१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
हिन्द इल्हिन्नावी
२o८१ जेठ ३ बिहीबार ११:१o:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

नर्गेस मोहम्मदीलाई नोबेल पुरस्कारको अर्थ 

Read Time : > 2 मिनेट
हिन्द इल्हिन्नावी
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार ११:१o:oo

मोहम्मदीको प्रभाव पनि रहेको इरानी महिलाको आन्दोलनले आफूलाई अजेय ठान्ने इरानी सत्ताको आत्मविश्वास खस्काएको छ 

चर्चित इरानी महिला अधिकार अभियन्ता नर्गेस मोहम्मदीले इरानमा महिला उत्पीडनविरुद्धको लामो लडाइँका लागि सन् २०२३ को नोबेल शान्ति पुरस्कार पाएकी छिन् । मोहम्मदी तेहरानको इभिन जेलमा राज्यविरुद्ध प्रोपगान्डा फैलाएकोलगायत आरोपमा जेल सजाय काटिरहेकी छिन् । उनलाई नोबेल पुरस्कार समितिले ‘इरानमा महिला उत्पीडनविरुद्धको लडाइँ र सबैका लागि मानव अधिकार एवं स्वतन्त्रताको प्रवद्र्धन गर्न संघर्ष गरेको’ उल्लेख गर्दै पुरस्कारका लागि सिफारिस गरेको थियो ।

इरानमा महिलामाथि हुने हिंसाको विरोधमा इरान र विश्वभरका महिलाले विरोध गरिरहेका वेला उनलाई यो पुरस्कार दिइएको हो । अहिले पनि इरानमा विरोध चलिरहेको छ । यो विरोध महसा अमिनीलाई इरानी महिला पोसाक संहिता पालना नगरेको भन्दै त्यहाँका नैतिकता प्रहरीले हिरासतमा हत्या गरेपछि चर्किएको थियो । नोबेल समितिका अनुसार ‘इरानका प्रदर्शनकारीले अपनाएको नारा ‘महिला–जीवन–स्वतन्त्रता’ले नर्गेस मोहम्मदीको समर्पण र कामलाई प्रतिनिधित्व गर्छ’ ।

महिला–जीवन–स्वतन्त्रता नारा लिएर इरानी राज्य दमनविरुद्ध लामो समयसम्म विरोध गर्नु आफैँमा उल्लेखनीय हो । वर्ष दिनदेखि इरानको धार्मिक अधिनायकवादविरुद्धको महिला आन्दोलन दशकौँ लामो संघर्षको शृंखलाको पछिल्लो कडी हो । अहिले संघर्षले आधुनिक इतिहासको सबैभन्दा दमनकारी शासनविरुद्ध चलिरहेको संघर्षमा महत्वपूर्ण परिवर्तन ल्याएको छ । यो परिवर्तनको प्रकृति र प्रभाव अभूतपूर्व छ ।

इरानमा सन् १९७९ को क्रान्तिपछि अयातोल्लाह रुहोल्लाह खोमेनीको नेतृत्वमा इस्लामिक धर्मगुरुले सरकारमाथि बलियो पकड जमाएका थिए । इरानी सत्ताले विशेषतः महिला निर्देशित कैयौँ दमनकारी कानून लागू गरेको थियो । तर, सत्ताको हिंसाको बाबजुद महिला उत्पीडनविरुद्धको विरोधमा अग्रपंक्तिमा रहे ।

मोहम्मदी सन् १९९० को दशकको सुुरुमा विद्यार्थीका रूपमा संघर्षमा सामेल भएकी थिइन् । भौतिकशास्त्रमा स्नातक गरेपछि र इन्जिनियरिङ पेसा गरिरहँदा उनले महिला अधिकारका लागि आन्दोलन र सुधारवादी पत्रपत्रिकामा स्तम्भ लेख्न थालेकी थिइन् । उनी पहिलोपटक सन् १९९८ मा इरान सरकारको आलोचना गरेको कारण पक्राउ परेकी थिइन् । सन् २००३ सम्म उनले तेहरानको डिफेन्डर्स अफ ह्युमन राइट्स सेन्टरसँग काम गरिरहेकी थिइन् । इस्लामिक विश्वकी पहिलो नोबेल पुरस्कार विजेता महिला सिरिन इबादी डिफेन्डर्सकी संस्थापक थिइन् । 

