१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
रमेश सुवेदी काठमाडाैं
२o८१ जेठ ३ बिहीबार o६:४६:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

विवादमा एन्फा साधारणसभा

कार्यसमितिका १३ सदस्य, बी डिभिजनका पदाधिकारीसँगै जिल्ला संघका प्रतिनिधिहरूले साधारणसभा बहिष्कार गरे

Read Time : > 1 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o६:४६:oo

वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित कार्यसमिति १३ सदस्य तथा सहिद स्मारक ‘बी’ डिभिजन लिगसहित अधिकांश सदस्यले बहिष्कार गरेको नियमित साधारणसभामा अखिल नेपाल फुटबल संघ (एन्फा)ले ६ निर्णय गरेको छ । शंखमूलमा सोमबार भएको साधारण सभामा कार्यसमितिको निर्णयविना दुई एजेन्डा थपेको भन्दै कार्यसमितिका बहुमत १३ सदस्यले असन्तुष्टि जनाएका थिए ।

उनीहरूले थप गरेको एजेन्डा हटाउन आग्रह गरेका थिए । तर, संस्थापन पक्ष पूर्ववत् निर्णयबाट पछाडि नहट्दा बन्द सत्र नै दुई घन्टासम्म पनि सुरु भएन । त्यसछि एन्फा अध्यक्ष पंकव नेम्वाङले वरिष्ठ उपाध्यक्षसहित १३ सदस्यको अनुपस्थितिमै रोलक्रमअनुसार साधारणसभा अगाडि बढाए । असन्तुष्ट पक्षले लेखापरीक्षण प्रतिवेदन पास गर्ने, आर्थिक नियमावली र कार्यविधि पास गर्ने एजेन्डालाई विरोध गरेका थिए । 

२१ सदस्यीय रहेको एन्फा कार्यसमितिका उपाध्यक्ष दावा लामा बैठकमा सहभागी भएनन् । उनी लागुऔषध कारोबारमा दोषी ठहरिएपछि फरार छन् । एन्फाका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाले संस्थापन पक्षले आफूखुसी निर्णय नगर्न र समस्याको समाधान खोज्न आग्रह गरेका छन् । कार्यसमितिबाट निर्णय नै नभएको एजेन्डामा समावेश गरेपछि उनी पनि रोलक्रममा सहभागी नभईकनै बाहिरिएका थिए । ‘कार्यसमिति बैठक चार–पाँच दिन चल्दा जम्मा चार निर्णय भए, तर साधारणसभामा ६ एजेन्डा समावेश गरेको छ, बहुमत सदस्यले साधारणसभा बहिष्कार गरेका छन्,’ शेर्पाले भने, ‘अहिले कागज मिलाउने कि फुटबल मिलाउने भन्ने पक्ष हो । उहाँहरूसँग कुनै जवाफ छैन ।’

साधारणसभामा बी डिभिजन लिगका प्रतिनिधिसमेत सहभागी भएका थिएनन् । शेर्पाले साधारणसभा छाडेपछि बी डिभिजन क्लब र जिल्ला सदस्यले हल छाडेका थिए । शेर्पाले वर्तमान एन्फामा ठूलो भ्रष्टाचार भइरहेको आरोप लगाएका छन् । ‘आर्थिक घोटाला ब्यापक भएको छ । शून्य समयमा छलफल गरौँ भन्दा जबर्जस्ती रोलक्रम भयो । साधारणसभा वर्षमा एकपटक गर्ने हो,’ आरोप लगाउँदै उनले भने, ‘फुटबल गर्न कन्ट्रोरोल फन्डिङको कुरा गरेर टारिन्छ । तर, प्रत्येक महिना साधारणसभा गर्न खर्च तयार छ । करोडौँ खर्च भ्रष्टाचार भएको छ ।’ 

उनले शीर्ष डिभिजनको र जिल्ला लिगसमेत एन्फाले गर्न नसकेको आरोप लगाए । एन्फा प्रवक्ता सुरेश शाहले ७७ मध्ये ७४ सदस्य साधारणसभामा सहभागी भएको दाबी गरेका छन् । एन्फाको भोटिङ राइट एक सय पाँचजना मात्र हो । प्रवक्ता शाहले कार्यसमितिबाट निर्णय भएको एजेन्डा नै साधारणसभामा प्रस्तुत गरेको दाबी गरे । ‘पदाधिकारी साथीहरू किन आउनुभएन थाहा छैन । तर, उहाँहरू आएर बजेट समीक्षा गर्नुपथ्र्यो,’ उनले भने, ‘नयाँ योजना अनुमोदन गर्ने एजेन्डा थियो । यो कार्यसमितिबाट प्रक्रिया नै छलफल भएर आइसकेको हो ।’ कार्यसमिति सदस्य अनिल मल्लले साधारणसभा विधानवपरीत रहेको र आगामी कार्यसमितिमा यही विषय उठ्ने बताए । यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङले साधारणसभाको उद्घाटन गरेका थिए । उनले फुटबल विकासको विषयमा एन्फामा बहस हुनुपर्ने बताए । 

क्यालेन्डरमा ए डिभिजननै समेटिएन
एन्फाले वर्षभरिको क्यालेन्डर सार्वजनिक गरेपछि ए डिभिजन लिग नै समेटिएको छैन । यस अर्थमा यस वर्ष ‘ए’ डिभिजन लिग एन्फाले नगर्ने भएको छ । गत वर्ष सहिद स्मारक ए डिभिजन लिग आयोजना भए पनि बी र सी डिभिजन लिग हुन सकेन । एन्फाले रेलिगेसनमा परेको एपिएफ र थ्री स्टारबीच चर्केको विवाद मिलाउन सकेको छैन । एन्फाले लिग ०८१ सालको पुसमा हुने घोषणा गरेको छ । एन्फाले सार्वजनिक गरेको कार्यक्रममा घरेलु प्रतियोगिताभन्दा पनि एएफसी र फिफा तथा साफले आयोजना गर्ने प्रतियोगिता समावेश छन् । यसैबीच, एनफाले ०८१ को बजेटका आधारमा ६७ करोड ६६ लाख ६० रुपैयाँ पुर्‍याएको छ । 

ad
ad