०६७ यता ६५ जनाको ज्यान गयो
जंगली हात्ती प्रभावित जिल्ला झापामा मानव–वन्यजन्तु द्वन्द्व बढ्दो छ । पछिल्लो ६ महिनामा हात्तीको आक्रमणमा परी पाँचजनाको ज्यान गएको छ । यही अवधिमा दुई हात्ती मारिएका छन् ।
डिभिजन वन कार्यालय झापाका अनुसार हात्तीको आक्रमणमा मंसिरमा तीन र पुसमा दुई गरी पाँचजनाको ज्यान गएको हो । हात्ती आक्रमणमा परी ४ पुसमा हल्दीबारी गाउँपालिका– २ का कार्यालय सहयोगी स्थानीय ५५ वर्षीय पाथल राजवंशी र १२ पुसमा शिवसताक्षी नगरपालिका– ११ का ४६ वर्षीय मेघराज राईको मृत्यु भएको छ ।
त्यसअघि ५ मंसिरमा दमक– ३ स्थित हम्सेदुम्से सामुदायिक वनमा ७२ वर्षीय भुटानी शरणार्थी वृद्ध पदमलाल तामाङ, १५ मंसिरमा हल्दीबारी–३ स्थित रणकाली सामुदायिक वनका चौकीदार सोही ठाउँका ४० वर्षीय धनबहादुर वन र १८ मंसिरमा शिवसताक्षी नगरपालिका– १० का ६७ वर्षीय हर्कबहादुर योगीको हात्ती आक्रमणमा परी ज्यान गएको हो ।
२४ असोजमा भद्रपुर– २ स्थित कमलधाप रामपोखरी सामुदायिक वनमा एउटा हात्ती मृत फेला परेको हो भने अर्काे हात्ती २८ मंसिरमा बाह्रदशी गाउँपालिका– १ मा मृत फेला परेको थियो । कोशी टप्पु वन्यजन्तु आरक्षण कार्यालयका प्रमुख वरिष्ठ संरक्षण अधिकृत रमेशकुमार यादवका अनुसार झापामा करेन्ट लगाएर हात्ती मारिएको पाइएको छ । पोस्टमार्टम गर्दा हात्तीको मृत्युको कारण करेन्ट रहेको पाइएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार हात्ती मार्न, बिक्री–वितरण गर्न निषेध छ । यदि कसुर ठहर भएमा पाँच लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुने ऐनमा उल्लेख छ ।
डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले हात्ती मारिएको घटनाको अनुसन्धानको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीलाई दिने निष्कर्षमा पुगिएको बताए । ‘झापामा हात्ती मारेपछि कारबाही भएको रेकर्ड छैन । अबको अनुसन्धान सिआइबीले पनि गर्नुपर्छ जस्तो लागिरहेको छ,’ उनले भने ।
भारतको आसामबाट हात्ती झापासम्म आइपुग्छन् । वर्षमा चार महिना हात्तीको हुन्जा झापा हुँदै नेपालतर्फ आएर पुनः आसाम नै फर्कन्छन् । जसकारण झापामा मानव–वन्यजन्तु द्वन्द्व बढ्दो छ ।
०६७ यता ६५ जनाको ज्यान गयो
झापामा ०६७ यता हात्ती आक्रमणमा परी ६५ जनाको ज्यान गएको छ । जसमा ५८ नेपाली नागरिक रहेका छन् भने बाँकी, सातजना भुटानी शरणार्थी र भारतीय नागरिक रहेको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले बताए । ०६० यता झापामा २१ वटा हात्ती मारिएका छन् । ‘आफू सुरक्षित हुनका लागि मानिसले लगाएको करेन्ट लागेर मरेका छन् । पानी परेका वेला पानीमा करेन्ट लाग्छ । हात्तीको सुँड भेट्यो भने पनि पर्छ,’ राईले भने, ‘धेरैचाहिँ यस्ता केस छन् । यस्तो हुँदा बाहिरी चोट केही पनि देखिँदैन ।’
यो तथ्यांकले झापाको मानव–वन्यजन्तु द्वन्द्व देखाउँछ । मानव बस्तीमा हात्ती प्रवेश गरेर दैनिक क्षति पुर्याइरहेको छ । हात्तीले मान्छेलाई आक्रमण गरेर ज्यान लिनुका साथै घाइते पनि बनाइरहेको छ । हात्तीले मानिस आक्रमण गर्नुमा मानवीय कमजोरी नै रहेको कोशी टप्पु वन्यजन्तु आरक्षण कार्यालय प्रमुख यादवले बताए । ‘मान्छेले हो–हल्ला गर्ने र लखेट्ने गर्दा हात्तीले असुरक्षित सम्झेर आक्रमण गर्छ,’ उनले भने, ‘मानवीय सचेतना आवश्यकता छ । मानवीय क्षति जोगाउनु पहिलो प्राथमिकता हो ।’
