१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Sunday, 26 May, 2024
सुवास भट्ट काठमाडाैं
२o८१ जेठ १३ आइतबार o६:o६:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

नेपालमै छाप्न थालियो हुलाक टिकट

०१६ देखि रोकिएको हुलाक टिकट छपाइ ६४ वर्षपछि पहिलोपटक नेपालमा छाप्न थालिएको छ

Read Time : > 1 मिनेट
सुवास भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार o६:o६:oo

नेपालमै पुनः हुलाक टिकट छपाइ भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडसँगको समन्वयमा हुलाक सेवा विभागले टिकट छपाइ गरेको हो । शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालयमा आयोजित कार्यक्रममा ११ अलग–अलग डिजाइनका हुलाक टिकटमा टाँचा लगाएर उद्घाटन गरिन् । ०१६ पछि पहिलोपटक नेपालमा हुलाक टिकट छाप्न थालिएको विभागले बताएको छ । 

विगतमा भारत, बंगलादेश र लातभियासँग टिकट खरिद गरिँदै आएको थियो । नेपालमै छपाइ सुरु भएपछि अब समय, लागत र प्रक्रियामा सहज हुने विश्वास विभागको छ । टिकटका लागि विदेश जानुपर्ने समय, खर्च, प्रक्रिया र मिहिनेतको बचत भएको विभागले जनाएको छ । 

हाललाई एक करोडभन्दा केही बढी टिकट छापिएको छ : प्रदीपराज अधिकारी, महानिर्देशक, हुलाक सेवा विभाग

हुलाक टिकट नेपालमै छाप्ने काम सुरु भएको छ । आगामी दिनमा पनि यसले निरन्तरता पाउँछ । जनक शिक्षा सामग्री लिमिटेडसँगको समन्वयमा हाललाई एक करोडभन्दा केही बढी टिकट छापिएको छ । यसले १० करोड रुपैयाँ हाराहारीमा राजस्वमा योगदान पुग्ने विश्वास छ । 

विभागका महानिर्देशक प्रदीपराज अधिकारीले हाललाई एक करोडभन्दा केही बढी थान टिकट छापिएको बताए । उनका अनुसार एक करोड २५ लाख रुपैयाँ बजेटमा जनक शिक्षाले टिकट छापेको हो । जनक शिक्षाले प्रतिटिकट ९५ पैसामा छापेको उनले बताए । ‘यो विगतको भन्दा लागत प्रभावी छ,’ उनले भने । विगत तीन वर्षदेखि हुलाक टिकट छापिएको थिएन । ‘हुलाक टिकट नेपालमै छाप्ने काम सुरु भएको छ,’ उनले भने, ‘आगामी दिनमा पनि यसले निरन्तरता पाउँछ ।’ 

अहिले विभिन्न ११ वटा डिजाइनमा हुलाक टिकट छापिएको छ । त्यसमा सहिद रामवृक्ष यादव, वाम आन्दोलनकी नेत्री साहना प्रधान, साहित्यिक व्यक्तित्व तथा राजनीतिज्ञ नेत्रलाल पौडेल ‘अभागी’, प्रजातान्त्रिक आन्दोलनका योद्धा कामी बुढा र नइ प्रकाशनको रजत महोत्सव, बाला त्रिपुरासुन्दरी देवी मन्दिर, औषधीय गुण भएका मरौठीसहित पाँच प्रकारका जडीबुटी अंकित छन् । 

हुलाक टिकटमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पहिचान बन्ने र आम्दानी पनि हुने विभाग बताउँछ । महानिर्देशक अधिकारीका अनुसार यसले सरकारी राजस्वमा पनि योगदान पुग्नेछ । एक करोडको हुलाक टिकट छाप्दा त्यसले राजस्वमा १० करोड रुपैयाँ हाराहारीको योगदान पुग्ने उनी बताउँछन् । 

हुलाक टिकटलाई थप व्यवस्थित र विस्तार गर्न आय टिकट दस्तुर ऐन र हुलाक ऐनमा संशोधन गर्नुपर्ने आवश्यकता रहेको महानिर्देशक अधिकारीले बताए । 

सरकारी र औपचारिक कागजातमा हुलाक टिकटको प्रयोग गरिँदै आएको छ । सामान पठाउँदा यसले रसिदको काम गर्छ भने हुलाक टिकट नटाँसेको लेनदेन लिखतलाई वैधानिक मानिँदैन । गत वर्षको हुलाक सेवा शुल्कको आम्दानी ३५ करोड रुपैयाँ छ । चालू आवको ६ महिनामा गत आवको सोही अवधिको तुलनामा २० प्रतिशत वृद्धि देखिएको छ । यो टिकटविना हुँदैन । 

०१६ देखि रोकिएको हुलाक टिकट छपाइ ६४ वर्षपछि पहिलोपटक नेपालमा छाप्न थालिएको विभागले जनाएको छ । पहिलोपटक प्रचलनमा ल्याइएको हुलाक टिकट नेपालमै छापिएको थियो । १९३८ सालमा खुकुरी चिह्न अंकित हुलाक टिकट छापिएको थियो । 

सरकारी चिठीपत्र र कागजात हुलाकमार्फत पठाउने व्यवस्था सुनिश्चित गर्ने निर्णय केही समयअघि सरकारले गरिसकेको छ । मन्त्रालय, निकाय तथा कार्यालयहरूले आ–आफ्नो प्रशासन महाशाखा–शाखालाई हुलाक सेवाको प्रयोग गर्न निर्देशन दिने निर्णय गत १ असोजमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गरेको थियो । 

हाल सरकारले हुलाक सेवा विभागको पुनर्संरचना पनि अघि बढाएको छ । हुलाक सेवाको विस्तार गर्दै सेवाग्राहीमा यसको प्रभावकारिता अभिवृद्धि गर्ने गरी विभागले काम गरिरहेको महानिर्देशक अधिकारीले बताए । 
 

ad
ad