१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नवीन अर्याल काठमाडाैं
२०८० माघ २० शनिबार ०६:२४:००
Read Time : > 12 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सगरमाथाको अर्थतन्त्र

सन् २०२३ मा करिब १३ अर्ब आम्दानी । आरोही र पदयात्रीले तिर्ने रोयल्टी, सगरमाथा राष्ट्रिय निकुञ्ज प्रवेश शुल्क, होटेलको बसाइ, इन्स्योरेन्स, हवाई भाडा, माउन्टेन फ्लाइट, गाइड, सहयोगी, इक्विपमेन्ट अलाइन्सलगायत आम्दानीका स्रोत 

Read Time : > 12 मिनेट
नवीन अर्याल, काठमाडाैं
२०८० माघ २० शनिबार ०६:२४:००

- सगरमाथामा आरोहीको रोयल्टीसहित दुई अर्ब १३ करोड ४१ लाख, ट्रेकर्सबाट १० अर्ब ४७ करोड ६५ लाख र हेलिकोप्टरबाट ३० करोड कारोबार
- सन् २०२३ मा पर्यटन विभागले ४७८ आरोहीलाई आरोहणको अनुमति दिएर ६६ करोड ६४ लाख २१ हजार रुपैयाँ उठायो रोयल्टी 
- २०१७ यता आरोहीबाट दुई अर्ब ८३ करोड ३४ लाख रुपैयाँ रोयल्टी उठ्यो

(सन् २०२० मा कोभिडका कारण एउटै आरोहण भएन)

उचाइअनुसार नै सर्वोच्च शिखर सगरमाथाको विश्वभर पहिचान छ । आरोहण गर्न र नजिकैबाट नियाल्न संसार नै लालायित देखिन्छ । तैपनि न ठूलो संख्यामा पर्यटक भित्र्याउन सकिएको छ, न सगरमाथालाई अर्थोपार्जनको गतिलो माध्यम बनाई लाभ लिन सकिएको छ । यद्यपि, सगरमाथा क्षेत्रमा आउने पर्यटकबाट हुने आम्दानी भने विगतको तुलनामा बढ्दै गएको छ । 

३ जुन १९५० मा फ्रेन्च नागरिक मोरिस हर्जोग र लुइस लेचेनलले अन्नपूर्णको शिखर चुमे । आठ हजार मिटरभन्दा अग्लो शिखरमा पहिलो मानव पाइला परेपछि संसारभर नेपालबारे हल्लीखल्ली मच्चियो । त्यसको ठ्याक्कै तीन वर्षपछि २९ मे १९५३ मा न्युजिल्यान्डका एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले विश्वकै अग्लो सगरमाथा चुचुरोमा पाइला टेके । त्यो खबर संसारभर यसरी फैलियो कि ‘नेपाल हिमालयको देश’ भनेर चिनियो ।

संयोगले त्यतिवेला न्युजिल्यान्डमै रहेका स्व. सत्यमोहन जोशीले आफ्नो ‘न्युजिल्यान्डमा पहिलो नेपाली’ पुस्तकमा लेखेका छन्, ‘त्यो समाचारले न्युजिल्यान्डका सञ्चारमाध्यम तताएको थियो । तेन्जिङ नोर्गेको गाउँले भनेर न्युजिल्यान्डवासीले मलाई भव्य सत्कार गरेका थिए ।’ सगरमाथामा सफल आरोहणको विश्वभर चर्चासँगै नेपाल आउने विदेशीको संख्या बढ्न थाल्यो । अन्नपूर्ण र सगरमाथा आरोहणले विश्वको ध्यान खिचेको नेपाल माउन्टेनियरिङ एसोसियसन (एनएमए)का पूर्वअध्यक्ष आङछिरिङ शेर्पा बताउँछन् । ‘त्यतिखेर नेपालमा व्यावसायिक पर्यटनको सुरुवात मात्र भएन । नेपाल माउन्टेन टुरिजमको गेटवेकै रूपमा प्रमोट भयो,’ उनले भने । पाँच दशकदेखि पर्यटन व्यवसायमा सक्रिय वसन्त मिश्र पनि अन्नपूर्ण र सगरमाथा आरोहणपछि बल्ल नेपालमा पर्यटन सुरुवात भएको मान्छन् । 

सगरमाथा चुचुरोमा मानव पाइला परेको ७० वर्ष पुगिसकेको छ । यसबीचमा नेपालीसहित आठ हजार २७२ जनाले सगरमाथाको शिखर चुमिसकेका छन् । आरोहीको सगरमाथा शिखर चुम्न ताँती लाग्ने गर्छ । कैयौँ आरोहीले सगरमाथा चढेरै विभिन्न रेकर्ड बनाई संसारभर नाम कमाएका छन् । अहिलेसम्म सगरमाथामा सयौँ रेकर्ड बने होलान् । नयाँ–नयाँ रेकर्ड राख्ने र तोड्ने क्रम अहिले पनि जारी नै छ ।

