विकास बैंक (एडिबी)का कन्ट्री डाइरेक्टर अर्नोड कौकोइसले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित मन्त्रालयमा मंगलबार भएको भेटमा कौकोइसले पुनको कार्यकालमा साझेदारी थप मजबुत हुने विश्वास व्यक्त गरे।

त्यस क्रममा उनले एडिबीको लगानीमा निर्माण भएर पहिरोका कारण भत्किएको मेलम्ची खानेपानी आयोजनाको सुरुङको पुनः डिजाइनको काम करिब अन्तिम चरणमा पुगेको जानकारी दिए। यस्तै विश्व बैंकसँगको वित्तीय साझेदारीमा एडिबीले निर्माण गर्न चाहेको जलाशययुक्त दूधकोशी जलविद्युत् आयोजना र माथिल्लो अरुण जलविद्युत् आयोजनाको काम थाल्ने वातावरण मन्त्री पुनले बनाउने उनले विश्वास व्यक्त गरे।

जवाफमा मन्त्री पुनले प्रमुख विकास साझेदार एडिबीले नेपालका महत्वपूर्ण विकास आयोजनामा गरेको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा समेत समझदारीपूर्ण सहकार्य हुने आशा व्यक्त गरे। आफू ऊर्जामन्त्री भएका वेला अघि बढेका दुधकोशी र माथिल्लो अरुण जलविद्युत् आयोजनाको काम सकेसम्म छिटो अघि बढाउने प्रतिबद्धता जनाए।

२० वर्षपछि विश्व बैंक र एसियाली विकास बैंकले एकै आयोजनामा लगानी साझेदारी गर्ने गरी काम गर्न थालेकामा मन्त्री पुनले खुसी व्यक्त गरे। ‘दुधकोशी जलाशययुक्त र माथिल्लो अरुण नदी प्रवाहमा आधारित ठूला आयोजनामध्येका हुन् । म ऊर्जामन्त्री छँदा सुरु भएका यी आयोजनालाई प्राथमिकतामा राखेकामा एडिबीलाई धन्यवाद दिन चाहन्छु,’ उनले भने।
 
पुनले नेपालमा विकास बजेट कम खर्च हुने समस्या रहेको भन्दै त्यसमा सुधार गर्न खर्च गर्ने क्षमता र विकास खर्च गर्न सक्ने जनशक्ति विकास गर्ने गरी कार्ययोजना बनाएर काम गर्न लागेको जानकारी दिए। मन्त्री पुनले नेपालमा लगानी बढाउन पनि एडिबीलाई आग्रह गरे।