१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
श्रीकृष्ण धिमाल
२०८० फाल्गुण ३ बिहीबार १५:००:००
Read Time : > 6 मिनेट
ब्लग डिजिटल संस्करण

सम्झनामा नेपाली भाषाका प्रथम खण्डकाव्यकारको जन्मदिन

Read Time : > 6 मिनेट
श्रीकृष्ण धिमाल
२०८० फाल्गुण ३ बिहीबार १५:००:००

मेरो विज्ञता इतिहास शिरोमणि बाबुराम आचार्यको लेखप्रति औँलो उठाउनु  होइन र छैन  पनि । नेपाली इतिहास  र  साहित्यलेखन र सोधसम्बन्धी लेखिएका पुस्तकको अध्ययन गर्दै जाँदा  इतिहास शिरोमणि बाबुराम आचार्यले उतिवेला लेख्नुभएको ‘पुराना कवि र कविताहरू’ पुस्तकमा वसन्त शर्मा जैसीबारे अञ्जानवश उनी भक्तपुरमा जन्मिएका हुन् भनेर जुन तर्क गरिएको छ, त्यो सरासर गलत छ। हो, उत्तर धौउपुर ग्राम निवासी र श्रीब्रमायणी मन्दिरलाई रचना अर्पण गरेकोबारे भक्तपुरमा ब्रह्मायणी मन्दिर भए पनि भादगाउँ आजको भक्तपुरबाट उत्तर धौउपुर ग्राम भनेको  वर्तमानमा मण्डनदेउपुर नगरपालिकामा  पर्छ। लिच्छविकालीन श्रीब्रह्मायणी माईको मन्दिर त्यहीँ रहनु इन्द्रावती नदी देउपुरवेसी हुँदै बग्नु संयोग मात्र होइन। 

‘वसन्त शर्मा’ (वि.सं. १८५२–१९४८) नेपाली कवि थिए। बागमती अञ्चलको पूर्व १ नं अन्तर्गत काभ्रेपलाञ्चोक द्यौपुर गाउँ (हालको मण्डनदेउपुर नगरपालिका)मा जन्मेका थिए भन्ने कुरा उनकै लेखाइले पुष्टि गरेको छ। लोकलयमा चिन्तनमूलक काव्य लेखेर होस् कि कृष्णचरित्रमा आधारित खण्डकाव्य लेखेर होस्, उनले नेपाली भाषाको सेवामा योगदान गरे। 

इतिहास शिरोमणि बाबुराम आचार्यले पुराना कवि र कवितामा उनका बारेमा प्रशस्त वर्णन गरेका छन्। त्यसपछि वरिष्ठ साहित्यकार कृष्णप्रसाद पराजुलीले पनि यसबारेमा उल्लेख गरिसकेको भए पनि थप खोज र अनुसन्धान भने बाँकी नै छ।

काभ्रेपलाञ्चाेकको मण्डनदेउपुरले नचिनेको नेपाल राष्ट्रको सम्पदा वा सम्पत्ति नेपालका आदिकवि भानुभक्तभन्दा पनि पुराना कवि वसन्त शर्मा जैसी। उनले श्रीकृष्णचरित्रको रचना गरे, ती व्यक्ति ब्रह्मायणीको काख देउपुर ग्राममा नै जन्मिएका हुन्। जसको रचना महाकवि, आदिकवि, राष्ट्रकवि, युगकविभन्दा पनि शक्तिशाली हो भन्ने प्रमाण उनको ब्रह्मायणी र इन्द्रावती रचनाले प्रस्ट पारेको छ।
देउपुरमा वि.सं. १८५२ मा जन्मिएका भानुभक्तभन्दा अगाडिका कवि वसन्त शर्मा जैसीको रचना :

उत्तर द्दौपुर ग्रामनिवासी ! वसन्त कवि हुँ ब्राह्मण जैसी !! 
सूक्ष्म रूपले ज्ञान बताञा !
सज्जनका सारी दिञा !! (समुन्द्रलहरी, श्लोक ९३, रचनाकाल– विसं १८७६) 

यिनले लेखेको श्रीकृष्णचरित्र देउपुर ब्रह्मायणीलाई अर्पण गरेको हुनाले पनि निम्नलिखित तथ्यको आधारमा वसन्त शर्मा ‘जैसी’ काभ्रेपलाञ्चाेकस्थित हालको मण्डनदेउपुरमै जन्मिएको प्रस्ट हुन आउँछ।