सगरमाथा चढे ८,२७२ आरोही
न्युजिल्यान्डका एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले २९ मे १९५३ मा सफल आरोहण गरेपछि सन् २०२३ सम्म आठ हजार २७२ जनाले सगरमाथाको चुचुरो चुमिसकेका छन् । जसमध्ये पाँच सय ८० जना महिला आरोही छन् । पछिल्लो १० वर्षको तथ्यांक हेर्दा सन् २०१४ मा ६, २०१५ मा शून्य, २०१६ मा ४५१, २०१७ मा ४२६, २०१८ मा ५६०, २०१९ मा ६४४, २०२० मा शून्य, २०२१ मा ४५९, २०२२ मा ६५८ र २०२३ मा ६४६ आरोही (गाइडसहित) सगरमाथा चुचुरोमा पुगेका थिए । २०१४ र २०१५ विनाशकारी भूकम्प र २०२० मा कोभिड महामारीका कारण हिमाल आरोहण रोकिएको थियो ।

वर्षमा कति हुन्छ आम्दानी ?
पर्वतारोहीले बुझाउने रोयल्टी, खुम्बुमा होटेलको बसाइ, इन्स्योरेन्स, फ्लाइट, गाइड, सहयोगी, इक्विपमेन्ट अलाइन्स, सगरमाथा राष्ट्रिय निकुञ्ज प्रवेशका लागि पदायात्रीले तिर्ने शुल्कलगायत त्यस क्षेत्रमा हुने आम्दानीका स्रोत हुन् । 

सन् २०२३ (०७९/८०) को पर्यटक र पदयात्रीको तथ्यांकका आधारमा एक वर्षमा करिब १३ अर्ब आम्दानी भएको छ । २०२३ मा सगरमाथा आरोहीबाट मात्रै ६६ करोड ६४ लाख रुपैयाँ रोयल्टी संकलन भएको छ । ४७८ आरोहीबाट रोयल्टीसहित करिब दुई अर्ब १३ करोड ४१ लाख र पदयात्रीबाट करिब १० अर्ब ४७ करोड ६५ लाख रुपैयाँ आम्दानी भएको छ । २०२३ मा सगरमाथा चढ्न अनुमति लिएका विभिन्न देशका ४७८ आरोहीबाट ६६ करोड ६४ लाख २१ हजार रुपैयाँ रोयल्टी उठेको पर्यटन विभागले जनाएको छ । खुम्बु क्षेत्रमा होलिकोप्टर कम्पनीले करिब ३० करोडको बिजनेस गरेको अल्टिच्युड एयरका सञ्चालक प्रतापजंग पाण्डेले बताए । 

सगरमाथा आरोहणका लागि वसन्त ऋतु सबैभन्दा उपयुक्त सिजन हो । अन्य सिजनमा सगरमाथा आरोहण नगन्य हुने गर्छ । तर, ट्रेकिङ (पदयात्रा)का लागि भने वसन्त, शरद र विन्टर सिजन उपयुक्त मानिन्छन् । 

पर्यटकले कति तिर्छन् रोयल्टी ?
सगरमाथा आरोहणका लागि विदेशी नागरिकका हकमा प्रतिआरोही नर्मल रुटको वसन्त सिजनमा ११ हजार डलर, शरदमा ५५ सय डलर र विन्टर/बर्सात सिजनमा २७ सय ५० डलर अमेरिकी तिर्नुपर्ने हुन्छ । यस्तै, अन्य रुटबाट सगरमाथा चढ्नेले स्प्रिङमा १० हजार, शरदमा पाँच हजार र हिउँद/बर्सातमा २५ सय डलर तिर्नुपर्छ ।

यस्तै, नेपाली आरोहीको हकमा वसन्त ऋतुमा नर्मल रुटको ७५ हजार रुपैयाँ र अन्य रुटको ६० हजार रुपैयाँ तिर्नुपर्छ । शरद सिजनमा चढ्न नर्मल रुटको ३७ हजार पाँच सय रुपैयाँ र अन्य रुटका लागि ३० हजार तथा हिउँद र बर्सातको सिजनमा चढ्न नर्मल रुटको १८ हजार २५० र अन्य रुटको १५ हजार रुपैयाँ रोयल्टी तिर्नुपर्छ ।

निकुञ्ज प्रवेशका लागि नेपालीले प्रतिव्यक्ति सय, सार्क देशका नागरिकले १५ सय र तेस्रो देशका नागरिकले तीन हजार रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ । आर्थिक वर्ष ०७९/८० मा ५७ हजार ६९० पदयात्री सगरमाथा ट्रेकिङमा गएका थिए, जसमध्ये ६ हजार ८०८ नेपाली, ६ हजार ४६९ सार्क र ४४ हजार ४१३ तेस्रो देशका थिए ।

यी पदयात्रीबाट १४ करोड ३६ लाख रुपैयाँ प्रवेश शुल्क उठेको सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयका सूचना अधिकारी मनोजकुमार मण्डलले बताए । चालू आवको पहिलो पाँच महिनामा २७ हजार ६१ जनाले सगरमाथा ट्रेकिङ गरेका छन्, जसबापत ६ करोड ३२ लाख ४० हजार रुपैयाँ उठेको छ ।

