१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० फाल्गुण २७ आइतबार ११:२३:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

निजी क्षेत्रका सबै समस्या समाधान गर्छौँ : उपप्रधानमन्त्री सेठ

निर्यात वृद्धिका लागि नगद अनुदानको दर बढाउन र प्रक्रिया सरल बनाउन उद्योगीको माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० फाल्गुण २७ आइतबार ११:२३:००

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले निजी क्षेत्रका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । मुलुकको आर्थिक अवस्था बलियो बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको भन्दै उनले उद्योगी–व्यवसायीलाई विश्वासमा लिएर अघि बढ्ने बताए ।  

नेपाल तयारी पोसाक उद्योग संघको २९औँ वार्षिक साधारणसभामा बोल्दै उपप्रधानमन्त्री सेठले सरकार र निजी क्षेत्रको सहकार्यविना मुलुकले फड्को मार्न नसक्ने बताए । ‘देश बनाउने तपाईं–हामीले नै हो, मुलुकको आर्थिक अवस्था सबल बनाउन सबैको सहकार्य आवश्यक छ,’ उनले भने, ‘मुलुकको आर्थिक अवस्थालाई बलियो बनाउन सरकार केन्द्रित छ, हामी निजी क्षेत्रका सबै समस्या समाधान गर्न प्रतिबद्ध छौँ ।’

उक्त अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रसँग सहकार्य गर्दै उत्पादन तथा निर्यात बढाउन सरकार केन्द्रित हुने बताए । उनले स्वदेशी उत्पादनले बजार नपाउनाको कारण खोजेर समाधान गरिने बताए । 

निर्यात सहजीकरण गराउन सांसदको सुझाव
कार्यक्रममा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले तयारी पोसाक तथा कृषिजन्य उत्पादनको निर्यात सहजीकरण गर्न सरकारलाई सुझाव दिए । त्यस्तै, उनले निजी क्षेत्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारमा लैजान नदिने प्रतिबद्धता व्यक्त गरे ।

 उद्योग–वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका सदस्य एवं संघका सदस्य गणेश पराजुलीले नेपालको निर्यातजन्य वस्तुको प्रमुख हिस्सा तयारी पोसाक रहेको उल्लेख गर्दै निर्यातमा अनुदान दिने व्यवस्थालाई थप व्यवस्थित बनाउन सुझाव दिए ।

आर्थिक एजेन्डामा एकमत हुन महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक एजेन्डामा एकमत हुन सबै राजनीतिक दललाई आग्रह गरे । अहिले बजारमा माग कम भएर बजार चलायमान हुन नसकेको अवस्थामा सबै पक्षको एकता आवश्यक रहेको उनले बताए । यसैगरी, निजी क्षत्रको मनोबल बढाउन मर्यादाक्रममा निजी क्षेत्रलाई समावेश गर्न पनि उनले आग्रह गरे । गाउँ र सहरमा रकम प्रवाह गर्न पुनर्कर्जा सुविधा र पुँजीगत खर्च बढाउनुपर्नेमा पनि उनले जोड दिए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले तयारी पोसाक उद्योग मुलुकको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको बताए । उनले यस क्षेत्रको विकासमा ध्यान दिनुपर्नेमा जोड दिए । नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रका सुझावलाई समेटेर बजेट र मौद्रिक नीति ल्याउनुपर्ने बताए ।

 अनुदान बढाउन र ब्याज सुविधा दिन माग
नेपाल तयारी पोसाक संघका अध्यक्ष पशुपतिदेव पाण्डेले तयारी पोसाकको निर्यात वृद्धिका लागि अनुदानको दर बढाउन तथा सहुलियत ब्याजमा कर्जा उपलब्ध गराउन माग गरे । उनले छिमेकी मुलुकको दाँजोमा नेपाली तयारी पोसाक करिब २७ प्रतिशतभन्दा बढिका दरले महँगो भएकाले उत्पादनलाई प्रतिस्पर्धात्मक र कम खर्चिलो बनाउन निर्यातमा दिने नगद अनुदानको दर ४ प्रतिशतबाट बढाएर न्यूनतम १० प्रतिशत पुर्‍याउन आवश्यक रहेको बताए । 

त्यस्तै, नेपाली कपडा एवं धागो उद्योगलाई जस्तै तयारी पोसाकलाई पनि ५ प्रतिशत सहुलियत ब्याज उपलब्ध गराउन आग्रह गरे । उनले अन्तर्राष्ट्रिय मेलामा सहभागिताका लागि सहजीकरण गर्न, निर्यात कर्जालाई चालू पुँजीकर्जा ८० प्रतिशतसम्म दिन, एक्स्पोर्ट क्रेडिट इन्स्योरेन्सको व्यवस्था गर्न, बिजुलीमा सहुलियत दिनसमेत आग्रह गरे । 

सन् १९८७ मा स्थापना भएको संघमा एक सयभन्दा बढी तयारी पोसाक उद्योगी आबद्ध छन् । तयारी पोसाक उद्योग क्षेत्रमा ३५ हजारले प्रत्यक्ष रोजगारी पाएको उनले बताए । गत आवमा भारत तथा तेस्रो मुलुकमा करिब नौ अर्ब रुपैयाँबराबरको तयारी पोसाक निर्यात भएको छ ।