१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० फाल्गुण २७ आइतबार ०८:०५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

वीरगन्ज–पथलैया ६ लेनको मुख्य सडकमै व्यापार

Read Time : < 1 मिनेट
२०८० फाल्गुण २७ आइतबार ०८:०५:००

बाराको वीरगन्ज–पथलैया ६ लेन मुख्य सडकखण्डमा स्थानीय व्यापारीले अतिक्रमण गरेर व्यापार गर्ने कार्य बढ्दै गएको छ । बाराको मुख्य व्यापारिक केन्द्रका रूपमा रहेको वीरगन्ज पथलैया ६ लेन सडकअन्तर्गत जितपुर चोकमा बिहानैदेखि राजमार्ग अतिक्रमण गरेर फलफूलगायत विभिन्न सामग्री किनबेच हुँदै आएको छ ।

खुद्रा व्यापारीले बजारको मुख्य सडकखण्डको भाग मिचेर व्यवसाय सञ्चालन गर्न थालेपछि सर्वसाधारणलाई आवतजावत गर्नसमेत समस्या हुन थालेको छ । जितपुरसिमरा उपमहानगरपालिकाको गेटबाट बकुलिया जाने बाटोको दुवैतिर फुटपाथ व्यवसायीहरूले ठेला लगाएर व्यापार गर्दा दुर्घटनाको पनि जोखिम बढेको स्थानीय नेजारुल अन्सारीले बताए । 

सडकको छेउछाउमा खुला रूपमा नालामाथि बाँस र काठको स्लेप बनाएर व्यापारीहरूले व्यवसाय गरिरहेका छन् । पटक–पटक सूचना निकालेर स्थान खाली गर्न आग्रह गरे पनि  व्यापारीहरूले अटेर गरेको जितपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीले बताए । सडक अतिक्रमण गरेर व्यापार गर्नु गलत भएको र अब  उपमहानगरले कडा एक्सन लिएर चाँडै सडकपेटीमा व्यापार गर्ने कार्य विस्थापित गर्ने उनको भनाइ छ । 

मुख्य सडक अतिक्रमण गरेर व्यवसाय गर्दा बजार क्षेत्र फोहोरमै बन्दै गएको र सटर भाडामा लिएर व्यवसाय गर्नेहरू विस्थापित हुँदै गएको जितपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले बताए । लामो समयसम्म पनि उपमहानगरपालिका र स्थानीय प्रशासनले सडक ठेला व्यापारीलाई सडकबाट हटाउन प्रयास नगर्दा दिनानुदिन बढ्दै गइरहेको उनको भनाइ छ । उनका अनुसार सडक अतिक्रमण हुँदै गएका कारण यातायात सञ्चालन जटिल बन्दै गएको छ ।