देशभर रहेका चार लाख ९८ हजार ५८ वटा थोक तथा खुद्रा व्यापार गर्ने प्रतिष्ठानबाट ११ लाख ३० हजार ६ सय ४५ जनाले रोजगारी पाएका छन् । राष्ट्रिय तथ्यांक कार्यालयले ‘नेपाल व्यापार सर्वेक्षण, ०७८’ सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । सर्वेक्षणअनुसार थोक तथा खुद्रा क्षेत्र अझै पनि ‘पारिवारिक व्यवसाय’का रूपमै अघि बढेको छ ।
यो क्षेत्रमा तलब–भत्ता र अन्य सुविधा लिने कर्मचारीको तुलनामा परिवारका सदस्यहरूले कुनै सुविधा नलिई सञ्चालन गर्ने प्रवृत्ति चार गुणा बढी छ । थोक तथा खुद्रा व्यापार क्षेत्रमा तलब, ज्याला र अन्य सुविधा लिएर काम गर्नेको संख्या दुई लाख १९ हजार पाँच सय ५१ रहेको छ । जुन, कुल रोजगारी संख्याको १९.४२ प्रतिशत मात्रै हो । तलबी कामदार भएका व्यापारिक प्रतिष्ठानले तलब, ज्याला र अन्य सुविधामा प्रतिकामदार औसत वार्षिक दुई लाख आठ हजार चार सय ९४ रुपैयाँ खर्च गर्ने अध्ययनमा उल्लेख छ । सुविधा लिनेमा ४५ हजार नौजना महिला र एक लाख ७४ हजार पाँच सय ४२ पुरुष रहेका छन् ।
तथ्यांक कार्यालयले ०७५ मा गरेको राष्ट्रिय आर्थिक गणनामा सूचीकृत चार लाख ९८ हजार ५८ वटा थोक तथा खुद्रा व्यापार गर्ने फर्महरूको सूचीबाट १८ हजार फर्मलाई छनोट गरी योग्य ठहर्याएर अध्ययनमा समावेश गरेको थियो । त्यसमध्ये पनि १५ हजार दुई सय ९९ थोक तथा खुद्रा पसलबाट तथ्यांक संकलन गरिएको हो ।
६८ प्रतिशत पसल मात्रै दर्ता
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार थोक तथा खुद्रा क्षेत्रमा ६८ प्रतिशत मात्रै पसल दर्ता भई सञ्चालनमा रहेका छन् । बागमती प्रदेशमा सबैभन्दा धेरै ७५.३० प्रतिशत पसल दर्ता भएको र सबैभन्दा कम मधेश प्रदेशमा (५१.७७) प्रतिशत मात्रै दर्ता भई सञ्चालन रहेको अध्ययनले देखाएको छ ।
सर्वेक्षणअनुसार बागमती प्रदेशमा सबैभन्दा धेरै एक लाख ४४ हजार चार सय ४० वटा (२९ प्रतिशत) थोक तथा खुद्रा पसल छन् । त्यस्तै, कोशीमा ८९ हजार २३ (१७.७ प्रतिशत), लुम्बिनीमा ८३ हजार ६ सय ७२ (१६.८० प्रतिशत), मधेशमा ७४ हजार २ सय २२ (१४.९० प्रतिशत), गण्डकीमा ५० हजार पाँच सय ७५ (१०.१५ प्रतिशत), सुदूरपश्चिममा ३३ हजार तीन सय ९८ (६.७१ प्रतिशत) र कर्णालीमा २२ हजार सात सय २८ (४.५६ प्रतिशत) थोक तथा खुद्रा पसलहरू सञ्चालनमा छन् ।
तथ्यांकले सरकारलाई वाणिज्य नीतिमा सुधार गर्न सहयोग मिल्छ : डा. हेमराज रेग्मी, प्रवक्ता, राष्ट्रिय तथ्यांक कार्यालय
यस सर्वेक्षणले विभिन्न वस्तुहरूको खरिद तथा बिक्री गर्दा हुने व्यापार अन्तर अनुमान र व्यापारिक प्रतिष्ठानहरूको रोजगारी, तलब, ज्याला, पुँजी निर्माण आदि तथ्यांक आकलन गर्नु रहेको छ । यसबाट प्राप्त नतिजाहरूको विश्लेषणबाट व्यापार क्षेत्रमा रहेको विद्यमान अवस्थाको चित्रण हुन गई सरकारलाई वाणिज्य नीतिमा सामयिक सुधार र परिमार्जन गर्न वस्तुनिष्ठ आधार तयार हुने विश्वास छ ।