अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले हमासलाई इजरायलसँग ‘तत्काल युद्धविराम’ स्वीकार गर्न आह्वान गरेका छन् । हमास लडाकुहरूले कायरोमा कतारी र इजिप्टका मध्यस्थकर्ताहरूसँग भेट गरेको सन्दर्भमा अमेरिकी विदेशमन्त्रीको सो धारणा सार्वजनिक भएको हो ।
‘हामीसँग तत्काल युद्धविरामको अवसर छ जसले बन्धकहरूलाई घर ल्याउन सक्छ, प्यालेस्टिनीहरूलाई मानवीय सहायताको मात्रामा व्यापक वृद्धि गर्न सक्छ,’ उनले उल्लेख गरे ।
वासिङटनमा कतारका प्रधानमन्त्रीसँगको भेटमा अमेरिकी मन्त्रीले द्वन्द्वको स्थायी समाधानका निम्ति हमास लडाकुहरूले निश्चित सर्तसहित अगाडि बढ्नुपर्ने धारणा पनि सार्वजनिक गरेका छन् । हमास यो युद्धविराम प्रक्रियामा संलग्न हुन तयार छ कि छैन भन्नेबारे निर्णय गर्ने कुरा हमासको हातमा रहेको अमेरिकी विदेशमन्त्री ब्लिंकेनले स्पष्ट पारे । (रासस–एएफपी)