१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार २o:२४:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

मकवानपुर गोल्डकप : उपाधिका लागि एपिएफ - एनआरटी भिड्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २o:२४:oo

सर्लाहीको बागमती युवा क्लबलाई फराकिलो गोलअन्तरले पराजित गर्दै विभागीय टोली सशस्त्र प्रहरीको (एपिएफ) क्लब मकवानपुर गोल्डकपको उपाधिका लागि न्युरोड टिम (एनआरटी) सँग भिड्ने भएको छ।

बिहीबार हेटौँडामा भएको छैटौेँ स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा एपिएफले बागमतीमाथि ४–० को फराकिलो गोलअन्तरले हराउँदै उपाधि भिडन्त पक्का गरेको हो।

विभागीय टोली एपिएफलाई फाइनलमा पुर्‍याउन हेटौँडा स्थानीय अनिष महर्जन, प्रदीप लामा, सर्ज सङ र फोडे फोफनाले गोल गरे। पहिलो हाफमा एक गोलको अग्रता लिएको एपिएफले दोस्रो हाफमा थप तीन गोल गरेको हो।

आफ्नो घरेलु सहरमा उत्कृष्ट प्रदर्शन गरेका अनिष महर्जनले खेलको ४४औँ मिनेटमा टिमका लागि हेडमार्फत पहिलो गोल गरेका थिए। उनी नै खेलको म्यान अफ द म्याच घोषित भए। महर्जनले पुरस्कारस्वरूप नगद दश हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे।

यस्तै, खेलको ६०औँ मिनेटमा एपिएफका लागि प्रदीप लामाले दोस्रो गोल गरे। उनले पनि हेडमार्फत नै गोल गरेका थिए। बागमतीलाई पूर्णतः दबाबमा राखेको एपिएफका लागि तेस्रो र चौथो गोल विदेशी खेलाडीहरूले गरे। 

खेलको ८१औँ मिनेटमा विदेशी खेलाडी सर्ज सङले तेस्रो गोल गर्दा उनलाई फोडे फोफनाले गोलको अवसर सिर्जना गरेका थिए। फोफनाले उपलब्ध गराएको वान भर्सेस वानको अवस्थामा बललाई गोल पोस्टको दिशा दिएका थिए। यस्तै, फोफनाले भने दोस्रो हाफको अन्तिम मिनेटमा गोल गरे। 

खेल अवधिभर बागमती एपिएफको दबाबमा रहे पनि उसका खेलाडी सिर्जन गौतमले २२औँ मिनेटमा गोलको प्रयास गरेका थिए। तर, उनको प्रहार गोलपोस्टभन्दा माथिबाट बाहिरिएको थियो। 

यस्तै, ३३औँ मिनेटमा बागमतीका अभी लामाले एपिएफका गोलरक्षक लडेको अवस्थामा प्राप्त गरेको अवसर गुमाएका थिए। उनी खाली पोस्टमा गोल गर्नबाट चुकेका थिए। 

बागमतीका प्रशिक्षक सुनील श्रेष्ठले आफ्ना खेलाडीहरूले खेलको सुरुवातमा पाएको अवसरलाई गोलमा परिणत गर्न नसक्दा दबाबमा खेल्नुपरेको प्रतिक्रिया दिए। उनले प्राप्त अवसर सदुपयोग गर्न नसक्दा पराजित हुनुपरेको प्रशिक्षक श्रेष्ठको भनाइ थियो। 

यता, एपिएफका प्रशिक्षक सुमन श्रेष्ठले अघिल्ला खेलहरूमा जस्तै उच्च मनोबलका साथ मैदान छिरेका आफ्ना खेलाडीहरूले राम्रो प्रदर्शन गर्दा जित सम्भव भएको बताए। 

उनले खेलाडीहरूको हौसला उच्च रहे पनि केही सिनियर खेलाडीहरूको खेलबाट भने आफू सन्तुष्ट हुन नसकेको बताए। उपाधि जित्नका लागि सिनियर खेलाडीहरूको प्रदर्शन सुधारिनुपर्ने प्रशिक्षक श्रेष्ठको भनाइ थियो। 

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा १६ माघबाट सुरु भएको मकवानपुर गोल्डकपको फाइनल खेल शनिबार हुनेछ। प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख प्राप्त गर्नेछ। 

यस्तै, सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल प्राप्त गर्दा विधागत उत्कृष्ट खेलाडीहरूले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

ad
ad