१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० फाल्गुण ८ मंगलबार १०:०१:००
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

नौजनालाई ‘नइ पुरस्कार’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० फाल्गुण ८ मंगलबार १०:०१:००

नइ प्रकाशनले राष्ट्रिय जीवनका ख्यातिप्राप्त नौजनालाई  ०७९ सालको नइ पुरस्कार समर्पण गर्ने निर्णय गरेको छ । नइ प्रकाशनले नेपालको भौगोलिक अखण्डता, सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता र स्वाभिमानको संवर्द्धनका लागि डा. भेषबहादुर थापालाई ‘नइ कीर्तिनिधि पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।

त्यसैगरी, ६ दशकअघिदेखि नेपालको पश्चिमाञ्चल क्षेत्रमा उच्च शिक्षाको थालनी र संवर्द्धनका लागि आजीवन समर्पित पोखराका प्राध्यापक जर्ज जोनलाई ‘नइ भूपालदुर्गा पुरस्कार’, ६ दशकदेखि नारीहरूको स्वास्थ्य सेवा, स्वास्थ्योपचारको जागरण र विकासमा अविरल समर्पित प्रसूति विशेषज्ञ डा. सरस्वती पाध्येलाई ‘नइ भावी पुरस्कार’, खेलकुदको विकासमा मन, वचन र कर्मद्वारा संलग्न रही अन्तर्राष्ट्रिय स्तरमा समेत नेपालको प्रतिष्ठा बढाएबापत मोहनबहादुर शाहीलाई  ‘नइ भाजप पुरस्कार’, नेपाली कलाका फाँटमा अविच्छिन्न संलग्न रही अन्तर्राष्ट्रिय क्षेत्रमा समेत नेपाली संस्कृतिमा आधारित चित्रकलाको प्रतिष्ठा बढाएबापत कृष्णगोपाल रञ्जितलाई ‘नइ यउजा पुरस्कार’, त्रिमूर्ति निकेतनको स्थापनाका निम्ति विशिष्ट भूमिका निर्वाह गर्नाका साथै पत्रकारिताका माध्यमबाट सामाजिक चेतनाको निर्माण एवं नेपाली भाषाको संवर्द्धनका निम्ति अनुकरणीय योगदान गरेबापत  हरिहर विरहीलाई ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’ प्रदान गर्ने निर्णय भएको छ ।

त्यस्तै, काठमाडौं उपत्यकाबाहिर रहेर नेपाली भाषा–साहित्यको सिर्जना र संवर्द्धनमा विशिष्ट योगदान पुर्‍याएबापत स्याङ्जाका  विश्वप्रेम अधिकारीलाई ‘नइ धनरूप पुरस्कार’, सनातन अध्यात्म दर्शन र धर्मसंस्कृतिको जागरण, संरक्षण र संवर्द्धनका लागि प्राज्ञिक रूपमा समर्पित  कमल रिजाललाई ‘नइ चन्द्रधन पुरस्कार’ समर्पण गरिने भएको छ ।

नेपाली साहित्यको श्रीवृद्धिमा सिर्जनात्मक र संस्थागत रूपमा निरन्तर क्रियाशील रही नेपाली भाषा–साहित्यको गौरव बढाएबापत श्रीओम श्रेष्ठलाई ‘नइ ईश्वरवल्लभ पुरस्कार’ प्रदान गर्ने निर्णय भएको नइ प्रकाशनका अध्यक्ष नरेन्द्रराज प्रसाईंले जानकारी दिए । 

सबै पुरस्कारको राशि जनही एक लाख रुपैयाँ रहेको छ ।