१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ १७ बुधबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o माघ १७ बुधबार o७:o९:oo
Read Time : > 3 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार

देश विकासका लागि राष्ट्रिय आत्मविश्वास जगाउनुपर्छ : ओली 

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o माघ १७ बुधबार o७:o९:oo

एमाले अध्यक्ष केपी ओलीले देश विकासका लागि राष्ट्रिय आत्मविश्वास आवश्यक पर्ने बताएका छन् । उनले आक्रोश र उत्तेजनाबाट माथि उठेर सकारात्मक प्रयाससहित अघि बढ्नुपर्नेमा जोड दिएका छन् । 

‘देश बनाउन राष्ट्रिय आत्मविश्वासको आवश्यकता छ । व्यक्ति–व्यक्तिको आत्मविश्वासबाट राष्ट्रिय आत्मविश्वास सिर्जना हुन्छ । हामीले राष्ट्रिय आत्मविश्वास जगाउनुपर्छ । निराशा, आक्रोश, उत्तेजना, दोष अरूमाथि थुपार्ने कुरा मात्र गरेर पुग्दैन,’ मंगलबार ‘संसद्मा केपी ओली’ पुस्तक लोकार्पण कार्यक्रममा उनले भने, ‘हामीले के सकारात्मक प्रयास गर्छौँ ? राष्ट्रिय आत्मविश्वास कसरी जगाउँछौँ, त्यसमा भर पर्छ ।’

नेपालमा अहिले काम गर्न सक्रिय उमेर समूहको जनसंख्या ६० प्रतिशत भएकाले देश बनाउने वेला आएको उनको भनाइ छ । सक्रिय उमेर समूहलाई देश निर्माणमा लगाउन नसके मुलुक भविष्यमा असफल राष्ट्र हुने खतरा रहेको ओलीले औँल्याए । ‘अहिले देशमा काम गर्न सक्ने ६० प्रतिशतभन्दा बढी सक्रिय जनसंख्या छ । अलिक वर्ष हामीले केही गर्न सकेनौँ भने ज्येष्ठ नागरिक संख्या बढी भएको, काम गर्नेभन्दा आश्रित भएर खानेको, उत्पादन गर्नेभन्दा उत्पादन खपत गर्ने बढी जनसंख्या भएको देश हुन्छ,’ ओलीले भने, ‘त्यसअघि देश विकास गरिएन भने राष्ट्र असफल हुने खतरा हुन्छ । हामीसँग समय हुनेछैन । त्यसकारण राष्ट्रिय उत्पादन कसरी बढाउने, सुशासन, पारदर्शिता, भ्रष्टाचारलाई कसरी न्यून गर्दै शून्यतिर झार्नेतिर ध्यान दिनुपर्छ ।’

ओलीले विगतमा आफूले आवश्यकताभन्दा बढी बोलेजस्तो महसुस भए पनि विचार र निष्ठामा भने कहिल्यै त्रुटि नरहेको आफ्नै सम्बोधनमाथि पनि केही समीक्षा गरे । ‘संसद्मा बोल्दा, अन्यत्र बोल्दा जनता र देशप्रति निष्ठासहित बोलेको छु । अहिले आएर अलि सावधानीसहित बोल्नुपर्ने रहेछ भन्ने बोध हुँदै छ । होसियार भएर बोल्नुपर्ने रहेछ । मैले ड्याङड्याङ मिसाइल हान्दिएँ, तर अलिक त्यसको अर्थ सावधानीको मात्रै कमी हो, विचारमा, निष्ठामा त्रुटि होइन । मैले मिसाइल ठीक ठाउँमा ताकेरै हानेको छु, तर एक हान्दा पुग्ने ठाउँमा कहिलेकाहीँ ५–७ हाने हुँला । तर विचार र नीतिमा त्रुटि छैन,’ उनले भने ।

