१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
नवीन अर्याल काठमाडाैं
२o८१ जेठ ८ मंगलबार १२:o८:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सगरमाथाको लोबुचेमा पौने पाँच करोड लागतमा ‘पोर्टर हाउस’ बन्दै

Read Time : > 2 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार १२:o८:oo

सगरमाथा बेसक्याम्पतर्फ पर्यटकको भारी बोकेर हिँड्ने भरिया (पोर्टर)का लागि लोबुचेमा ‘पोर्टर हाउस’ बन्ने भएको छ । पौने पाँच करोड खर्चिएर निर्माण गर्न लागिएको पोर्टर हाउसको बिहीबार बिहान शिलान्यास गरिँदै छ ।  शिलान्याससँगै बिहीबारदेखि नै पोर्टर हाउस निर्माण सुरु हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले बताए ।

‘पहिलो चरणको कामका लागि हामीले खुम्बियुल्हा मध्यवर्ती क्षेत्र उपभोक्ता समितिसँग सम्झौता गरिसकेका छौँ, दोस्रो चरणको कामका लागि निम्सदाइ फाउन्डेसनले सहयोग गर्नेछ’ उनले भने, ‘शिलान्यास कार्यक्रममा सहभागी हुन गाउँपालिका प्रमुख मिङमा छिरी शेर्पा, निम्सदाइ फाउन्डेसनका प्रतिनिधिलगायत लोबुचे पुगिसक्नु भएको छ ।’ 

लोबुचेमा भरियाका लागि सुविधायुक्त वासस्थान बनाउन लागेको खुम्बियुल्हा मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष छेपाल दोर्जी शेर्पाले बताए । पोर्टर हाउस बनाउन कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ले चार करोड २५ लाख सहयोग गर्ने उनले बताए । यस्तै, खुम्बु पासाङ ल्हामु गाउँपालिकाले ५० लाख बजेट विनियोजन गरेको छ । निम्सदाइ फाउन्डेसनसँग पनि बिहीबार नै सहयोग सम्झौता हुने खुम्बियुल्हा उपभोक्ता समितिका अध्यक्ष शेर्पाले बताए । ‘अरू ठाउँमा निजी लगानीमै पोर्टर हाउस सञ्चालनमा छन्,’ उनले भने, ‘तर, लोबुचेमा भरियाले पाइरहेको दुःख देखेर आवास बनाउन कस्सिएका हौँ ।’ 

निम्सदाइ फाउन्डेसनको चार करोड २५ लाख र खुम्बु पासाङ ल्हामु गाउँपालिकाको ५० लाख सहयोगमा खुम्बियुल्हा मध्यवर्ती क्षेत्र उपभोक्ता समितिले निर्माण गर्ने पोर्टर हाउसको आज शिलान्यास

२१ सय ७३ वर्गफिट क्षेत्रफलमा बन्ने दुईतले भवनमा एकैपटक ८० जनासम्म भरियालाई लजिस्टिक सेवा दिन सकिन्छ । भवनमा दुईवटा बाथरुम, पाँचवटा ट्वाइलेट, एउटा ट्रिटमेन्ट रुम, किचन, डाइनिङ, वेटिङ रुमलगायत सुविधा रहने बताइएको छ । पोर्टर हाउस चार महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको शेर्पाले बताए । उनका अनुसार भरियाले आधा सस्तोमा सेवा प्राप्त गर्न सक्छन् । 

‘भरिया भनेका पर्वतीय पर्यटनको ब्याकबोन हुन्, उनीहरूविना ट्रेकिङ र आरोहण सम्भव छैन, उनीहरूलाई सहयोग गर्नुपर्छ,’ निम्सदाइले भने, ‘यो काम सरकारले नै गर्नुपर्ने थियो । तर, ट्रेकिङ र आरोहण सुरु भएको यतिका वर्षसम्म पनि उनीहरूका लागि काम गरिएन, म लक्की रहेछु, सहयोग गर्न सकेँ ।’ 