पश्चिम बागमती पवित्र यमुना, पूर्वै दिशा कौशिकी !
दक्षिण् चन्द्रगिरी हिमालयमहाँ औतार लिया हरि !! 
उत्तर्हेमगिरी त पर्वत बन्यो उत्पन्न इन्द्रावती !
श्रीब्रह्मायणी माईका शरणमा श्री कृष्णलीला इति !!
(श्रीकृष्णचरित्र, उत्तरार्ध श्लोक १६५, रचनाकाल– विसं १८८२) 

अन्वेषणका क्रममा भेटिएको विराटपर्व (१८९४) पनि यिनैले लेखेको हुन सक्ने यथेष्ट आधार भेटिएको छ।

त्यहाँका जनप्रतिनिधिहरूले चाहे भने काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाले चाह्यो भने मण्डनदेउपुर नेपालको सबैभन्दा ठूलो साहित्यिक पर्यटनस्थल बन्न सक्नेछ। यहाँ  चासो कसलाई  छ ? आफू बन्नु छ, आफू रमाउनु छ, आफूले कमाउनु छ। आज पूर्वजको इतिहास संरक्षण  गर्न नसक्नेहरूले  आफ्नो इतिहास कसरी लेख्लान् ?

त्यसका लागि पहिले त त्यस नगरपालिकाले आफ्नो क्षेत्रको राष्ट्रिय गौरव चिन्नुपर्छ। गौरवलाई प्रकाशमा ल्यायो भने संसारभरिका नेपाली भाषाका साहित्यकार र अन्वेषक त्यहाँ पुग्नेछन्।

वसन्त शर्मा नेपालका प्रथम कवि, प्रथम खण्डकाव्यकार, नेपाली लोकलयका प्रथम लेखक श्रीकृष्ण चरित्र, समुन्द्र लहरी, चरीको सवाई, मात्र होइन  विराटपर्व, महाभारत, भागवत कथाका लेखक र अनुवादक हुन् भन्ने कुरा स्थापित भएमा उनी भानुभक्त आचार्यभन्दा अघिका कविमा दरिनेछन्। उनको जन्म वि.सं. १८५२ वसन्तपञ्चमीको दिन काभ्रेपलाञ्चाेकको धौउपुरमा भएको थियो। 

भानुभक्तको जन्म हुँदा शर्माले नेपाली साहित्यका श्रीकृष्ण चरित्र र समुन्द्र लहरीको रचना गरिसकेको देखिन्छ। विगतमा काभ्रेपलाञ्चाेकको मण्डनदेउपुरमा उनको विशेषतासँग परिचित प्रभावशाली मान्छे नभएकाले उनी पछाडि परेका हुन्। 

मण्डन देउपुर नगरपालिकाले उनको स्मृतिमा अनुसन्धानात्मक पुस्तक छपाउने, सालिक राख्ने र साहित्यिक पुरस्कार स्थापना गर्ने हो भने मण्डन देउपुर तनहूँको चुँदी रम्घा भन्दा ठूलो साहित्यिक केन्द्र हुनेछ।

नेपाली साहित्यको प्राथमिककाललाई पनि चरणगत दृष्टिले पहिलो, दोस्रो र तेस्रो चरण मानिएको छ। पहिलो चरण वीर भावनामा केन्द्रित रहेको देखाइएको छ भने दोस्रो चरण सगुण ईश्वरभक्ति प्रस्तुत गर्ने तथा तेस्रो ईश्वर भक्तिको निर्गुण स्वरूप प्रतिपादन गर्ने चरण।

जसअनुसार सगुण ईश्वर भक्तिको चरण कविताका सन्दर्भमा राम र कृष्णभक्ति परम्परामा केन्द्रित रहेको वैष्णभक्ति सम्प्रदायको प्रभाव नेपाली भक्तिसमाजमा देखापर्दा रामभक्ति र कृष्णभक्ति कविताका सन्दर्भमा लगभग एकै समयमा आरम्भ भएर विकसित भएको देखिन्छ।

साहित्यकार वसन्त शर्माले ‘महाभारत’ स्रोतमा आधारित भएर रचना गरेका छन्। मिति स्पष्ट उल्लेख नभएको, तर भाव मिल्ने ‘युगलगीत’ शीर्षकको गोपिकास्तुति पनि उल्लेख्य सामग्री बनेर उपस्थित भएको छ। ‘महाभारत’को नेपाली रचनापश्चात काव्य–कविता निर्माण गर्ने उच्च पुरुष यस समयका निम्ति वसन्त शर्मा (आचार्य २३) पनि उल्लेख्य व्यक्तित्व हुन्।

