गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठक सोमबार बागलुङको पञ्चकोटमा सम्पन्न भएको छ। प्रदेश सरकारले पहिलोपटक मन्त्रिपरिषद्को कार्यालयभन्दा बाहिर बैठक गरेको हो।
बागलुङ नगरपालिकाको पञ्चकोटमा रहेको धार्मिक पर्यटनको रूपमा विकसित भएको सर्वसिद्धिधाम पञ्चकोटमा मन्त्रिपरिषद्को बैठक राखिएको हो।
प्रदेशभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक, पर्यटकीय स्थलको प्रवर्द्धनका लागि प्रदेशका विभिन्न ठाउँमा मन्त्रिपरिषद्को बैठक गर्ने योजनाअनुसार सोमबार पञ्चकोटमा बैठक बसेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए।
पञ्चकोटमा आगामी फागुन ९ देखि २३ गतेसम्म ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ २०८०’ पनि आयोजना हुँदै छ । महायज्ञको प्रचारप्रसार तथा सहयोगका लागि मन्त्रिपरिषद् बैठक महायज्ञ स्थलमै पुगेर बसेको थियो।
सोमबारको मन्त्रिपरिषद्को वैठकमा आठवटा विषयमा छलफल तथा निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
बैठकमा प्रदेश सरकारले पञ्चकोटमा आयोजना हुने ब्रम्हाण्डीय महायज्ञलाई सहयोग गर्ने र सहयोगको आह्वान गर्नेसमेत निर्णय गरेको छ। बैठकले सबै क्षेत्रमा सहयोगका लागि आह्वान गर्ने निर्णय भएको बैठकपछि पत्रकारसँग जानकारी दिँदै सरकारका ऊर्जा जलस्राेत तथा खानेपानीमन्त्री तथा सरकारकी प्रवक्ता सरस्वती अर्याल तिवारीले जानकारी दिइन्।
पञ्चकोटमा एक सय आठ फिट अग्लो कलश निर्माणसहित धार्मिक महत्वका क्रियाकलाप र संरचना निर्माणका लागि महायज्ञ लगाइँदै छ। त्यसका लागि विशेष सहयोग गर्ने र सबैलाई सहयोगका लागि आह्वान गर्नेसमेत बैठकले निर्णय गरेको हो।
बैठकले मनाङको नासो गाउँपालिकाको वडा सिमाना संशोधनका लागि संघ सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ भने क्यान्सर र ब्रेन ट्युमर भएका ७० जना बिरामीका लागि विशेष आर्थिक सहयोग गर्ने निर्णयसमेत गरेको हो।
प्रदेश निजामती सेवा पुरस्कार सिफारिस समितिलाई पूर्णता दिने, समपूरक तथा विशेष अनुदानअन्तर्गत आठवटा आयोजना सञ्चालन गर्न नेपाल सरकारमार्फत राष्ट्रिय योजना आयोगमा अनुरोध गर्नेसमेत बैठकले निर्णय गरेको मन्त्री तिवारीले जानकारी दिइन्।
गण्डकी प्रदेश आन्तरिक लेखा परीक्षण निर्देशिका, २०८० स्वीकृत गर्ने, साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक तुर्जमाका लागि सैद्धान्तिक स्वीकृति दिने, गण्डकी प्रदेश प्राइभेट फर्म दर्ता ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक, २०८० गण्डकी प्रदेश सभामा पेस गर्ने निर्णयसमेत गरेको हो।
गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० लाई पनि प्रदेश सभामा पेस गर्न स्वीकृति दिने निर्णय गरेका प्रवक्ता तथा मन्त्री तिवारीले जानकारी दिइन्।
प्रदेश सरकारले पर्यटन प्रवर्द्धनका निम्ति मुख्य मुख्य ठाउँमा पुगेर आगामी दिनमा पनि मन्त्रिपरिषद्को बैठक बस्ने मुख्यमन्त्री पाण्डेले बताए। ‘पञ्चकोटको पर्यटन प्रवर्द्धनमा मद्दत पुगोस् भन्ने प्रदेश सरकारको अपेक्षा छ, धार्मिक तथा पर्यटकीय ठाउँहरूको विकास, प्रचारप्रसार गर्नु छ, गण्डकी प्रदेशमा धार्मिक तथा पर्यटकीय गन्तव्य धेरै भएको र यी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढाउनका निम्ति प्रदेश सरकार गम्भीर भई लागेको छ,’ उनले भने।
बागलुङ नगरपालिका– ६ को पञ्चकोटमा मुख्यमन्त्रीसहित मन्त्रीहरूलाई महायज्ञका अगुवा कमल नयनाचार्यले स्वागतसमेत गरेका थिए।