१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १९:५१:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सेना दिवसको अघिल्लो दिन सकलदर्जालाई प्रधान सेनापतिको सम्बोधन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १९:५१:oo

प्रधान सेनापति महारथी प्रभुराम शर्माले नेपाली सेनाको २६१औँ सेना दिवसका अवसरमा सकलदर्जा तथा परिवारलाई बिहीबार सम्बोधन गरेका छन्। सेनाले शुक्रबार महाशिवरात्रि पर्वका अवसरमा स्थापना दिवस मनाउँदै छ। 

जंगी अड्डामा बिहीबार आयोजित विशेष कार्यक्रममा प्रधान सेनापतिले राष्ट्रिय सुरक्षा, संगठन सञ्चालन, व्यावसायिक तालिम, पेसागत वृत्तिविकास, सबल बन्दोवस्ती प्रणाली र कल्याणकारी कार्यलगायतका विषयमा समयसापेक्ष आधुनिकीकरण र सुधारको प्रयास भइरहेको बताए। 

उनले विभिन्न तह र तप्कामा रही उच्च मनोबल र हौसलाका साथ स्वदेश र विदेशमा खटिइरहेका सकलदर्जालाई धन्यवादसमेत दिए। उनले संस्थागत हित र सैनिक आचरणविपरीतका गतिविधिमा संलग्न रहने तथा व्यक्तिभन्दा संस्था सदैवमाथि रहने तथ्य बुझ्न नसक्ने वा नचाहनेहरूले यथोचित परिणाम भोग्नुपर्ने पनि चेतावनी दिए। 

संस्थाभित्रका अवसरहरू सकेसम्म धेरैले उपभोग गर्ने वातावरण बनाउन निरन्तर प्रयास भइरहेकोसमेत भन्दै उनले सेना सामूहिक नेतृत्व र सामूहिक योगदानबाट सञ्चालन हुँदै आएको उल्लेख गर्दै सकलदर्जालाई सदैव व्यक्तिभन्दा संस्थामाथि रहने कुरा स्मरण गराए। उनले पदभन्दा प्रतिष्ठा ठूलो हो भन्ने कहिल्यै नबिर्सन पनि सबैलाई आह्वान गरेका छन्। 

‘संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्दा, हामीसँग उपलब्ध स्रोतसाधनको समुचित सदुपयोग गरी, बदलिँदो विश्व परिवेशअनुकूल मापदण्ड हासिल गर्न नेपाली सेनाको नेतृत्व पंक्तिबाट आधुनिकीकरण, व्यावसायीकरण र आत्मनिर्भरताका लागि हरसम्भव प्रयास भइरहेको छ,’ प्रधानसेनापति शर्माले भने। 

उनले काठमाडौं–तराई–मधेश द्रुतमार्ग सडक आयोजना, दार्चुला–टिंकर, खाँदवारी–किमाथांका, बेनीघाट–लार्केभञ्ज्याङ र कर्णाली करिडोर सडक आयोजनाहरूमा सन्तोषजनक प्रगति भइरहेको पनि बताए। 

विकास निर्माणका कार्यमा संलग्न सबैलाई आर्थिक पारदर्शिता कायम राख्दै समय सीमाभित्रै कार्य सम्पन्न गर्न पनि उनले निर्देशन दिए। 

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रधानसेनापति शर्माले सेनाको  समावेशी चरित्रलाई थप मजबुत बनाउन एवं देशका हरेक कुनामा रहेका युवालाई सेनामा समावेश गर्न दुर्गम र विकट जिल्लाहरूमा सैन्य भर्ना केन्द्रहरू खोलिएको बताए। 

सेनालाई बन्दोवस्ती सामग्रीहरूको आपूर्तिमा आत्मनिर्भर बनाउन प्रयास भइरहेको पनि उनले जानकारी दिए। उनले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयसम्बन्धी विधेयक स्वीकृतिको प्रक्रियामा रहेको, यसको पूर्वाधार निर्माण र तालिम सञ्चालन मोडालिटी तयारी भइरहेको पनि बताए। उनले दिवंगत सकलदर्जाको परिवारलाई दिइँदै आएको कल्याणकारी निवृत्तिभरणमा पाँच सय वृद्धि भएको पनि जानकारी दिए।

ad
ad