१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
भोजराज भण्डारी काठमाडाैं
२o८१ बैशाख २३ आइतबार o७:३६:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

पुँजी बजार सुधारमा अर्थमन्त्री पुनको सक्रियता

सात दिनभित्र समाधानसहितको कार्ययोजना पेस गर्न नियामक निकायलाई निर्देशन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o७:३६:oo

नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले पुँजी बजार सुधारमा सक्रियता देखाएका छन् । मन्त्रालयको कार्यभार सम्हालेको एक साता नपुग्दै मन्त्री पुनले पुँजी बजारका नियामक निकायलाई समस्या समाधानसहित कार्ययोजना पेस गर्न निर्देशन दिएका हुन् । उनले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से) र नेपाल क्लियरिङ लिमिटेड (सिडिएसी)लाई अर्थतन्त्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने पुँजी बजारमा देखिएका समस्या समाधान र त्यस क्षेत्रको विकास र विस्तारका लागि तत्काल गर्नुपर्ने कामको सम्बन्धमा सरोकारवालासँग पनि राय लिएर सात दिनभित्र आउन पत्रमार्फत निर्देशन दिएका हुन् ।  

उनले गत बुधबार पदभार ग्रहण गर्दै ६० लाख लगानीकर्ताको हितमा रहेर काम गर्ने बताएका थिए । लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न र आवश्यक समस्याको समाधान गर्नका लागि आफू सधैँ तयार रहेको बताएका थिए । त्यसलाई निरन्तरता दिँदै उनले नियामक निकायसँग लिखित कार्ययोजना बनाउन निर्देशन दिएका हुन् । अर्थ मन्त्रालयबाट पत्र पाएपछि नेपाल धितोपत्र बोर्ड समस्या समाधानसहितको कार्ययोजना बनाउन जुटेको छ । बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीले लगानीकर्ता सरोकारवाला र अन्य दुई निकाय नेप्से र सिडिएसीसँग छलफल गरेर तोकिएकै मितिमा कार्ययोजना तयार पार्ने बताए । उनले भने, ‘विगतमा लगानीकर्ताले उठाउँदै आएका र तत्काल समस्या समाधान गर्न सकिने खालका सुझाव पेस गर्छौँ ।’

लगानीकर्ता तथा पुँजी बजार संघकी अध्यक्ष राधा पोखरेलले मन्त्री पुनको सक्रियतालाई समग्र लगानीकर्ताको उत्साहको विषय भएको बताइन् । उनले भनिन्, ‘माओवादीको अर्थमन्त्री हुँदा बजार घट्छ, पुँजी बजारलाई उपेक्षामा राखिन्छ भन्ने लगानीकर्ताको मनोविज्ञानलाई चिर्ने प्रयास गरेको देखिन्छ, यो सकारात्मक हो ।’

लगानीकर्ता अर्थमन्त्री पुनप्रति आशावादी
अर्थतन्त्रका सूचकहरू सकारात्मक बन्दै गए पनि पुँजी बजारमा सुधार आउन नसकेको भन्दै लगानीकर्ता निराश छन् । करिब दुई वर्षदेखि दुई हजारकै विन्दुवरपर घुमिरहेको नेप्से परिसूचकलाई लिएर लगानीकर्ता चिन्तित देखिन्छन् । पदभार ग्रहण गर्दै गर्दा नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले प्यानिक अवस्थामा रहेका लगानीकर्तालाई राहत हुने गरी काम गर्ने बताएपछि लगानीकर्ता आशावादी देखिएका छन्  ।

अर्थमन्त्रीमा पुन आउने पक्का भएको दिन गत मंगलबार नेप्से परिसूचक ९ दशमलव ३३ अंकले बढेर दुई हजार १७ दशमलव ३ विन्दुमा आइपुगेको थियो । बजारले अर्थमन्त्रीका रूपमा पुनलाई ‘ग्रिन सिग्नल’ गरेको देखियो । अर्थमन्त्री पुनले शपथ लिएको दिन गत बिहीबार नेप्से परिसूचक १३ दशमलव ५१ अंकले बढेर दुई हजार ३० दशमलव ५५ विन्दुमा आइपुगेको थियो । आइतबार पनि नेप्से २२.१० अंकले बढेको छ । यसले अर्थमन्त्री पुनप्रति लगानीकर्ता आशावादी भएको देखिन्छ । 

६० लाख लगानीकर्ताको हितमा रहेर काम गर्छु । लगानीकर्ताले ढुक्क भएर लगानी गर्दा हुन्छ । समस्याको समाधान गर्नका लागि म सधैँ तयार छु ।

पछिल्लो समय लगानीकर्ताको मनोविज्ञानलाई बुझेर अहिलेका अर्थमन्त्रीले कदम चाल्न सके पुँजी बजारमा मात्र नभई सबै अर्थतन्त्रको सूचक सकारात्मक हुने लगानीकर्ता छोटेलाल रौनियार बताउँछन् ।१२ वर्षअघि अर्थमन्त्री बन्दा उनको कार्यकाल १८ महिना थियो । पुँजी, प्रविधि, योजना र अंकको हिसाबले पनि बजार सानो अवस्थामा थियो । ०६८ साल १८ भदौमा तत्कालीन डा. बाबुराम भट्टराईको प्रधानमन्त्री क्याबिनेटमा अर्थमन्त्री नियुक्त हुँदा नेप्से परिसूचक तीन सय ३९ विन्दुमा रहेको थियो । उनको कार्यकालभरिमा नेप्से सूचक पाँच सय विन्दुसम्म पुगेको थियो । लगानीकर्ता रौनियारले त्यसवेला सेयर बजारमा भएको सुधारलाई ठूलै फड्को मान्नुपर्ने बताउँछन् । 

अर्का लगानीकर्ता देव गुरागाईं विगतमा पार्टीले राखेको पुँजी बजारप्रतिको धारणलाई वर्तमान अर्थमन्त्रीले सच्याउने मौकाका रूपमा लिनुपर्ने बताउँछन् । विगतमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि अन्य माओवादी नेताले समेत पुँजी बजारप्रति कडा टिप्पणी गर्दै आएका थिए । तर, पछिल्ला दिनमा भने उनीहरू नरम देखिन्छन् ।

‘वर्तमान प्रधानमन्त्रीसहित सरकारमा सहभागीहरूमा केही गरौँ भन्ने हुटहुटी देखिन्छ, तर चुनौती पनि धेरै छन्,’ उनले भने, ‘पुँजी बजारमा देखिएको प्यानिक अवस्थालाई अर्थमन्त्रीले नजिकबाट देखेको हुँदा विगतमा पुँजी बजारप्रति माओवादीको दृष्टिकोणविपरीत उहाँबाट सुधारको पहल हुनु राम्रो पक्ष हो ।’ 

लगानीकर्ता तथा पुँजी बजार संघकी अध्यक्ष राधा पोखरेलले अर्थमन्त्री पुनलाई विगतमा माओवादीले पुँजी बजारलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउने गरी काम गर्ने अवसर मिलेको बताइन् । माओवादी आएपछि बजारको ‘सेन्टिमेन्ट’ नकारात्मक पर्छ भन्ने मान्यतालाई चिर्ने गरी काम गर्ने अवसर रहेको उनको भनाइ छ । 

ad
ad