मोहम्मदीलाई १३ पटक पक्राउ गरिएको छ र पाँचपटक दोषी ठहर भई कुल ३१ वर्षको जेल सजाय र १५४ कोर्राको सजाय पाएकी थिइन् । सन् २०२२ मा जब महिला–जीवन–स्वतन्त्रता भनेर चिनिने विरोधको लहरले विश्वव्यापी मान्यता पाउन थाल्यो, तब उनलाई तेहरानको सबैभन्दा कुख्यात जेलमा थुनिएको थियो । त्यसवेला मोहम्मदीले आफूजस्तै अधिकारका लागि लड्ने कैदीसँग ऐक्यबद्धताको पहल गरेकी थिइन् । नतिजा इरानी अधिकारीले आगन्तुक भेट र फोन कल निषेध गरेर मोहम्मदीलाई दण्डित गरेका थिए । यी कडीकडाउका बाबजुद उनले लेखेको एउटा लेख जेलबाहिर निस्कियो र सेप्टेम्बर २०२३ मा ‘उनीहरूले हामीलाई जति धेरै थुन्छन्, हामी त्यति बलियो हुन्छौँ’ भन्ने शीर्षकमा न्युयोर्क टाइम्समा छापियो ।

परिवर्तनमा महिला आन्दोलनको अग्रणी भूमिका : लोकतान्त्रिक परिवर्तनका लागि महिलाको नेतृत्वमा भएका आन्दोलन प्रायः प्रभावकारी हुने गरेका छन् । इतिहासमा यसका प्रशस्तै उदाहरण देख्न सकिन्छ । हालैका वर्षमा अर्जेन्टिनाको ह्यासट्याग नि उना मेनोस (अब अर्को हुनुहुँदैन) भन्दै महिला हत्याविरुद्ध न्याय खोज्ने महिला र बालिकाको नेतृत्वमा आन्दोलन चलेको थियो । नतिजा राष्ट्रपति अल्बर्टो फर्नान्डेजको प्रशासनमा महिला, लैंगिकता र विविधता मन्त्रालय गठनसम्मको प्रभाव पारेको थियो । 

पिनोसेको तानाशाहीभन्दा अघि र पछि चिलीमा अधिकारको आन्दोलनमा महिला अग्रणी स्थानमा थिए । र, अहिले त्यहाँको नारीवादी आन्दोलनले गर्भपतन अधिकारका लागि कडा आन्दोलन गरिरहेको छ र यो आन्दोलन ह्यासट्याग नि उना मेनोसबाट प्रभावित भएको थियो । आन्दोलनका कारण दशकौँ पुरानो पिनोसे कालमा स्थापित संविधानलाई प्रतिस्थापन गर्दै सन् २०२२ मा तयार गरिएको नयाँ संविधानमा गर्भपतनका लागि कानुनी सुरक्षा गरिएको थियो । उसो त एक जनमत संग्रहले सेप्टेम्बर २०२२ मा संवैधानिक मस्यौदालाई अस्वीकार गरेको थियो, तथापि बहस जारी रहँदा महिला अधिकार आन्दोलनमा अग्रपंक्तिमै छन् ।

महिला–जीवन–स्वतन्त्रता : निरन्तर दमनका बाबजुद महिला–जीवन–स्वतन्त्रता आन्दोलनको एक वर्षपछि इरानी महिला आफ्नो अधिकारका लागि अझै लडिरहेका छन् । आन्दोलनको सफलता अनिश्चित भए पनि सत्ताको अजेय हुँ भन्ने आत्मविश्वास खस्किएको छ र यसलाई महिलाको राजनीतिक सीमान्तीकरणले पनि चुनौती दिएको छ । सुरक्षा कडाइका बाबजुद पितृसत्तात्मक शासनविरुद्धको लडाइँ जारी छ । यदि विरोध प्रदर्शनले सत्ता उलटफेर नै नगरे पनि अभिव्यक्ति स्वतन्त्रता, शारीरिक स्वायत्तता र राजनीतिक संलग्नताका लागि महिलाले अघि सारेका मागले इरानको सामाजिक र राजनीतिक परिदृश्यलाई पुनः आकार दिएको हुन सक्छ ।

नोबेल पुरस्कार समितिले नर्गेस मोहम्मदीलाई इरानी महिलाको अधिकारका लागि ३० वर्षभन्दा लामो समयदेखिको गरेको आन्दोलनका लागि सम्मान गरेको छ । पुरस्कार मोहम्मदीमा मात्रै सीमित छैन । समितिले ‘विगतका वर्षमा महिलालक्ष्यित भेदभाव र उत्पीडन गर्ने ईश्वरतान्त्रिक शासनको नीतिविरुद्ध प्रदर्शन गर्ने लाखौँ मानिसका लागि पनि हो’ भन्ने स्पष्ट पारेको छ ।

महिला आवाजले इरानी धर्मतन्त्रको वैधानिकतालाई चुनौती दिइरहेको छ । इरानी जनताको विरोधको यो लहर विश्वव्यापी रूपमा प्रतिध्वनित भएको छ । यसले महिला संघर्षको महत्वलाई बढाएको छ । इरानी महिलाको आन्दोलनले विश्वभरका महिलालाई आफ्नो अधिकार र स्वतन्त्रताका लागि लड्न प्रेरित गरेको छ ।

(इल्हिन्नावी नटिंघम विश्वविद्यालयकी समाज विज्ञानकी वरिष्ठ लेक्चरर हुन्) 
द कन्भर्सेसनबाट

 

ad
ad