एक आरोहीले २५ हजारदेखि ५० हजार अमेरिकी डलरसम्म खर्च गर्छन्
व्यवसायीका अनुसार सगरमाथा चढ्न विदेशीले औसतमा ३५ हजार अमेरिकी डलर (करिब साढे ४५ लाख रुपैयाँ) र नेपालीले २० लाख रुपैयाँ खर्च गर्छन् । अधिकांशले वसन्त सिजनमै सगरमाथा आरोहण गर्छन्, जसबापत विदेशीले प्रतिव्यक्ति ११ हजार डलर (१४ लाख ६३ हजार रुपैयाँ) र नेपालीले ७५ हजार रुपैयाँ रोयल्टी तिर्नुपर्छ । 

आरोहण क्षेत्रमा ६० वर्षदेखि सक्रिय एसियन ट्रेक्सका अध्यक्ष आङछिरिङ शेर्पा भन्छन्, ‘एउटा विदेशीले रोयल्टी र लजिस्टिक खर्चसहित न्यूनतम २५ हजारदेखि ५० हजार अमेरिकी डलरसम्म खर्च गर्छन् । आङछिरिङ, सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पालगायत अग्रणी आरोहण व्यवसायीका अनुसार सगरमाथा चढ्न विदेशीले औसतमा ३५ हजार अमेरिकी डलर (करिब साढे ४५ लाख रुपैयाँ) र नेपालीले २० लाख रुपैयाँ खर्च गर्छन् ।

सन् २०२३ मा सगरमाथा चढ्न अनुमति लिएका चार सय ७८ जनामध्ये चार सय ६२ आरोही विदेशी थिए । उनीहरूले औसत प्रतिव्यक्ति साढे ४५ लाख रुपैयाँका दरले दुई अर्ब १० करोड २१ लाख रुपैयाँ खर्च गरेका छन् । यस्तै, १६ नेपाली आरोहीले औसतमा २० लाख रुपैयाँका दरले तीन करोड २० लाख रुपैयाँ खर्च गरेका छन् । 

यो खर्चमा भिसा शुल्क, काठमाडौं बसाइ, हवाई भाडा, खुम्बु क्षेत्रमा लजिङ–फुडिङ, इन्स्योरेन्स, गाइड, सहयोगी स्टाफ, इक्विपमेन्ट अलायन्स, बेसक्याम्पमा ४० दिनसम्मको खाने–बस्ने सुविधा, हाई अल्टिच्युड टेन्ट, अक्सिजन, रोप फिक्सिङ (डोरी टाँगेर बनाइएको बाटो) शुल्कलगायत पर्ने नेपाल माउन्टेनियरिङ एसोसियसन (एनएमए)का अध्यक्ष निमानुरु शेर्पा बताउँछन् ।

एउटा पदयात्रीले औसतमा १५ सय डलर खर्चिन्छन्
कोभिडयता खुम्बु क्षेत्रमा भारतीय र नेपाली पदयात्रीको भिड हुन थालेको छ । आरोहणमा पनि नेपाली र भारतीयको उपस्थिति बाक्लिँदै छ । त्यसैले त सगरमाथाको प्रवेशद्वार लुक्लामा २०२३ मा हवाई यात्रु २३.८४ प्रतिशतले बढेका हुन् । आव ०७९/८० मा सगरमाथा निकुञ्जभित्र ५७ हजार ६९० यात्रु प्रवेश गरेका थिए । जसबाट १४ करोड ३६ लाख रुपैयाँ रोयल्टी उठेको थियो । यस वर्षको पहिलो पाँच महिनामा २७ हजार ६१ जनाले ६ करोड ३२ लाख ४० हजार रुपैयाँ रोयल्टी तिरेका छन् ।

सगरमाथा ट्रेकिङ जानेले १० देखि २० दिनसम्म बिताउने गर्छन् । विदेशी पदयात्रीले १५–१६ दिनमा न्यूनतम हजारदेखि तीन हजार डलरसम्म खर्च गर्ने गरेको कोरा टुर्सका सञ्चालक विजय अमात्य बताउँछन् । थामसेर्कु ट्रेकिङ कम्पनीका मिङ्मा शेर्पाले पनि विदेशीलाई १४ सयदेखि तीन हजारसम्मको प्याकेज बिक्री गर्ने गरेको बताए । एउटा विदेशी पदयात्रीले सगरमाथा टे«किङ जाँदा औसतमा १५ सय डलर खर्च गर्ने आङछिरिङको भनाइ छ । अरू ट्रेकिङ व्यवसायीको पनि यही आकलन छ । एनएमएका अध्यक्ष निमानुरु शेर्पा खुम्बु क्षेत्रमा पदयात्रीले दैनिक ५० देखि सय डलर खर्च गर्ने बताउँछन् । विदेशीका लागि लुक्लाको हवाई भाडा मात्रै दुईतर्फी चार सय डलरहाराहारी रहेको छ ।