उनको ‘कृष्णचरित्र’ नामक काव्य उदाहरणीय कृति साबित भएको छ। शार्दूलविक्रीडित वर्णमात्रिक छन्दमा सरल ढंगले प्रवाहित बनेको काव्यस्तरको कृति ‘कृष्णचरित्र’ लेखेर काव्यात्मक उच्चता प्रदान गर्ने वसन्त शर्मा नेपाली कृष्णभक्ति साहित्यका विशिष्ट महान् व्यक्तित्व हुन्।

प्राथमिक काल कृष्णभक्ति साहित्यकै वरिपरि अवस्थित बनेको छ। उनले नेपाली कवितामा ‘महाभारत’ स्रोतको उपयोग गरेका थिए भन्ने कुरा ‘कृष्णचरित्र’ शीर्षकमा तयार गरिएको काव्यकृतिले पुष्टि गर्दछ र यसको रचनाकाल १८८२ वि.सं.को आसपास थियो भन्ने कुरा (बन्धु १८४)को पुष्टि मिल्छ। त्यस्तै नेपाली साहित्यको प्रथम खण्डकाव्य बनेको समुन्द्र लहरी पनि वसन्त शर्माको महान् र नेपाली साहित्यको सर्वोत्कृष्ट रचना हो।

वसन्त शर्माको जन्म वि.सं. १८५२ मा भएको हो। यिनको मृत्यु वि.सं. १९४८ मा भएको थियो। नेपाली कविताको प्राथमिक कालकाे उत्तरार्द्धमा विकसित भक्तिधाराका सशक्त कविका रूपमा परिचित छन्। यिनले ‘श्रीकृष्ण चरित्र’ (१८८४), समुन्द्रलहरी (१९०१)को रचना गरेका छन्। यिनको ‘श्रीकृष्ण चरित्र’ भक्तिमूलक काव्य हो। यो शार्दूलविक्रीडित छन्दमा १६९ श्लोकमा चरिएको छ। यिनको समुन्द्रलहरी सवाई छन्दमा लेखिएको सवाई काव्य हो। यिनले आफ्ना रचनामा स्वयम् जे–जति परिचय दिएका छन्, त्यसभन्दा बढी थाहा पाउन सकिएको छैन। यिनले आफूलाई भादगाउँदेखि उत्तर पर्ने धौपुर गाउँका निवासी जातले बाहुन जैसी र परमानन्दका छोरा बताएका छन् ।

(३१. डा. केशवप्रसाद उपाध्याय, पृ. १४५, पूर्ववत्।
३२. डा. दयाराम श्रेष्ठ र मोहनराज शर्मा, पृ. ३६, पूर्ववत्।)

श्रीकृष्ण चरित्रमा नेपाली भाषा र वातावरणको अदभूत त्रिवेणी पाइन्छ । संक्षिप्त र सरल जनभाषा र वार्णिक छन्द प्रयोग उनको कृष्ण चरित्रको वैशिष्ठ्य हो।
प्राथमिककालीन कृष्णभक्तिको परम्परा कृष्णभक्तिको भावनालाई स्पष्ट स्वर र अत्यन्त रसिलो ढंगले अभिव्यक्ति दिने व्यक्ति वसन्त शर्मा नै हुन्। 

उनको ‘कृष्णचरित्र’ शार्दूलविक्रीडित छन्दमा लेखिएको छ। कृष्णको जन्मदेखि यसको कथाको थालनी भएको छ। यसको आधारग्रन्थ भागवत हो। दुई खण्डमा विभाजित यसको पूर्वार्द्धमा ८७ श्लोक र उत्तरार्द्धमा ८२ श्लोक छन्। समाज हितका उद्देश्यले रचना गरिएको यस खण्डकाव्यको पूर्वार्द्धमा श्रीकृष्णका जीवनका पूर्वार्द्धका घटनाहरूलाई वर्णन गर्ने क्रममा कंशका कठोर कारागारमा कृष्णको जन्म, कृष्ण जन्मनेबित्तिकै बन्दीखानाका पालेपहरा मूर्छित भएको ढोकाहरू आफैँ खोलेका अनि नवजात शिशु कृष्णलाई बोकेर वसुदेवले हात्ती, सिंह र सर्पको पहराबाट उम्केर यमुना नदीलाई पारगरी गोकुल पुर्‍याएको र त्यहाँबाट मायादेवीलाई मथुरामा ल्याएको घटना वर्णन छ।

