Skip This
कोशी प्रदेशस्तरीय फुटबल प्रतियोगिताको आयव्यय सार्वजनिक
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण ५ शनिबार
  • Saturday, 27 July, 2024
२o८o फाल्गुण ५ शनिबार ११:३१:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

कोशी प्रदेशस्तरीय फुटबल प्रतियोगिताको आयव्यय सार्वजनिक

तीन लाख ३१ हजार मुनाफा, सामाजिक काम र खेलाडी उत्पादनमा जोड दिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण ५ शनिबार ११:३१:oo

गत माघ १३ देखि २० गतेसम्म इटहरीमा सञ्चालन भएको स्व. कृष्णप्रसाद भट्टराई स्मृति कोशी प्रदेशस्तरीय फुटबल प्रतियोगिताको आयव्यय सार्वजनिक गरिएको छ । इटहरीमा पत्रकार सम्मेलन गर्दै आयोजक द योङ ब्रदर्स क्लब इटहरीले प्रतियोगिताको सबै आयव्यय सार्वजनिक गरेको हो । 

प्रतियोगिताबाट आयोजकले कुल तीन लाख ३१ हजार ६ सय ६७ रुपैयाँ मुनाफा गरेको क्लबका अध्यक्ष विजय सुब्बाले बताए। उनका अनुसार खेल अवधिमा कुल १९ लाख ४५ हजार रुपैयाँ आय भएको थियो भने १६ लाख १३ हजार तीन सय ३३ रुपैयाँ खर्च भएको थियो । 

पछिल्लो समय इटहरी र इटहरीआसपासमा हुने खेल प्रतियोगिता, मेला महोत्सव र अन्य कार्यक्रमहरूको खर्चआम्दानी सार्वजनिक नगरिरहेको बेला यस क्लबले दुई साताभित्र आफ्ना सम्पूर्ण आय तथा व्यय सार्वजनिक गरेको हो। प्रतियोगितालाई सफल बनाउन विदेशमा रहेका नेपालीहरूबाट, इटहरी र आसपासका क्लब तथा संस्थाहरूबाट, इटहरी उपमहानगर र प्रदेश खेलकुद विकास बोर्डबाट सहयोग प्राप्त गरेको सुब्बाले जानकारी गराए ।

उनका अनुसार खेल मैदान मर्मत तथा स्टेज निर्माण, उद्घाटन तथा समापन, खेल सामग्री, ट्रफी, प्रमाणपत्र, सिल्ड, मायाको चिनो, नगद पुरस्कार, गेट निर्माण, ब्यानर छपाइलगायतका शीर्षकमा खर्च भएको थियो ।

मुनाफा रकमले सामाजिक कार्य, इटहरी क्षेत्रमा खेल विकास र खेलाडी उत्पादनमा काम गर्ने क्लबका संरक्षक तथा खेल संयोजक विकास केसीले बताए । खेलाडीलाई प्रोत्साहित गर्न आगामी दिनमा क्लबले काम गर्ने र सँगै सामाजिक काम पनि गर्ने उनको भनाइ छ ।

समाजप्रति जवाफदेही छौं भन्नका लागि पनि खर्चआम्दानी विवरण सार्वजनिक गरेको केसीले बताए । ‘हामीले प्रतियोगिता आयोजना गर्नुअघि नै पत्रकार सम्मेलनमार्फत एक साताभित्र खर्च सार्वजनिक गर्ने भनेका थियौँ । तर, केही कारणवस केही दिन ढिला भयो, हामी समाजप्रति जवाफदेही छौँ भन्नका लागि पनि खर्च विवरण सार्वजनिक गरेका हौं ।’

कोसी प्रदेशका आठ वटा टिम सहभागी रहेको सो प्रतियोगिता अवधिभर करिब २० हजार दर्शक सहभागी रहेको केसीले बताए । उनका अनुसार फाइनलको दिन मात्र चार हजार भन्दा बढी दर्शक उपस्थित थिए । गत माघ २० मा भएको फाइनल खेलमा सिधुँवा सिंहदेवी फुटबल क्लब धनुकटालाई ४–१ गोल अन्तरले पराजित गर्दै भगिमान तुम्बाहाम्फे फुटबल क्लब (बिटिएफसी) तेह्रथुमले उपाधि जितेको थियो ।