१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
भारतीय विदेशमन्त्री एस जयशंकरसँग दिल्लीमा छलफल गर्दै संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको प्रतिनिधिमण्डल
२०८० माघ २१ आइतबार ०६:१७:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको प्रतिनिधिमण्डल दिल्लीमा- ‘आर्थिक विकासमा सहयोग र संवादबाट समस्या समाधान गर्न भारत तयार’

एक महिनाभित्र  नेपालीले  सिमकार्ड पाउने

Read Time : > 2 मिनेट
२०८० माघ २१ आइतबार ०६:१७:००

भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालको आर्थिक विकासमा सहकार्य गर्न र आपसी संवादबाट समस्या समाधान गर्न भारत सरकार प्रतिबद्ध रहेको बताएका छन् । भारतको औपचारिक भ्रमणमा रहेको संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समिति सभापति राजकिशोर यादव नेतृत्वको प्रतिनिधिमण्डललाई शुक्रबार जयशंकरले दिल्लीमा स्वागत गर्दै यो बताएका हुन् । 

भेटमा जयशंकरले नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि नेपाललाई हेर्ने भारतको दृष्टिकोण बदलिएको पनि सुनाएका थिए । ‘०७२ को विनाशकारी भूकम्प र यसपालि जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा राहत वा उद्धारका लागि पहिला पुग्यौँ,’ जयशंकरलाई उद्धृत गर्दै सभापति यादवले भने, ‘नेपालको विकास चाहन्छौँ । सँगै हिँड्न चाहन्छौँ । समस्याका सन्दर्भमा पनि बसेर छलफल गर्न तयार छौँ । नेपाललाई थिचोमिचो होइन, विकासको यात्रामा सँगै लिएर हिँड्न तयार छौँ,’ यादवका अनुसार जयशंकरको भनाइ थियो, ‘नेपालीलाई पीडा हुँदा हामीलाई पनि दुख्छ ।’ 

यादव नेतृत्वमा समितिका आठजना सांसद भारत भ्रमणमा छन् । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन पछिल्लोपटक नेपाल भ्रमणमा आएको प्रसंग पनि जयशंकरले चर्चा गरे । उनले जाजरकोट र रुकुम पश्चिममा भूकम्पपीडितका लागि एक हजार करोड रुपैयाँ दिने निर्णय, २० करोड रुपैयाँसम्मको उच्च सामुदायिक प्रभाव परियोजना सञ्चालन गर्ने निर्णय, १० वर्षमा १० हजार विद्युत् भारत निर्यात गर्ने बजार सुनिश्चितसहित दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा हस्ताक्षरले नेपाललाई सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

जयशंकरले नेपालमा ठूला जलविद्युत् परियोजनामा लगानी गर्न भारत तयार रहेको पनि बताए । ‘नेपालको विकासका लागि जे गर्नुपर्छ तयार छौँ,’ जयशंकरले भने । 

सभापति यादवले भारत पाँचौँ ठूलो अर्थतन्त्र र विश्वको महत्वपूर्ण सामरिक राष्ट्रका रूपमा अघि बढेको उल्लेख गर्दै यसबाट आर्थिक विकासको लाभ नेपालले चाहेको बताए । उनले भारतको स्वतन्त्रता संग्राममा नेपालीको संलग्नता, स्वतन्त्रतामा सहभागी नेताहरू जयप्रकाश नारायण, राममनोहर लोहियालगायतलाई नेपालबाट जेल ब्रेक गरेर भगाएको घटनादेखि भारतको सीमामा बसेर नेपाली गोर्खाले भारतको सुरक्षा गरेको सन्दर्भ उठाएको पनि बताए । 

‘त्यसकारण नेपाललाई भारतले अझ बढी माया गर्नुपर्छ भन्ने कुरा राखेँ । प्रधानमन्त्री मोदीको छिमेक प्रथम नीति छँदै छ, हामी छिमेकीभन्दा माथि कुटुम्ब हौँ । भारतले सहयोग गर्नुपर्छ, अरू छिमेकीभन्दा विशिष्ट रूपमा नेपाललाई हेर्नुपर्छ भन्ने हाम्रो धारणा थियो,’ यादवले भने, ‘विदेशमन्त्री जयशंकर, सभामुख ओम बिरलादेखि मेरा समकक्षी पिपी चौधरी, विदेश राज्यमन्त्री भी मुरलीकरणसम्म सबैले सहमति जनाउनुभयो । सक्दो सहयोग गर्छौँ भन्नुएको छ ।’

सभापति यादवले सबै भेटवार्तामा रोटीबेटीको सम्बन्धले नेपाल–भारत सम्बन्धलाई परिभाषित नगर्ने भन्दै दुई देशको सम्बन्ध कुटुम्बको स्तरमा रहेको बताएका थिए । ‘हाम्रो सम्बन्ध रोटीबेटीको होइन । हामी कुटुम्ब हौँ । हाम्री चेली सीता भारतमा दिएका छौँ । यसपालि राम मन्दिरमा साढे पाँच सय वर्षपछि राम फर्किनुभएको छ । सीताको अवस्था बुझ्न हामी आएका छौँ भनेँ,’ यादवको भनाइ थियो, ‘हामी छिमेकी मात्र होइन, कुटुम्ब हौँ भन्नेमा सभामुख बिरलाजीदेखि विदेशमन्त्री जयशंकरजीले स्वीकार गर्नुभयो ।’ 

एक महिनाभित्र नेपालीले सिमकार्ड पाउने
भारत सरकारले एक महिनाभित्र नेपालीलाई सहज रूपमा भारतीय मोबाइलको सिमकार्ड लिन सक्ने व्यवस्था मिलाउने आश्वासन दिएको छ । विदेशीलाई भिसा लगाएको पासपोर्ट अथवा आधार कार्डका आधारमा मात्रै सिमकार्ड दिने भारतीय नियमका कारण भारतमा नेपालीले सिमकार्ड पाएका थिएनन् । 

विदेशमन्त्री डा. एस जयशंकरले भारत भ्रमणमा रहेको संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको प्रतिनिधिमण्डललाई शुक्रबार यो आश्वासन दिएका हुन् । ‘अब एक महिनाभित्र सिमकार्डको समस्या समाधान हुन्छ भनेर विदेशमन्त्रीले आश्वासन दिनुभएको छ । अब यसको समाधान हुन्छ,’ अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति राजकिशोर यादवले भारतबाट टेलिफोनमा भने । 

जयशंकरले भारतमा कार्यरत नेपालीले प्रतिमहिना दुई लाख रुपैयाँसम्म भारतीय बैंकमार्फत नेपालमा पठाउन पाउने गरी भारतले सहजीकरण गरिदिने आश्वासन पनि दिएका छन् । ‘भारतको जवाहरलाल नेहरू विश्वविद्यालयमा नेपाली विद्यार्थीले सार्कको नागरिकका रूपमा अमेरिकी डलरमा पैसा तिनुपर्नेमा अब भारतीय नागरिकसरह भारुमा शुल्क तिर्दा हुने प्रबन्ध पनि गर्न लागेको जानकारी विदेशमन्त्रीले दिनुभएको छ,’ यादवले भने, ‘मेडिकल कलेजहरूमा पनि नेपालीले भारतीय नागरिकसरह पैसा भुक्तानी गर्ने व्यवस्था मिलाउँछौँ भन्नुभएको छ । कानुनी व्यवधान समाधान गरेर नेपालीलाई सहजीकरण गर्छौँ भन्ने विदेशमन्त्रीको प्रतिबद्धता आएको छ । यसका लागि भारत सरकारलाई धन्यवाद दिएका छौँ ।’