त्यसपछि बालिका जन्मेको सूचनापछि कंशले बालिका वधको प्रयत्न गर्छ। तर, उक्त बालिका मायाले उसबाट मुक्त भई उसको वध गर्ने बालक गोकुलमा जन्मेको आकाशवाणी छ। अनि कंशले गोकुलका सबै बालक मार्न लगाएको प्रसंग पनि छ । कालीनागको वध, ऋषिपत्नीहरूलाई सम्मोहित गरेर यज्ञबाट भगाउनु, गोपिनीहरूका वस्त्र हरण, कंशवध, वसुदेव देवकीलगायतका बन्दीको मुक्ति आदि घटना शृंखला वा कथावृत्त पूर्वार्द्धअन्तर्गत वर्णित छन् । कथाको यो दीर्घवृत्त अर्थात् घटना बाहुल्यका सापेक्षतामा वर्णन शैली संक्षिप्त र खण्डकाव्यको आयाम लघु मान्नुपर्ने हुन्छ । त्यति भए पनि घटना स्पष्टै छन्। यहाँ श्रीकृष्णको व्यक्तित्वलाई अलौकिक र रहस्यमय अर्थात दिव्यलीलायुद्ध अलौकिक व्यक्तित्वका रूपमा प्रस्तुत गरिएको छ।

उत्तरार्द्धमा कंशका ससुरा जरासन्धको वध, भष्मासुर वध, शिशुपाल हत्या, इन्द्रप्रस्थमा पाण्डव कौरव जुवा भएको, द्रौपदी चीरहरण, पाण्डव बनारस, महाभारत युद्ध र पाण्डव दाह, वाणासुरका हात काट्नु, कृष्णको स्वार्गारोहण आदि घटना छन्। श्रीमदभागवत्का कतिपय कथालाई शर्माले ठाउँठाउँमा केही संशोधन गरेका छन् र कृष्णचरित्र एवं कृष्णभक्तिद्वारा नेपाली जनमानसलाई आप्लावित गरेका छन्। असुर दमन र त्यस क्रममा असत्यमाथि सत्यको विजयको प्रस्तुतीकरणलाई अभीष्ट बनाइएको छ । कंश वधपूर्व कंशद्वारा राज्य र ज्यान रक्षाको याचना गरेका, तर कृष्णले क्षमादान नदिएको देखाइएको छ, जसले वंशको सबल खलनायक व्यक्तित्व र कृष्णको नायक व्यक्तित्वमा क्षमाशीलताको अभावजस्ता कुरा खट्किन्छन्।

भाषा प्रयोगमा पनि यसमा केही नेपालीपन वा निजत्व देखापर्दछ । यसै क्रममा यहाँ यशोदालाई जसुद्धा तथा जसुमती, कंशलाई कंगाल, वृहन्नलालाई वृण्डाला पारिएको छ । यसमा नेपाली समाजका रीतिथिति, मान्यता, विश्वास, चालचलनसमेतको वर्णन गरिएको छ  (३३. कृष्णविलास पौड्याल, नेपाली साहित्यको ऐतिहासिक परिचय र समालोचना, पृ. ९२, नवीन प्रकाशन, २०६०) ।

कृष्णलाई डोकामा हाल्नु, उनको सातो जानु, न्वारानमा नौमती बाजा बजाउनु, साइत गरेर हिँड्नु, केटी माग्नुजस्ता मौलिक नेपाली संस्कृति र परम्पराको चित्र यहाँ उतारिएको छ । प्रतिभाशाली कवि शर्माका सरस छन्दमय कवितायुक्त यस कृष्णचरित्रका विषयमा गोपाल भण्डारीले प्रागभानुभक्तीय नेपाली काव्यमा अझ बढी चर्चा गरेका छन् । शार्दूलविक्रीडित छन्दमा रचित पूर्वार्द्धको सुरुमा जन्मदादेखि नै हातमा शंख, चक्र, गदा र पद्म लिएका चार हातयुक्त कृष्ण जन्मको वर्णन वसन्त शर्माले यसरी गरेका छन्ः 

कोही एक्मथुरापरी, नगरिमा श्रीकृष्ण औतार भया ।
शङ्खै चक्र, गदा, पद्म, भुजविषे पाऊ कमल झै थिए ।
नीधारमा मणिका मुकुटकन जडीचक्रे सुदर्शन लिया ।
देख्या श्री वसुदेवले चतुरभुज सम्पूर्ण दर्शन दिया ।। 

