१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० फाल्गुण २८ सोमबार २१:१९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

राप्रपा सत्तागठबन्धनमा सहभागी नहुने, प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

४०बुँदे माग पूरा गराउन जनदबाबका लागि २७ चैतमा जनप्रदर्शन गर्ने केन्द्रीय कार्यसम्पादन समितिको निर्णय

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० फाल्गुण २८ सोमबार २१:१९:००

राप्रपाले वर्तमान सत्तागठबन्धनमा सहभागी नहुने तथा संसदमा सरकारको विपक्षमा मतदान गर्ने र विपक्षमा बस्ने निर्णय गरेको छ। 

शनिबारदेखि सोमबारसम्म बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रदेश सरकारमा पनि तत्काल सहभागी नहुने, तर समर्थन गर्नुपर्ने परिस्थिति आएमा पार्टी अध्यक्षले सम्बन्धित प्रदेशको परामर्श लिएर निर्णय लिने निर्णय गरेको छ। 

प्रवक्ता मोहन श्रेष्ठका अनुसार राप्रपाले इलाममा हुने प्रतिनिधिसभाको र बझाङमा हुने प्रदेश सभाको उपनिर्वाचनमा उम्मेदवार छनोट गर्ने निर्णय गरेको छ। सम्बन्धित प्रदेशका अध्यक्षले सम्बन्धित जिल्लाको अध्यक्षसँग समन्वय गरी उम्मेदवार सिफारिस गर्न जिम्मेवारी दिएको छ । 

यसैबीच, राप्रपाले १७ चैतमा काठमाडौंमा तय गरेको जनप्रदर्शन १० दिनपछि सारेको छ। सरकारलाई ९ फागुनमा पेस गरेको ४०बुँदे माग पूरा गराउन जनदबाबका लागि २७ चैतमा जनप्रदर्शन गर्ने निर्णय गरेको छ। 

‘एसइई परीक्षाको समय र लाखौँ विद्यार्थी, अभिभावकको असुविधा र संवेदनशीलतालाई ध्यान दिई काठमाडौंकेन्द्रित जनप्रदर्शनको मिति परिवर्तन गर्ने र उक्त कार्यक्रम २७ चैतमा गर्ने निर्णय गरिएको छ,’ प्रवक्ता श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पार्टीले गर्न लागेको बृहत् जनप्रदर्शनको स्वरूप तय गर्न पार्टीका वरिष्ठ नेता उपाध्यक्षहरू र सबै उपाध्यक्षहरू रहने गरी समिति गठन गर्ने र सो समितिले तीन दिनभित्र अध्यक्षलाई प्रतिवेदन दिने निर्णय गरिएको छ।’ 

कार्यसम्पादन समितिको बैठकका क्रममा आइतबार कार्यसम्पादन समितिका सदस्य डा. ठाकुरमोहन श्रेष्ठमाथि आक्रमण हुनु आपत्तिजनक र निन्दनीय भएको राप्रपाले ठहर गरेको छ।  

राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेनिकट कार्यकर्ताले श्रेष्ठमाथि हातपात गरेका थिए। श्रेष्ठले पाण्डेलाई भ्रष्टाचारी भनेपछि उनीमाथि आक्रमण भएको भन्दै अनुशासनको कारबाहीका लागि पार्टीमा निवेदन दिएका छन्। 

‘सामाजिक सञ्जालमा आएका भिडियो, घटनास्थलमा देखिएका नेता र पीडितसमेतबाट जानकारी लिएर थप अनुसन्धानसमेत गरी ४८ घण्टाभित्र अनुशासनको अधिकतम कारबाहीका लागि पेस गर्न केन्द्रीय अनुशासन समितिमा कार्यसम्पादन समितिका सदस्य डा. ठाकुरमोहन श्रेष्ठको निवेदन पठाइनेछ,’ राप्रपाले भनेको छ, ‘अनुशासन समितिको सिफारिसलाई कार्यान्वयन गर्ने जिम्मा पार्टी अध्यक्षलाई प्रदान गरिएको छ।’ 

अन्य कानुनी कारबाहीका लागि पीडित डा. श्रेष्ठले सम्बन्धित निकायमा निवेदन दिने भएका छन्। 

बैठकले चालीस वर्षमुनिका केन्द्रीय सदस्यलाई कार्यसम्पादन समितिमा र चालीस वर्षमुनिकालाई खुला रूपमा केन्द्रीय सदस्यमा चयन गर्ने वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र नेतृत्वको कार्यदलले तयार पारेको प्रस्तावलाई राप्रपाले परिमार्जनसहित स्वीकृत गरेको छ। 

खुला केन्द्रीय सदस्य छनोट गर्न पार्टीले वरिष्ठ नेता उपाध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा डा. गीताभक्त जोशी र डा. जयन्तनाथ खनाल सदस्य रहने समिति गठन गरेको छ। 

यसैगरी, नवीन राप्रपा कार्ययोजना ०८० को म्याद ०८० चैतसम्म रहेकोमा पार्टीको आन्दोलनका कारण भूगोलकेन्द्रित जिम्मेवारीमा रहेका सदस्यहरू आन्दोलनको कार्यक्रममा सहभागी हुनुपर्ने भएकोले भूगोलकेन्द्रित जिम्मेवारीको म्याद ०८१ असारसम्म थप गरेको छ।