Skip This
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चित 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २३ मंगलबार
  • Friday, 26 July, 2024
२o८o माघ २३ मंगलबार ११:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o माघ २३ मंगलबार ११:२५:oo

चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि बागमती प्रदेश सरकारले आवश्यक बजेटको स्रोत सुनिश्चितता गरेको छ।

प्रदेश सरकारको मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले रंगशाला निर्माणका लागि बजेटको स्रोत सुनिश्चितता गर्ने निर्णय गरेको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए।

प्रदेश सरकारले रंगशाला निर्माणका लागि ५२ करोड ५० लाख रुपैयाँको स्रोत सुनिश्चितता गरेको छ। यसअघि २१ कात्तिकमा प्रदेश सरकार र भरतपुर महानगरपालिकाबीच रंगशाला निर्माणका लागि कुल ७५ करोड रुपैयाँको लागत अनुमानको ७० प्रतिशत प्रदेश सरकारले व्यहोर्ने सम्झौता भएको थियो।

महानगरपालिकाले तयार पारेको पहिलो चरणको लागत अनुमानको प्रस्तावअनुसार १० हजार दर्शक अट्ने प्याराफिटसहित क्रिकेट पिच र मैदान निर्माणको काम गर्ने निर्णय भएको मुख्यमन्त्री जम्कट्टेलले बताए। बैठकले भरतपुर महानगरपालिकालाई रंगशालाको निर्माण कार्यका लागि ठेक्का प्रक्रिया अघि बढाउन आग्रहसमेत गरेको छ।

यसैगरी, आजको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगले माग गरेअनुसार संघीय समपूरक र विशेष अनुदानका लागि योजना सिफारिस गर्ने निर्णय पनि गरेको छ। 

बैठकले समपूरक र विशेष अनुदानका लागि १०–१० वटा योजना सिफारिस गर्ने निर्णय गरेको हो। बैठकले अघिल्लो आर्थिक वर्षमा निर्माण कार्य सम्पन्न भएर भुक्तानी हुन बाँकी रहेका योजनाहरूको भुक्तानी दिने निर्णय गरेको छ। 

मुख्यमन्त्री जम्कट्टेलका अनुसार अहिले भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतका योजनाको भुक्तानी दिने निर्णय भएको हो।