मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २९ सोमबार
  • Thursday, 19 December, 2024
अजित अधिकारी काठमाडाैं
२o८o माघ २९ सोमबार o८:५६:oo
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

पूर्व र पश्चिम क्षेत्रका उद्योगहरूमा दैनिक ८ देखि १२ घण्टासम्म विद्युत् कटौती

Read Time : > 3 मिनेट
अजित अधिकारी, काठमाडाैं
नयाँ पत्रिका
२o८o माघ २९ सोमबार o८:५६:oo

लोडसेडिङ अन्त्य भएको झन्डै ६ वर्ष हुँदा पनि हिउँदमा औद्योगिक क्षेत्रमा विद्युत् कटौती हुने समस्या हट्न सकेको छैन । नेपाल विद्युत् प्राधिकरणले अहिले पूर्व–पश्चिम क्षेत्रका उद्योगहरूमा दैनिक आठदेखि १२ घण्टासम्म औद्योगिक लोड कटौती गर्दैै आएको छ । 

प्राधिकरणले कात्तिक ०७३ मा घरायसी र ३१ वैशाख ०७५ मा औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य भएको घोषणा गरेको थियो । तर, पछिल्लो दुई–तीन वर्षयता हिउँदको पिक आवरमा उद्योगहरूमा विद्युत् कटौती गर्दै आएको छ । यो वर्ष पनि बिहान र बेलुकाको पिक आवरमा चार–चार घण्टा विद्युत् कटौती भइरहेको उद्योगीको गुनासो छ ।  

विराटनगर, वीरगन्ज, भैरहवालगायतका प्रमुख औद्योगिक क्षेत्रका उद्योगहरूमा यस्ता समस्या देखिएका छन् । कहिलेकाहीँ बिहान ७ देखि १२ बजेसम्म र साँझ पाँचदेखि ११–१२ सम्म विद्युत् कटौती हुने गरेको नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले बताए । ‘आठ घण्टा त नियमित नै विद्युत् कटौती भइरहेको छ,’ उनले भने, ‘कहिलेकाहीँ १२ घण्टासम्म विद्युत् कटौती हुने गरेको छ । आइतबार बिहान त सातदेखि १२ बजेसम्मनै विद्युत् कटौती भयो ।’

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि बिहान र साँझको पिक आवरमा चार–चार घण्टा औद्योगिक क्षेत्रमा विद्युत् कटौती गरेको स्वीकार गरे । ‘उद्योगहरूलाई पिक आवरमा लाइटिङ लोड उपलब्ध गराएका छौँ । औद्योगिक लोड भने उपलब्ध गराउन सकिएको छैन,’ उनले भने, ‘अहिले हिउँदका कारण विद्युत्को स्वदेशी उत्पादन घटेको छ । भारतबाट आयात गरेर आपूर्ति गर्न प्रसारणलाइन तथा सबस्टेसनको क्षमताले पुग्दैन । तसर्थ, पिक आवरमा विद्युत् कटौती गर्न बाध्य छौँ ।’

ढल्केबर–मुजफ्फरपुर (नेपाल–भारत) अन्तरदेशीय प्रसारणलाइनमार्फत विद्युत् आयात–निर्यात गर्न सकिन्छ । त्यसबाट आठ सय मेगावाट विद्युत् आयात–निर्यात गर्न भारतले स्वीकृति दिएको छ । तर, अहिले त्यहाँबाट पाँच सय मेगावाट हाराहारीमा मात्रै विद्युत् आयात भइरहेको छ । थप विद्युत् आयात गर्न ढल्केबरको सबस्टेसन तथा प्रसारणलाइनको क्षमता नधान्ने घिसिङको भनाइ छ ।

हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी डबल सर्किट प्रसारणलाइन नबनेसम्म उद्योगमा पर्याप्त मात्रामा विद्युत् आपूर्ति गर्न नसकिने उनले बताए । ‘अहिलको प्रसारणलाइनको क्षमताले आयातीत विद्युत्लाई पूर्वदेखि पश्चिमसम्म सप्लाई गर्न सक्दैन । त्यसका लागि यो प्रसारणलाइन बन्नैपर्छ, यो निर्माणको अन्तिम चरणमा छ,’ उनले भने, ‘यो बनेपछि समस्या समाधान हुन्छ ।’ पिक आवरमा स्वदेशी माग धान्न दुई हजार मेगावाट हाराहारीमा विद्युत् चाहिन्छ । हिउँदका कारण खोलामा पानीको बहाव घट्दा २९ सय मेगावाट जडित क्षमता भए पनि अहिले १२–१३ सय मेगावाट हाराहारीमा विद्युत् उत्पादन भइरहेको छ । त्यसबाहेक पिक आवरमा चार–पाँच सय मेगावाट हाराहारीमा मात्रै विद्युत् आयात गरिएको छ । यसरी स्वदेशी उत्पादन र आयातीत बिजुलीले माग धान्न नसकेको प्राधिकरणको भनाइ छ । पूर्ण रूपमा माग धान्न सात सय मेगावाटभन्दा बढी विद्युत् आयात गर्नुपर्ने देखिन्छ ।  