गत आवमा ५० हजार ८८२ विदेशी पदायात्रीले सगरमाथा निकुञ्ज प्रवेश गरेको तथ्यांक छ । उनीहरूले प्रतिव्यक्ति औसतमा १५ सय डलरका दरले १० अर्ब र ६ हजार ८०८ नेपाली पदयात्रीबाट औसतमा ७० हजारका दरले ४७ करोड ६५ लाख गरी १० अर्ब ४७ करोड ६५ लाखभन्दा बढी रकम खर्च गरेका छन् । नेपाली ट्रेकर्सले दैनिक औसतमा चार हजारका दरले खर्च गर्ने बताइन्छ । नेपालीले १३–१४ हजार रुपैयाँमै लुक्ला आवतजावत गर्न पाउँछन् ।

‘पदयात्रीको पहिलो रोजाइ र चाहना सर्वोच्च शिखर हेर्न जाने नै हुने रहेछ,’ आङछिरिङ शेर्पाले भने, ‘पदयात्राका क्रममा आमादब्लम, पुमोरी, नुप्त्से, लोत्सेलगायत हिमाल देखिन्छन्, फेरि शेर्पा कल्चर भनेपछि पर्यटक हुरुक्कै हुन्छन् ।’

एनएमएका अध्यक्ष निमानुरु भन्छन्, ‘पदयात्रा जाने कतिपय स्याङ्बोचेसम्म पुगेर पनि फर्किन्छन् । लुक्लाबाट नाम्चे हुँदै रेन्जोला पास, गोक्यो लेक, चोला पास, कालापत्थर, बेसक्याम्प पुग्ने धेरै हुन्छन् । कतिपय पदयात्री बेसक्याम्प पुगेपछि साना पिक पनि चढेर फर्किने गर्छन् । जसमा आइल्यान्ड पिक, लोबुचे पिक, मेरा पिक, पिसाङलगायत रोजाइमा पर्छन् ।

एउटा आरोहीले २६ जनालाई रोजगारी
पर्यटनले रोजगारीमा ठूलो योगदान दिइरहेको छ । एउटा सगरमाथा आरोहीले २६ जनालाई रोजगारी दिने आङछिरिङको दाबी छ । ‘आरोहणमा जानेलाई एक्स्पिडिसन कम्पनीदेखि गाइड, कुक, किचन ब्वाय, भरिया, हेल्पर चाहिन्छ । अप्रत्यक्ष रूपमा अझ धेरैले लाभ लिएका हुन्छन्,’ उनले भने, ‘फेरि माउन्टेनिरियङ पेसा अत्यन्तै संवेदनशील हुन्छ । एउटा गाइडको हत्केलामा आरोहीको लाइफ एन्ड डेथको सवाल रहन्छ ।’

रोयल्टीबापत कति भयो आम्दानी ?
सगरमाथा आरोहणको ७० वर्षे इतिहासमा कति रोयल्टी संकलन भयो भन्ने विषयमा पर्यटन विभागसँग व्यवस्थित तथ्यांक छैन । विभागसँग पछिल्लो ६–७ वर्षको मात्रै मोटामोटी रोयल्टी संकलनको तथ्यांक छ । पर्यटन विभागले दिएको विवरणअनुसार २०१७ यता सात वर्षमा आरोहीबाट दुई अर्ब ८३ करोड ३४ लाख २० हजार रुपैयाँ रोयल्टी उठेको छ । सन् २०२० मा कोभिड महामारीका कारण एउटै आरोहण नभएको हुनाले रोयल्टी संकलन पनि शून्य रहेको छ ।

सगरमाथामा ३२८ जनाले ज्यान गुमाए, ३० प्रतिशत शव अझै अलपत्र
कुनै पनि हिमाल आरोहण अत्यन्तै जोखिमपूर्ण मानिन्छ । सगरमाथा आरोहणका क्रममा हालसम्म ३२८ जनाले ज्यान गुमाएको पर्यटन विभागको तथ्यांक छ । जसमध्ये ४० भन्दा बढी शेर्पा रहेका छन् । गत वर्षको वसन्त याममै सगरमाथा चढ्न गएकामध्ये १२ जनाको ज्यान गएको थियो । 

१९२२ मा सातजना शेर्पा आरोहीले आरोहणकै क्रममा ज्यान गुमाएको बताइन्छ । २०२४ मा दुई विदेशी आरोहीले ज्यान गुमाएका थिए । १९९६ मा आएको हिउँआँधीमा परेर १५ जनाले ज्यान गुमाएका थिए । मृतकमध्ये झन्डै ७० प्रतिशत लास व्यवस्थापन भइसकेको र ३० प्रतिशत लास सगरमाथाको काखमै हुनुपर्ने आङछिरिङको ठम्याइ छ ।

तर, मृतकबारे पर्यटन विभागसँग विस्तृत विवरण भेटिँदैन । हिउँमा पुरिएको शव सड्दैन । उनले भने, ‘पुरानो शव तल झार्न त्यति सजिलो छैन्, आइसमा जमेको हुनाले लासको तौल नै १६० किलोसम्म पुगेको हुन्छ । आइससँगै शव निकाल्नुपर्छ । शेर्पाले आफ्नो जीवन नै जोखिममा राखेर शव तल झार्ने हुन्,’ उनले भने । 