यादवका अनुसार हिउँदमा आउने हात्ती अलिक बढी आक्रामक हुन्छ । विगतमा उनीहरू हिँड्ने बाटोमा अहिले बस्ती बसेका कारण उनीहरू बस्ती प्रवेश गरिरहेको उनी बताउँछन् । ‘विगतमा हात्ती हिँड्ने बाटोमा बस्ती छ । आनीबानीका हिसाबले पूर्वजदेखि आएको बाटोमा हात्ती हिँड्छ । त्यसकारण हात्ती बस्ती प्रवेश गरेका छन् । यो वेला आउने हात्ती असार–साउनमा आउनेभन्दा अलिक आक्रामक हुन्छन् । त्यसवेला जंगलमा घाँस–पानी हुन्छ । जंगलमै बस्छन्,’ उनले भने, ‘अहिले जंगलमा घाँस–पानी छैन । विगतमा उनीहरू हिँड्ने जंगलमा बस्ती बसाएर उखु र मकै रोपेको छ । त्यो खान बस्ती पस्छ ।’
अहिले झापामा हात्ती आतंक छ । गाउँ–गाउँमा हात्ती पसिरहेका छन् । डिभिजन वन कार्यालय झापाका प्रमुख राईका अनुसार वर्षमा चार महिना हात्तीले उपद्रो मच्चाउँछन् । वैशाख दोस्रो साता भारतको आसामबाट आएका हात्ती असार तेस्रो साता फर्कन्छन् । यस्तै, कात्तिक तेस्रो साता आएका हात्ती पुस अन्तिमसम्म फर्कने पुरानो तालिका रहेको राईले बताए । ‘यसरी आएकामध्ये केही हात्ती यहीँ छुटेका छन् । झापामा केही वर्षअघिसम्म १२ देखि १५ वटा मात्र रैथाने हात्ती थिए । अहिले ३५ वटाभन्दा धेरै छन्,’ प्रमुख राईले नयाँ पत्रिकासँग भने, ‘अब यी हात्ती फर्कने छाँटकाँट छैन । अहिले यहाँ रैथाने हात्तीको संख्या धेरै भएको छ ।’
हात्ती–मानव द्वन्द्व कम गर्न मानव सचेतना आवश्यक पर्ने हात्ती प्रभावित मेचीनगर– ४ का वडाध्यक्ष तथा हात्ती संरक्षणमा काम गर्दै आएका अर्जुन कार्की बताउँछन् । ‘बाहुनडाँगी हात्ती प्रभावित क्षेत्र हो । विगतमा यो क्षेत्रले धेरै मानवीय क्षति व्यहोर्यो । तर, ०७५ यता हात्तीले मान्छे मारेको छैन । घाइते पनि छैनन् । मुख्यतः अब मान्छे हात्तीसँग आक्रामक हुँदैनन् । मान्छे नभएपछि हात्ती पनि आक्रामक हुँदैन रहेछ,’ उनले भने, ‘हामीले मान्छेमा जनचेतना फैलायौँ । मान्छेलाई पारिस्थितिक प्रणालीमा हात्तीको महत्व बुझाउन सक्नुपर्छ । पारि (भारत)बाट आउने हात्तीको हन्जाले बालीनालीमा क्षति पुर्याएको छ । बाँकी यहाँ रहेका एक–दुईवटा हात्ती त आए–गएको थाहा नै हुँदैन । हात्ती इगो राख्ने जनावार हो । यसले गन्ध र आवाजबाट मान्छे चिन्छ ।’
किन बजार पस्न थाले जंगली हात्ती ?
विगतमा हात्ती नदेखिएको ठाउँमा अहिले हात्ती पुग्न थालेका छन् । जंगलमा मात्र होइन सहरमा पनि जंगली हात्ती छिर्न थालेको हो । केही समय अघि एउटा हात्ती दमकको मुख्य सहरमा आइपुगेको थियो ।
यस्तै, केही महिनाअघि मात्र कन्काई नगरपालिकास्थित सुरुंगा बजारमा हात्ती देखा परेको थियो । विगतमा हात्ती नछिरेको कमल, शिवसताक्षीलगायत स्थानीय तहका केही गाउँमा यसपटक हात्ती छिरेको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिए ।
भारतबाट आएको हात्तीको हन्जाबाट यहीँ छाडिएको हात्तीको संख्या धेरै हुँदा झापामा रैथाने हात्तीको संख्या बढेको छ । विगतमा १२–१५ वटा रैथाने हात्ती थिए । अहिले झापामा ३५ वटाभन्दा माथि रैथाने हात्ती छन् ।
‘जंगलमा खानेकुरा नपुगेपछि पहिला नपसेको ठाउँमा हात्ती पुगिरहेको छ । हात्तीको स्मेलिङ क्षमता धेरै राम्रो हुने भएकाले सहर तथा गाउँबस्तीमा छिरेको हो,’ राईले भने, ‘अर्को कारण विगतमा हात्ती हिँड्ने रुटमा अहिले मानव बस्ती बसेको छ । जसका कारण उसलाई त्यो रुट हिँड्न अवरोध हुन थाल्यो । त्यसकारण पनि सहर, गाउँ बस्तीमा हात्ती पसेको छ ।’