१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० फाल्गुण २२ मंगलबार १९:३०:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

हेटौँडाका तीन विद्यालय एकैदिन बालमैत्री घोषणा

Read Time : > 1 मिनेट
२०८० फाल्गुण २२ मंगलबार १९:३०:००

बागमती प्रदेशको राजधानी हेटौँडामा मंगलबार एकैदिन तीनवटा विद्यालय बालमैत्री घोषणा गरिएका छन्। दुई सामुदायिक र एक संस्थागत विद्यालयलाई बालमैत्री घोषणा गरिएको हो।हेटौँडा उपमहानगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने तयारीको सिलसिलामा विद्यालयहरूलाई बालमैत्री घोषणा गरिएका हुन्। ती विद्यालयमा हेटौँडा उपमहानगरपालिका– ८ कमानेमा रहेको चन्द्रोदय मावि, हेटौँडा– १६ हटियामा रहेको जनप्रिय मावि र हेटौँडा– २ मा रहेको बाल जागृति इंग्लिस सेकेन्डरी स्कुल छन्। 

एक सय २० विद्यालय रहेको उपमहानगरपालिकाभित्र ७३ सामुदायिक र ४७ संस्थागत विद्यालय छन्। मंगलबार आयोजित औपचारिक कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीना लामा र उपप्रमुख राजेश बानियाँले संयुक्त रूपमा बालमैत्री विद्यालय घोषणा गरे।

बालमैत्री स्थानीय शासन घोषणाको लागि विद्यालयहरूले पूरा गर्नुपर्ने ११ वटा विभिन्न सूचकअन्तर्गतका २६ वटा कार्यहरू पूरा गरेकोले बालमैत्री घोषणा गरिएको उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले जानकारी दिएको छ।

बालमैत्री घोषणा भएका विद्यालयहरूले विद्यालयमा अध्ययन गर्ने बालबालिकाको सर्वांगीण विकासमा सहयोग पुर्‍याउँदै बाल अधिकारका क्षेत्रहरूलाई अक्षरशः पालना गर्न सक्षम रहेको दाबी गरिएको छ।

बालमैत्री स्थानीय शासनको लागि विद्यालयको गेटमा मद्यपान, धूमपान, सुर्तीजन्य वस्तु प्रयोग निषेधित क्षेत्र, विद्यालयको चारैतर्फ १०० मिटरको दूरीभित्र सुर्तीजन्य वस्तु बिक्री-वितरण गर्न पाइनेछैन भन्ने सूचना टाँस्नुपर्ने, विद्यालयको शौचालयमा साबुन पानीको व्यवस्था मिलाउने, बालमैत्री आधार संहिताबारे एक महिनामा तीन घण्टा विद्यार्थीसँग छलफल गर्ने वातावरण मिलाई प्रमाण राख्ने, विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गरेको रेकर्ड राख्नेजस्ता कार्य नियमित हुनुपर्ने व्यवस्था छ।

यसैगरी, विद्यालयमा बालअधिकार तथा बालमैत्री स्थानीय शासनको परिभाषा टाँस गर्ने, बालविकास केन्द्र र सवारीसाधनको मापदण्डअनुसार बालविकास केन्द्र व्यवस्थापन गर्ने, विद्यालयमा विद्यार्थीलाई विपत् पूर्वव्यवस्थापनसम्बन्धी अतिरिक्त सत्र सञ्चालन गर्ने, सेनिटरी प्याड प्रयोग डिस्पोजल प्रबन्धको रेकर्ड व्यवस्थापन गर्नेजस्ता २६ वटा सूचकहरू तोकिएका छन्।