हजारभन्दा बढी होटेल
आङछिरिङका अनुसार सगरमाथा राष्ट्रिय निकुञ्जभित्र सन् १९७० तिर नाम्चेमा एउटा मात्र लज थियो । अहिले मोन्जो गाउँभन्दा माथि निकुञ्जभित्र मात्रै स्तरीय होटेल, लज, साधारण होटेल र गेस्टहाउस गरी ६ सयभन्दा बढी पुगेका छन् । खुम्बु पासाङ ल्हामु गाउँपालिकाको (लुक्ला–खरीखोलासम्म) चार सयभन्दा धेरै होटेल छन् । सगरमाथा क्षेत्रमा होटेल तथा रिसोर्टको संख्या हजार नाघेको अनुमान छ । लुक्ला, फक्दिङ, नाम्चे, गोक्यो, खुम्जुङ, लोबुचे, गोरकसेपलगायत ठाउँ–ठाउँमा लक्जरी होटेल सञ्चालनमा छन् ।

विश्वकै अग्लो ठाउँमा खुलेको एभरेस्ट भ्यु होटेल २००४ मा गिनिज बुकमा दर्ज भएको थियो । अहिले त्योभन्दा पनि अग्लो कोङ्देमा होटेल सञ्चालनमा आइसकेका छन्, जहाँ खर्चालु पर्यटक काठमाडौंबाट हेलिकोप्टर चढेर सगरमाथा हेर्दै ब्रेकफास्ट खान जाने गर्छन् । हेलिकोप्टर चढेर सगरमाथामा ब्रेकफास्ट गर्न जाने पर्यटकले मनग्ये खर्च गर्ने कोरा टुर्स एन्ड ट्राभल्सका सञ्चालक विजय अमात्य बताउँछन् । उनी भन्छन्, ‘यो यात्रा पर्यटकलाई जिन्दगीभर यादगर रहन्छ, हामी पनि क्वालिटी सर्भिस दिन्छौँ, एउटा पर्यटकले कम्तीमा १५ सय डलर खर्च गर्छन् ।’ 

‘खुम्बु क्षेत्रमा पहिला पर्दा राखेर पार्टेसन गरिएका होटेल थिए, त्यसपछि प्लाइउडको पार्टेसन हुँदै अहिले अट्याच बाथरुमसहितका लक्जरी होटेल खुलेका छन्,’ एनएमए अध्यक्ष निमानुरु शेर्पाले भने, ‘होटेल व्यवसाय पुस्तौनी बनेको छ, हजुरबुबाले त्यहीँ कमाइ गरे, त्यहीँ लगानी गरे, छोराले पनि त्यस्तै गरे, अहिले नयाँ पुस्ता पनि त्यसै गर्दै छ ।’

एसियन ट्रेक्सले तेङ्बोचे र फाक्दिङमा लाँकुरी भञ्ज्याङको ‘दी टेरेसेस’कै स्टायलको लक्जरी रिसोर्ट बनाइरहेको छ । खुम्जुङ र गोक्योमा पहिल्यै होटेल सञ्चालनमा छन् । दुवै होटेल ०८१ भित्र सञ्चालनमा ल्याउने तयारी छ । ‘अब खर्चालु पर्यटक टार्गेट गरेर होटेल बनाइरहेका छौँ,’ उनले भने । खुम्बु क्षेत्रमा थप आठवटा होटेल थपेर १३ वटा पुर्‍याउने उनको लक्ष्य छ । यस्तै, यती ग्रुपका मात्रै सगरमाथा क्षेत्रमा सातवटा होटेल सञ्चालनमा छन् । हेली एभरेस्टका सञ्चालक फुर्वा शेर्पाले पनि फाक्दिङ, कोङ्देलगायत ठाउँमा होटेल चलाइरहेका छन् ।

सगरमाथाले अर्बपति पनि जन्मायो
सगरमाथाले अर्बपति पनि जन्माएको छ । खुम्बुमा भरियाको जागिर गर्दागर्दै व्यवसायमा होमिएर सबैभन्दा ठूलो विरासत खडा गर्नेमा स्व. आङछिरिङ शेर्पाको परिवार अग्रणी हो । यती ग्रुपको खुम्बुमा सात र अन्नपूर्ण क्षेत्रमा ६ होटेल छन् । यस्तै, गोकर्ण गल्फ रिसोर्ट, चितवनमा कसरा रिसोर्ट, लुम्बिनीमा होके होटेल र मुस्ताङमा सिन्तामणि सञ्चालनमा छन् । सिन्तामणि मुस्ताङमा बस्न पर्यटकले रातकै १८ सयदेखि २२ सय डलरसम्म तिर्नुपर्छ । यती, तारा र हिमालय एयरलाइन्स यही परिवारका हुन् । ग्रुपका पाँचवटा ट्राभल एन्ड ट्रेकिङ कम्पनी सञ्चालनमा छन् । यस्तै, दरबारमार्गमा लक्जरी मल सञ्चालनमा छ ।

