१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० माघ २३ मंगलबार ०६:०६:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

भिजिट भिसाको सेटिङ : अदालतबाट सफाइ पाएलगत्तै विमानस्थलमै पोस्टिङ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० माघ २३ मंगलबार ०६:०६:००

भिजिट भिसाको सेटिङकै आरोपमा चार वर्षअघि भ्रष्टाचार मुद्दा खेपेका अधिकृत शैलेन्द्र ढकालले सफाइ पाएलगत्तै विमानस्थलमै सरुवा मिलाएका थिए । अहिले फेरि भिजिट भिसाकै अर्को मुद्दामा फरार भएका छन् ।

भिजिट भिसा मुद्दाका फरार अभियुक्त अध्यागमनका एक अधिकृतले विगतमा पनि भिजिट भिसाको सेटिङमा मुद्दा खेपेको खुलेको छ । अध्यागमन अधिकृत शैलेन्द्र ढकाललाई चार वर्षअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । सो मुद्दामा सफाइ पाएलगत्तै उनी विमानस्थल अध्यागमनमा पुगेका थिए । 

प्रहरीले गत साता ढकालसहित नौ अध्यागमन अधिकृतविरुद्ध भिजिट भिसामा सेटिङको अभियोगमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । जसमा ढकालसहित आठ अधिकृत फरार छन् । उनी वर्षाैँदेखि विमानस्थलमा भिजिट भिसाको सेटिङमा संलग्न रहेको पाइएको छ । 

अख्तियारले ५ कात्तिक ०७६ मा ढकालसहित १३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेकोमा १३ असार ०७९ मा फैसला आएको थियो । जसमा अध्यागमन अधिकृत कमलप्रसाद पराजुलीबाहेक अरूले सफाइ पाएका थिए । यसरी सफाइ पाएलगत्तै अधिकृत ढकाल विमानस्थलमा सरुवा मिलाएर फेरि पनि भिजिट भिसाको सेटिङमा सक्रिय रहेको प्रहरी अनुसन्धानले देखाएको छ । 

ढकालविरुद्ध भ्रष्टाचारको पुरानो मुद्दा सर्वाेच्च अदालतमा अहिले पनि विचाराधीन छ । अख्तियारले ढकालसहित अध्यागमन अधिकृत कमलप्रसाद पराजुली, मनहरी बराल, दिनेश केएम, तोरण पराजुली, चक्रबहादुर श्रेष्ठ, मनोजकुमार पोखरेल, जगदीशचन्द्र नेपाली, विजय सापकोटा, वीरसिंह भण्डारी, पदमप्रसाद बजगाईं, कम्प्युटर अपरेटरहरू रोशन गौतम र भोजप्रकाश न्यौपानेविरुद्ध मुद्दा दायर गरेको थियो । उनीहरूले अध्यागमनको इमी सफ्टवेयरमा अभिलेखसमेत नराखी दुई सय ४८ जनालाई भिजिट भिसामा यात्रा प्रस्थान अनुमति दिएका थिए । प्रतिव्यक्ति १० हजार रुपैयाँ लिएर विदेश जान दिएको अख्तियारको अभियोग थियो । अधिकृत पराजुलीलाई १० महिना कैद र ३० हजार जरिवानाको फैसला भएकोमा अन्यको हकमा प्रमाण नपुगेको भन्दै सफाइ दिइएको थियो । जुन फैसलामा चित्त नबुझी अख्तियारले १२ चैत ०७९ मा सर्वाेच्च अदालतमा पुनरावेदन गरेको थियो । 

यसरी सफाइ पाएर निलम्बन फुकुवा भएलगत्तै अधिकृत ढकाल फेरि विमानस्थलमा सरुवा हुनुले यसमा उच्च तहकै गिरोहको संरक्षण रहेको देखाउने अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी बताउँछन् । गृह मन्त्रालय स्रोतका अनुसार अधिकृत ढकाल आर्थिक चलखेलकै आधारमा फेरि पनि अध्यागमन जान सफल भएका हुन् । 

प्रहरीले दुई लाख घुससहित पक्राउ गरेका अधिकृत नरवीर खड्काको बयानका आधारमा थप आठजनाको यसमा संलग्नता पत्ता लगाएको छ । जसमा ताराबहादुर कुँवर, कुशल बराल, विष्णुप्रसाद आचार्य, विमल पौडेल, विकास डंगोल, पीताम्बर रिमाल र सुजन फागो छन् । अधिकृत खड्काले बयानका क्रममा विमानस्थलमा सबैले मिलेर घुस लिने गरेको बताएका छन् । आफ्नो सिफ्टमा खटिने सबै कर्मचारीहरूको नामै लिएर उनले सेटिङबारे वास्तविकता बताएका हुन् । उनीहरूको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत सम्पत्तिसमेत छानबिन गर्न मागसहित मुद्दा दायर भएको छ ।