चार हजार नौ सय मिटर उचाइमा रहेको लोबुचे सगरमाथा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ । त्यहाँ सञ्चालित एक दर्जनजति होटेल सिजनमा पर्यटकलाई नै अपुग हुने गर्छन् । सिजनमा आरोही, पदयात्री, गाइड, भरिया, भान्से, सहयोगी गरी दैनिक हजारभन्दा बढी सगरमाथा बेसक्याम्पतर्फ लागिरहेका हुन्छन् । पर्यटकहरू फाक्दिङ, नाम्चे, तेङबोचे, डिङबोचे, लोबुचे, गोरकसेप वास बस्दै बेसक्याम्प पुग्छन् । सगरमाथासहित ल्होत्से र नुप्त्से हिमाल आरोहण गर्न जाने आरोही पनि लोबुचेमा वास बस्नुपर्छ । 

‘लोबुचेमा निजी जग्गा नहुँदा पोर्टर हाउस सञ्चालनमा छैनन्, अहिले भरिया लोबुचेमा भारी बिसाएर वास बस्न डिङबोचे र फेरिचे झर्नुपर्ने बाध्यता छ,’ शेर्पाले भने, ‘अर्को दिन बिहानै लोबुचे पुगेर भारी बोकी गोरकसेप लाग्नुपर्छ ।’ लोबुचेबाट डिङबोचे वा फेरिचे झर्न तीन घन्टा लाग्छ ।  लोबुचेभन्दा माथिल्लो स्टेसन गोरकसेपमा भने होटेलले नै पोर्टर सेन्टर चलाइरहेका छन् । 

‘गाउँपालिकाले दिने ५० लाख बजेटबाट साइट सम्याउने, ढुंगा फुटाउने, सोइलिङ गर्नेलगायतका कामहरू सुरु गरिहाल्छौँ,’ शेर्पाले भने, ‘शरद सिजनमा लोबुचेमा भरियाहरूले आरामसाथ वास बस्न पाउनेछन् ।’ लोबुचेमा सिमेन्ट, रड, काठजस्ता निर्माण सामग्री हेलिकोप्टर, याक, खच्चड वा भरियाले बोक्नुपर्छ । निर्माण सामग्री ढुवानीमा मात्रै प्रतिकेजी  साढे तीन सय रुपैयाँसम्म खर्च लाग्ने उनको भनाइ छ । 

टुरिजम बोर्ड, टान र एनएमएको बेवास्ता 
खुम्बिला मध्यवर्ती क्षेत्र उपभोक्ता समितिले लोबुचेमा पोर्टर हाउस बनाउन नेपाल टुरिजम बोर्ड, ट्रेकिङ एजेन्टस एसोसियसन अफ नेपाल (टान), नेपाल माउन्टेनियरिङ एसोसिएसन (एनएमए) पुगेर सहयोग माग गरिएको थियो । तर, आफ्नो प्रपोजलमाथि कहीँ–कतैबाट सुनुवाइ नभएको अध्यक्ष शेर्पाको भनाइ छ । 

टिप्सको आशामा भारी बोक्छन् भरिया
नेपालको ट्रेकिङ क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा छ । विदेशीलाई महँगो मूल्यमा बिक्री गर्नुपर्ने प्याकेज सस्तोमा बिक्री गर्न प्रतिस्पर्धा हुन्छ । सस्तो प्याकेज बिक्री गर्नेबित्तिकै ट्रेकिङ कम्पनीले पोर्टर, गाइड, भान्से, सहयोगीलाई ज्यालामा कडाइ गर्छन् । कम्पनीले भरियालाई दैनिक १६–१७ सय ज्यालामा काममा लगाउँछन् । ‘मै हुँ भन्ने कम्पनीले दुई हजार रुपैयाँसम्म दिने हुन्,’ शेर्पाले भने, जब कि, सरकारले भरियाको दैनिक ज्याला २५ सय तोकेको छ ।’

खुम्बु क्षेत्रमा दुई छाक खानाकै पाँच सय रुपैयाँ पर्छ । खाजामा तीय सय खर्च हुन्छ । यस्तै, एक कप चियाको डेढ सयका दरले दुई–तीन कप खायो भने चार–पाँच सय रुपैयाँ खर्च हुन्छ । त्यो हिसाबले एउटा पोर्टरको दैनिक खर्च नै १७–१८ सय रुपैयाँ पुग्छ । ‘ट्रेकिङ अफिसले दिने ज्याला सबै खान–बस्नमै सकिन्छ’ शेर्पाले भने, ‘उनीहरूले पर्यटकले टिप्स देला कि भन्ने आशामा मात्र भारी बोक्छन्, टिप्स नपाए रित्तै फर्किनुपर्छ ।’

ad
ad