एनएमएका पूर्वअध्यक्ष आङछिरिङ शेर्पा अर्का अर्बपति हुन् । उनका खुम्बु क्षेत्रमा पाँचवटा र भक्तपुरको लाँकुरी भञ्ज्याङमा द टेरेसेस रिसोर्ट सञ्चालनमा छन् । उनले खुम्बु क्षेत्रमा १३ होटेल पु¥याउने लक्ष्य लिएका छन् । उनले कार्पेट निर्यात, जग्गा प्लटिङदेखि गार्मेन्ट व्यवसायमा हात हाले । ट्रेकिङ, एक्स्पिडिसन, होटेल, ¥याफ्टिङ, ट्राभल, एयरलाइन्स, हेलिकोप्टर सबैतिर उनले लगानी गरे । ‘मैले जुन व्यवसायमा हात हालेँ, त्यहाँ सुन फल्यो,’ उनले भने । नेपालमा निजी लगानीमा कमर्सियल रूपमा हेलिकोप्टर उडाउने सम्भवतः एसियन एयरलाइन्स पहिलो हो ।

पासाङ दावा शेर्पाले पनि हिमालयन लजलगयत होटेल रिसोर्ट सञ्चालन गर्छन् । निम्स दाइ (निर्मल पुर्जा), फुर्वा शेर्पा, सेभेन समिट ट्रेक्सका अध्यक्ष मिंग्मा शेर्पाले राम्रो व्यावसायिक सफलता हासिल गरिसकेका छन् । काठमाडौंका धेरै पर्यटन व्यवसायी सगरमाथासँग जोडिएका छन् ।

सिजनमै दुईपटक चढ्न कसरी सम्भव भयो ?
प्रथम आरोही तेन्जिङ र हिलारीले सगरमाथा आरोहण गर्न ६ महिना लगाएका थिए । तर, कामीरिता शेर्पा र पासाङ दावा शेर्पाले गत स्प्रिङ सिजनमा दुईपटक हिमाल चढे । अहिले हप्ता दिनमै दुईपटक सगरमाथा आरोहण गर्न सम्भव हुन थाल्यो । 

यो कसरी सम्भव भयो ? आङछिरिङ भन्छन्, ‘यो सबै प्रविधिको चमात्कार हो ।’ उनले कारण सुनाए, ‘मेरो बुबाहरू चढ्दा छालाको बुट हुन्थ्यो, जुन हिउँले भिजेर पाँच किलोसम्म हुन्थ्यो, अहिलेका जुत्ता एक किलो पनि हुँदैनन्, डाउन ज्याकेज पनि हलुका हुन्छ । पहिला बनेपाबाट हिँडेर जिरी हुँदै लुक्ला भएर बेसक्याम्प पुग्नुपर्थ्यो । आफैँ बाटो बनाउँदै चुचुरोतर्फ लाग्नुपर्थ्यो । अहिले लुक्लासम्म जहाज चढेर जान सकिन्छ । कतिपयले हेलिकोप्टरसमेत प्रयोग गर्छन् ।’

सन् १९६० तिर उनी आफैँ पनि बनेपाबाट २३ दिन हिँडेर सगरमाथा पुगेको अनुभव छ । फर्किएर आउँदा अर्को २३ दिन लाग्थ्यो । पहिला सात भारीको आवा बोकेर बेसक्याम्प जानुपर्नेमा अहिले हलुका गोजीमा राख्ने मोबाइल आइसकेका छन् । यस्तै, हिमाल आरोहण सुरु हुनुअघि आइसफल डाक्टरले रोप टाँगेर बाटो बनाउँछन् । गाइडले पर्याप्त तालिम दिन्छन् । जसले आरोहीलाई सहज बनाएको छ । 

विश्वकै डरलाग्दो एयरपोर्टमा उडान अनुभूति
लुक्लाको तेन्जिङ हिलारी एयरपोर्ट विश्वकै खतरनाक एयरपोर्टमध्येमा पर्छ, जहाँ सिजनमा दिनमै ४१२ वटासम्म उडान अवतरण हुन थालेका छन् । यो विमानस्थल सबैभन्दा व्यस्त विमानस्थलमा पर्छ । सगरमाथा आरोहण र अवलोकन गर्न जाने बढेसँगै जहाज र हेलिकोप्टर कम्पनीलाई यात्रु ओसार्न भ्याइ–नभ्याइ हुने गर्छ । पर्यटकले विश्वकै खतरनाक विमानस्थलमा उडान अवतरण गरेको अनुभव गर्न पाउँछन् । 

लुक्ला विमानस्थलमा सन् २०२२ को तुलनामा २०२३ मा हवाई यात्रु २३.८४ प्रतिशतले बढेको बताइएको छ । २ मे २०२३ मा जहाज र हेलिकोप्टर गरी ४१२ वटा उडान अवतरण भएका थिए । यस्तै, २ अप्रिलमा २५२, ३ अप्रिलमा ३७०, ४ अप्रिलमा २९१, १० अप्रिलमा ३०१, १३ अप्रिलमा ३१५, १४ अप्रिलमा ३१८ उडान अवतरण भएको तथ्यांक छ ।