यसप्रकार सरल, सहज र आलंकारिक ढंगमा रचिएको वसन्त शर्माको कृष्णचरित्र प्राथमिककालीन कृष्णभक्ति धाराको एक प्रभवोत्पादक कृति हो । यो जनमानसमा लोकप्रिय भएको छ । काभ्रेपलाञ्चाेक जिल्लाको मण्डन देउपुर नगरपालिका र पाँचखाल नगरपालिकामा आज पनि कृष्णचरित्र श्लोकको रूपमा गाइने गरिन्छ  नेपालमा संवत् यही पलाञ्चाेक क्षेत्रमा मात्र श्लोक गाउने  परम्परा जीवित छ।

यिनले जत्तिको नेपाली भाषाको प्रयोग ज्यादा गरेका छन् उत्तिकै ज्यादा प्रयोग गरी कविता लेख्न अचेलका कविहरूलाई कठिन पर्दछ। संस्कृत शब्दको प्रयोग कम भएको हुनाले साधारण पाठकलाई बुझ्न सजिलो भएको छ। यसैकारणले साधारण नेपाली पढ्नसम्म सक्ने जनसमुदायमा यसको निकै प्रचार छ। यिनले
शार्दूलविक्रीडित छन्दको प्रयोग गरेका छन्। हुन त यीभन्दा पहिले बनेका ‘जसले सातु गर्‍याे मकैकन पिँधी’ इत्यादि पद्य  पनि यसै छन्दमा लेखिएको हुनाले यो छन्द व्यवहार गर्ने पहिला कवि यी होइनन्।

चलिआएका परम्पराअनुसार छन्द व्यवहार गरेको देखिन्छ । तर, समग्र श्रीकृष्णचरित्रमा यो छन्द व्यवहार गरेका र पछिका भानुभक्त आदि र मोतीराम कविले पनि यिनको अनुकरण गरी ज्यादा पद्य यसै छन्दमा लेखेका हुनाले यस छन्दलाई नेपाली छन्द भने पनि हुने भएको छ। यसरी एक नेपाली छन्द बनाउनमा यी वसन्त कविले मुख्य भाग लिएका हुनाले यस विषयमा यिनको नाम चिरष्मरणीय भएको छ। (३४. डा. रामनाथ ओझा र मधुसुदन गिरी, पृ. १८०, पूर्ववत्।
३५. बाबुराम आचार्य, पृ. ३०, पूर्ववत्।)

कवि वसन्त शर्माका श्रीकृष्णचरित्रमा काव्यगत त्रुटि छन् जसलाई यसरी टुंगाे लगाउन सकिन्छ–
(क) रामैराम भजिहरि चलिगया चोला त ताही रह्या ।
पुनसका तपको फलै हुन गई श्रीकृष्ण स्वर्गै गया ।।
आठ औतार हरिका व्यतित हुन गया बौद्ध कलंकी रहया ।
चाडै नै हरिद्वारदेखि ती पनि वैकुण्ठमा गैया ।। (६२ उत्तरार्ध)
(पुराना कवि र कविताबाट साभार)

(ख) ‘बालकलाई नमार’ देवकिजिले बिन्ती गरिथिन्जसै ।
राता नेत्र गरेर कंश रिसले दीएन उत्तर तसै ।।
मयाका वशमा जफत गरिलियो मार्छु अवश्यै भनी ।
ढोका खोलि निकाल्दा गजबको हा हा पर्‍याे तैपनि ।। (६ पूर्वार्द्ध)
(पुराना कवि र कविताबाट साभार)

(ग) राजा कंश मर्‍याे जिमिन तल पर्‍याे मुर्दा भइ तेर्सियो
तेस्को प्राण हरण हुँदा मुलुकमा वाजित्र मंगल भयो ।
शत्रु कृष्णजिको मर्‍याे र बरिया कीर्ति रह्यो लोकमा ।
ताहाँका दुनिया सब खुशि भया दर्शन हुँदा मोजमा ।। (८५ पूर्वार्द्ध)
(पुराना कवि र कविताबाट साभार)

अन्तमा...
काभ्रेपलाञ्चाेकमा ‘मै खाउँ मै लाउँ, सुख सयल मोज मस्ती म गरौँ’ भन्नेहरूका  कारण नेपाली साहित्यमा कृष्ण भक्तिधारा भित्र्याउने एउटा महान् सपुत जसले नेपाली भाषालाई जीवन्त बनायो, आज उहाँको जन्मदिनमा महान् साहित्यकार वसन्त शर्मा जैसीप्रति श्रद्धासुमन।