१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० फाल्गुण २२ मंगलबार ०८:०८:००
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

नोबेल पुरस्कार विजेता युनुसलाई भविष्यकै चिन्ता

Read Time : > 1 मिनेट
२०८० फाल्गुण २२ मंगलबार ०८:०८:००

बंगलादेशका नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसले प्रधानमन्त्री शेख हसिना वाजेदले आफूलाई किन घृणा गर्छिन् भन्ने विषय ‘लाखौँ डलरको प्रश्न’ भएको बताएका छन् । प्रधानमन्त्रीले युनुसलाई राजनीतिक खतराको रूपमा हेर्ने गरेको बताइरहेका वेला उनको यस्तो भनाइ आएको हो । त्रियासी वर्षीय युनुसलाई उनको अग्रणी लघुवित्त बैंकका साथ लाखौँ मानिसलाई गरिबीबाट बाहिर निकालेको श्रेय दिइन्छ । तर, उनको लामो समयदेखि प्रधानमन्त्री शेख हसिनासँग टकराव छ । 
एउटा आपराधिक मुद्दामा उनलाई सजाय दिइएको केही सातापछि गत महिना युनुसका धेरै फर्म ‘जबर्जस्ती’ कब्जामा लिइएको थियो । उनका समर्थकले युनुसलाई दिइएको सजाय राजनीतिक रूपमा प्रेरित भएको बताउँदै आएका छन् । ‘उहाँ मलाई खुन चुसाहा भन्नुहुन्छ, मलाई सबै फोहोर शब्दले गाली गर्नुहुन्छ,’ युनुसले हसिनातर्फ लक्षित गर्दै भने, ‘उहाँ मलाई किन घृणा गर्नुहुन्छ ?’ उनी प्रश्न गर्छन् ।

जनवरीमा युनुस र उनका तीन सहयोगीलाई श्रम कानुनको उल्लंघन गरेको आरोपमा ६ महिना कारागार सजाय सुनाइएको थियो । चारैजनाले ती आरोप अस्वीकार गरेका छन् । पुनरावेदन विचाराधीन रहेसम्म जमानत दिइएको छ । श्रम कानुनको उल्लंघन र कथित भ्रष्टाचारको आरोपमा एक सयभन्दा धेरै अन्य आरोपको सामना गरिरहेका युनुसले आफ्ना कम्पनी जबर्जस्ती अधिग्रहण गर्नु लोकतन्त्रको अभाव भएको बताउँछन् । ‘मविरुद्ध लगाइएका मुद्दा कमजोर आधारमा बनाइएका हुन्,’ गत साता राजधानी ढाकामा एक अन्तर्वार्तामा उनले भने, ‘म यसका लागि कुनै कानुनी आधार देख्दिनँ, सम्भवतः यो राजनीतिक रूपमा प्रेरित हो ।’

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा र संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव बान कि मुनसहित करिब एक सय ६० वैश्विक हस्तीहरूले गत वर्ष एक संयुक्त पत्र प्रकाशित गर्दै यनुसको ‘निरन्तर न्यायिक उत्पीडन’को निन्दा गरेका थिए । सयभन्दा धेरै नोबेल पुरस्कार विजेता साथीसहित हस्ताक्षरकर्ताले ‘युनुसको सुरक्षा’बारे चिन्ता व्यक्त गरेका थिए ।

विपक्षीहरूको व्यापक बहिष्कार र राजनीतिक विरोधीमाथि कारबाहीसँगै जनवरीमा भएको आमनिर्वाचनमा ७६ वर्षीया हसिना लगातार चौथोपटक विजयी भएकी थिइन् । सन् २००७ मा युनुसले दशकौँदेखि हसिना र उनका प्रतिद्वन्द्वी खालिदा जियाको प्रभुत्वमा रहेको राजनीतिमा तेस्रो विकल्प प्रस्तुत गर्न ‘नागरिक शक्ति’ आन्दोलन सुरु गरेका थिए । तर, सत्ता संघर्ष र झगडाका प्रतिद्वन्द्वीले आफूलाई निराश बनाएपछि उनले राजनीतिबाट पछि हटेको बताए । ‘म कुनै राजनीतिक व्यक्ति होइन, मैले त्यस्तो गर्दिनँ, त्यसैले मैले कुनै राजनीतिक दल खोल्न गइरहेको छैन भनेर तुरुन्त घोषणा गरेँ,’ उनले भने ।