लुक्ला विमानस्थलका अनुसार अप्रिलमा तीन हजार ६१७ उडान अवतरणमार्फत २६ हजार ८१ यात्रुले सेवा पाएका थिए भने मेमा तीन हजार ७६ उडान अवतरणमार्फत २१ हजार ७९१ जनाले सेवा लिएका थिए । सगरमाथा आरोहणको सिजन सिजन अप्रिल र मेमा कुल ४७ हजार आठ सय यात्रुले हवाई सेवा लिएको तथ्यांक छ ।

आङछिरिङ भन्छन्, ‘बरु काठमाडौंमा ट्याक्सी पाउन गाह्रो पर्ला, तर सिजनमा खुम्बु क्षेत्रमा हेलिकोप्टर पाउन गाह्रो छैन ।’ हेलिकोप्टर कम्पनीको ६० प्रतिशतभन्दा बढी व्यापार खुम्बु क्षेत्रमा हुने कैलाश हेलिकोप्टर सर्भिसेसका सञ्चालक प्रतापजंग पाण्डेले बताए । खुम्बु क्षेत्रमा उडान गरेर हेलिकोप्टरले करिब ३० करोड रुपैयाँको कारोबार गरेको उनको भनाइ छ । सिजनमा हेलिकोप्टर माउन्टेन फ्लाइटमा व्यस्त हुने गर्छन् । 

सगरमाथामा पाँचजना राखेर एउटा माउन्टेन फ्लाइट गरेको करिब पाँच हजार डलरसम्म पर्ने निमानुरुले बताए । यो प्याकेजमा लुक्लाबाट उडेको हेलिकोप्टर सगरमाथाअगाडि पुगेर एभरेस्ट भ्यु वा कोङ्देको होटेलमा ल्यान्ड गर्छ । त्यहाँ हिमाल हेर्दै ब्रेकफास्ट गरेर फर्किन पाइन्छ । यदि सगरमाथा हेरेर कालापत्थर र गोक्यो लेकमा ल्यान्ड गरी फोटो खिचेर फर्किन चाहे एउटा उडानको सात–आठ हजार डलरसम्म लाग्छ । हेलिकोप्टरमा सगरमाथा हेरेर विश्वकै अग्लो ठाउँमा बे्रकफास्ट गरी फर्किंदा प्रतिव्यक्ति १५ सय डलरसम्म खर्च हुने कोरा टुर्सका सञ्चालक अमात्य बताउँछन् ।

नेपाली पदयात्री पहिले बेवास्ता, अहिले रोजाइमा
पहिला खुम्बु क्षेत्रमा शेर्पाबाहेक अरू नेपाली भेट्न मुस्किल पर्थ्यो । हिमाल चढ्नेदेखि पदयात्रा गर्नेसम्म गोरो अनुहार हुन्थे । कोभिडअघिसम्म पनि नेपाली पदयात्रीलाई खुम्बुका होटेल व्यवसायीले वास्ता गर्दैनथे । ‘डलर फेयर’मा यात्रु बोक्न पल्किएका वायुसेवा कम्पनीले वास्ता गर्ने त कुरै भएन । त्यसवेला सरकारी ‘लेजर अफिसर’मात्र खुम्बु पुग्थे । उनीहरूको फुर्तीफार्ती अर्कै हुन्थ्यो । र, अझै पनि हुने गर्छ । उनीहरूले होटेलमा खाएको पैसा तिर्दैनथे । उल्टै व्यवसायीलाई अनावश्यक दुःख दिन्थे ।

स्थानीय व्यवसायीलाई लाग्थ्यो, सबै नेपाली यस्तै हुन्छन् होला । त्यसैले उनीहरूले नेपालीलाई वास बस्नै दिँदैनथे । डलरमा झार्ने पर्यटक राख्थे । तर, समय सधैँ एकनास रहँदैन । कोभिड महामारीपछि विदेशीहरू आउन ठप्प भयो । नेपालीमा घुमफिर गर्ने संस्कृति विकास भयो । विदेशीले भन्दा नेपालीले बढी खर्च गर्थे । 

कोभिडले थलिएका होटेललाई राम्रै टेवा दिए । जसले नेपाली घुमन्तेलाई हेर्ने नजर फेरियो । ‘नेपालीहरू कोठा भाडामा बार्गेनिङ गर्छन्, तर खानपिनमा मनग्ये खर्च गर्छन्, विदेशीको ठ्याक्कै उल्टो हुन्छ,’ आङछिरिङ शेर्पा सुनाउँछन्, ‘अहिले खुम्बुका व्यवसायीले विदेशीभन्दा नेपाली पाहुना खोज्न थालेका छन् ।’ तर, वायुसेवा कम्पनीले अहिले पनि नेपाली यात्रुलाई हत्तपत्त टिकटचाहिँ बिक्री गर्दैनन् । 