के भन्छन् उद्योगीहरू ?
नेपालमा अहिले आयोजनाबाट विद्युत् खरिद गरेर बिक्री गर्ने अधिकार सरकारी स्वामित्वको प्राधिकरणलाई मात्रै छ । विद्युत् व्यापारमा प्राधिकरणको एकाधिकार हँुदा आफूहरूले दुःख पाएको एक उद्योगीले बताए । साथै, प्राधिकरणले नाफा बढाउन पनि पर्याप्त मात्रामा विद्युत् आयात नगरेको उनीहरूको आरोप छ । अहिले उद्योग सञ्चालनका लागि राम्रो समय (सिजन) मानिन्छ । हिउँदका कारण अहिले सबै प्रकारका निर्माण गतिविधि बढ्दा सिमेन्ट, छड, डन्डीजस्ता निर्माण सामग्रीको खपत बढ्छ । त्यसकारण यो समयमा सिमेन्ट, डन्डी, छडजस्ता निर्माण सामग्री उत्पादन गर्ने उद्योग बढी चल्छन् ।

उद्योग–प्रतिष्ठानमा डिजेल प्रयोग बढ्न थाल्यो
लोडसेडिङ अन्त्यपछि डिजेल खपत हुने उद्योगको संख्या शून्यमा झरेको थियो । तर, पछिल्लो समय बिजुली आपूर्तिमा अनियमितता, फुल भोल्टेज नहुने र अघोषित लोडसेडिङका कारण केही उद्योगहरूले पुनः डिजेलको प्रयोग बढाएका छन् ।

डाबर नेपालको पर्सास्थित फ्याक्ट्रीले आयल निगमको मधेश प्रादेशिक कार्यालय, अमलेखगन्जबाट मासिक २० हजारदेखि ६० हजार लिटरसम्म डिजेल लैजाने गरेको छ । बिजुली आपूर्तिमा अनियमितता हुन थालेपछि जेनेरेटर चलाएर उद्योग नियमित रूपमा सञ्चालन गर्न थालेको उद्योगले जनाएको छ । डाबर नेपालले माघमा मात्रै ६० हजार लिटर डिजेल खरिद गरी लगेको निगमको अमलेखगन्ज कार्यालयले जनाएको छ । ठूलो परिमाणको इन्धन उद्योगका उत्पादनहरू ढुवानीका लागि समेत खपत हुन्छ । 

लोडसेडिङका वेला जेनेरेटरबाट विद्युत् उत्पादन गरेर उद्योग सञ्चालन गरेको नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले बताए । ‘यसै पनि आर्थिक शिथिलताका कारण उद्योगहरू कम क्षमतामा चलेका छन् । तसर्थ, अहिले उद्योग बन्द नै गर्ने अवस्था छैन,’ उनले भने, ‘तसर्थ, अहिले डिजेलबाट भए पनि उद्योग सञ्चालन गरेका छौँ । यसले हाम्रो लागतसमेत बढाएको छ ।’ एक लिटर डिजेलले साढे तीन युनिटसम्म विद्युत् उत्पादन गर्न सकिन्छ । अहिले तराई क्षेत्रमा डिजेलको मूल्य १५५.५ रुपैयाँ प्रतिलिटर छ । त्यसअनुसार एक युनिट बिजुलीको लागत झन्डै ४४.४२ रुपैयाँ पर्ने देखिन्छ । तर, प्राधिकरणबाट प्रतियुनिट अधिकतम ११ रुपैयाँमा बिजुली पाइन्छ ।

त्यस्तै, हेटौँडा सिमेन्ट उद्योगले मासिक नियमित रूपमा १२ हजार लिटर डिजेल खरिद हुने महाप्रबन्धक वसन्त पाण्डेले जानकारी दिए । तर, उक्त डिजेल बिजुली आपूर्तिका लागि भने प्रयोग नहुने उनको भनाइ छ । ‘उद्योगमा बिजुलीका लागि डिजेलको प्रयोग गरेका छैनौँ । मेसिनरी मर्मत, सवारीसाधनलगायतमा खपत हुन्छ,’ उनले भने ।

काठमाडौंको बालाजुस्थित दुग्ध विकास संस्थानको उद्योगले पुसमा मात्रै ६८ लाख ९१ हजारबराबरको ४३ हजार आठ सय ९५ लिटर डिजेल निगमको बागमती प्रादेशिक कार्यालय, थानकोटबाट खरिद गरी लगेको छ । बिजुलीको असमान वितरण भएका वेला डिजेल जेनसेट चलाएर उद्योग सञ्चालन गर्न तथा दूध ढुवानी गर्ने सवारीसाधनमा इन्धनबापत इन्धन प्रयोग गर्न आयल निगमबाट डिजेल खरिद गरेर ल्याउने गरेको संस्थानले जनाएको छ ।

शिवपुरी फ्रेस डेरीले पुसमा १८ हजार लिटर डिजेल खरिद गरी लगेको आयल निगमले जनाएको छ । शिवपुरी क्षेत्रमा बिजुलीको भोल्टेज कम हुने हुँदा उद्योगलाई चाहिने क्षमताको बिजुली अभाव हुने गरेको छ । त्यस्तै, पुसमा नेपाल एयरलाइन्सले ५४ हजार लिटर, काठमाडौंस्थित अमेरिकन दूतावासले ३५ हजार आठ सय ९६ लिटर, बुद्ध एयरले २७ हजार लिटर र ब्रिटिस गुर्खाज नेपालले १९ हजार नौ सय २९ लिटर डिजेल निगमबाट खरिद गरी लगेका छन् ।