फोहोर व्यवस्थापनमा चेतना बढ्दै
सगरमाथा आरोहणसँगै प्रदूषणको कुरा पनि उठ्ने गर्छ । सगरमाथामै फोहोर थुप्रिएका तस्बिर वेलावेला सार्वजनिक हुने गर्छन् । तर, पछिल्लो समय सगरमाथामा त्यति धेरै फोहोर नभएको आङछिरिङको भनाइ छ । सन् १९९२ मा टाइम्स म्यागजिनमा एक साइडमा एभरेस्ट र अर्को ठाउँमा फोहोरको डंगुर राखेको फोटो प्रकाशित भएपछि धेरै सचेतना अपाउन थालिएको हो । ‘फोहोरको डंगुर सगरमाथाभन्दा अग्लो देखाएपछि अन्तर्राष्ट्रिय जगत्मा साह्रै आलोचना भयो,’ उनले भने, ‘त्यसपछि सरकार पनि सचेत बन्यो, पर्वतारोही, गाइड, सहयोगी स्टाफलगायत सबैमा चेतना आएको छ ।’

सरकारले फोहोर व्यवस्थापनमा कडाइ गरेको छ । सगरमाथा सरसफाइका विभिन्न अभियानसमेत चल्न थालेका छन् । हिमालमा फोहोर छाड्न हुन्न, हिमाल बचाउनुपर्छ भन्ने सोच पनि विकास हुँदै छ । मानव मलमूत्र व्यवस्थापनमा पनि आधुनिक प्रविधि प्रयोग हुन थालेको छ । यति हुँदाहुँदै पनि सगरमाथा फोहोरमुक्त छैन । आरोहीको बढ्दो भिडसँगै फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै छ । मलमूत्र व्यवस्थापनमा झन धेरै चुनौती छ ।

सगरमाथा विश्वकै ‘आइकन’ हो, तर अपेक्षित लाभ लिन चुकेका छौँ : चक्रबहादुर बुढा, महानिर्देशक, पर्यटन विभाग
विश्वकै सर्वोच्च शिखर सगरमाथा नेपालमै हुनु हाम्रा लागि अहोभाग्य र गौरव पनि हो । सगरमाथा सर्वोच्च शिखर र विश्वसम्पदा सूचीमा हुँदा यसै मार्केटिङ भइरहेकै हुन्छ । तैपनि हामी सगरमाथाबाट अपेक्षित लाभ लिन चुकेका छौँ ।

हिमाली भेगमा पर्यटक तान्न व्यवस्थित ट्रेकिङ रुट, सुरक्षित यात्रा, खाने–बस्ने सुविधा, मौसम बिग्रिँदा, हिमपहिरो जाँदा र लेक लाग्दा यथाशीघ्र रेस्क्यु गर्ने व्यवस्था हुनुपर्छ । आरोहीले ज्यान गुमाउँदा शव ल्याएर आफन्तलाई बुझाउन सक्नुपर्छ । सगरमाथा क्षेत्रमा ट्रेकिङ रुट र खान–बस्न सुविधासम्पन्न होटेल खुलिसकेका छन् । तर, रेस्क्यु अझै प्रभावकारी हुन सकेको छैन ।

आरोहीको शव व्यवस्थापनमा पनि समस्या भइरहेको छ । सरसफाइ अर्को चुनौती बनेको छ । हामी आधार शिविरभन्दा माथि अनुगमनका लागि जान सक्दैनौँ । आरोहणमा आउने पर्यटक खर्चालु हुन्छन् । हामीसँग यति धेरै हिमाल छन्, ती हिमालमा धेरै आरोही भित्र्याउन सक्नुपर्छ । अझै थुप्रै हिमाल आरोहणका लागि खुला गरिएका छैनन् । क्रमशः खुला गर्दै जानुपर्छ । हिमालबाटै समृद्धि हासिल गर्ने गरी हामी अगाडि बढ्नुपर्छ । 

खुम्बु क्षेत्रले देशको पर्यटन र अर्थतन्त्रमा ठूलो टेवा पुर्‍याएको छ : आङछिरिङ शेर्पा पूर्वअध्यक्ष, नेपाल पर्वतारोहण संघ
सगरमाथाले खुम्बु क्षेत्रलाई समृद्ध बनाएको छ नै, देशलाई विश्वसामु चिनाउने काम गरेको छ । देशको पर्यटन र अर्थतन्त्रमा ठूलो टेवा दिइरहेको छ । सगरमाथा खुम्बुका बासिन्दाका लागि वरदान नै हो ।

त्यहाँका स्थानीयले पर्यटनबाट ठूलो लाभ लिइरहेका छन् । सम्पदाबाट अपेक्षित लाभ लिन अझै सकिएको छैन । अहिले पूर्वाधार मजबुत भएन । पर्यटन पूर्वाधार विकासमा ध्यान दिनुपर्छ । राष्ट्रिय नीति पनि पर्यटनमैत्री नहुँदा पर्यटकीय मुलुकमा धेरै पर्यटक ल्याउन सकेनौँ । युरोपदेखि अमेरिकासम्म सीधा फ्लाइट हुनुपर्छ । अहिले मान्छे थोरै समयमा धेरै घुम्न खोज्छ ।

राष्ट्रिय ध्वजावाहक जबसम्म मजबुत हुँदैन, तबसम्म पर्यटनमा दिगो विकास सम्भव छैन । यदि अहिले नेपाल वायुसेवा निगमसँग १५ वटा वाइडबडी जहाज हुन्थे भने ४० लाख पर्यटक पुर्‍याउन असम्भव थिएन ।