लोकतन्त्र जनताको जीवन परिवर्तनसँग नजोडिए असन्तुष्टिका कारण यसको अस्तित्व नै समाप्त हुन सक्नेतर्फ पार्टी र नेताहरू सचेत हुन नसकेको उनको भनाइ थियो । ‘०४८ देखि धेरैपल्ट भनेको छु, लोकतान्त्रिक प्रणाली पाइयो भनेर दसैँमा केटाकेटी खुसी भएजसरी खुसी भएर उफ्रियौँ, तर गर्नुपर्ने काम गरेनौँ भने सही ढंगले लोकतन्त्रलाई अगाडि बढाइएन भने, अर्थतन्त्र, जनताको जीवनसँग जोड्ने गरी बढ्न सकिएन भने फेरि लोकतन्त्रमाथि खतरा हुन सक्छ,’ उनले भने, ‘देश भावनाबाट चलाउन थालियो भने अनर्थ हुन्छ । देश भावनाले चल्दैन, सही व्यवहार र नीतिबाट चल्छ । देश र जनताका लागि काम गर्दैन, तर दुई–चार नेताको ठगी खाने भाडो भयो भने लोकतन्त्र टिक्दैन । लोकतन्त्रको विकल्प लोकतन्त्र नै हुन्छ, तर नराम्रो धक्का खान्छ कहिलेकाहीँ । तर, विकल्प अलि पछि अर्को रूपमा प्रकट हुन्छ, त्यसबीचमा देशले धेरै क्षति व्यहोरिसकेको हुन्छ ।’

एमाले महासचिव शंकर पोखरेलले विचार र दृष्टिकोणका सवालमा, पछिल्लोपटक माओवादीलाई रूपान्तरण गर्ने, संविधान निर्माण, संघीयतालगायत सवालमा ओलीको व्यक्तित्व सिंगो राष्ट्रलाई जोडेर एकताबद्ध गर्न सक्ने सामथ्र्य भएको सबै नेताको पनि महानेताका रूपमा प्रकट भएको स्मरण गरे । 

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली नेपाली राजनीतिमा पृथक् पहिचान बोकेको सर्वाधिक प्रतिभाशाली नेता भएको बताएकी छिन् । ‘संसद्मा केपी शर्मा ओली’ पुस्तकको लोकार्पण गर्दै उनले भनिन्, ‘पुस्तकका नायक केपी शर्मा ओली समकालीन राजनीतिक नेताहरूमा पृथक् पहिचान बनाउनुभएको नेता हुनुहुन्छ । सर्वाधिक प्रतिभाशाली नेताको रूपमा उच्च स्थान प्राप्त गर्न सफल उहाँ एमालेको अध्यक्ष र प्रधानमन्त्रीसमेत भइसक्नुभएको व्यक्तित्व हुनुहुन्छ ।’ 

ओलीमा धेरै विषयको ज्ञान रहेको चर्चा गर्दै उनले सबैका लागि प्रेरणा र ज्ञानको स्रोत भएको टिप्पणी गरिन् । ‘उहाँ राजनीतिका साथै कला, साहित्य, संस्कृति एवं धर्म–दर्शन र विज्ञानलगायत विषयमा समेत गहन ज्ञान भएको नेता हुनुहुन्छ । सघन अध्ययन र संघर्षमय जीवनको लामो अनुभवले खारिनुभएका नेता ओली हाम्रा लागि सदैव प्रेरणा र ज्ञानको स्रोत हुनुहुन्छ,’ भण्डारीले भनिन्, ‘यसर्थ, केपी ओलीले संसद्मा गर्नुभएका भाषणहरू पनि राजनीतिक हिसाबले मात्रै नभएर बहुविधागत ज्ञानका दृष्टिकोणले समेत महत्वपूर्ण छन् । र ती संकलनीय र संग्रहणीय पनि रहेका छन् ।’

भण्डारीले त्यसले नेपालको लोकतान्त्रिक शासन व्यवस्था र राष्ट्रिय विकासका लागि राजनीतिक नेताहरूले गरेका सार्वजनिक अभिव्यक्तिको दस्ताबेजीकरणले ठूलो महत्व राख्ने बताइन् । सार्वजनिक भाषणको दस्ताबेजीकरणले एकातर्फ राजनीतिक नेताहरूलाई आफूले जनतासामु गरेका वाचा, घोषणा र गरेका कार्यहरूका लागि जवाफदेही बनाउन सहयोग गर्ने र अर्कोतर्फ आफ्नो विचार, दृष्टिकोण एवं पहललाई जनता समक्ष पु¥याउन सञ्चार पुलको कामसमेत गर्ने भण्डारीको भनाइ थियो ।

गोलघरलाई केपी ओली राष्ट्रिय संग्रहालय घोषणा गर्न माग 
केन्द्रीय कारागार जगन्नाथदेवलमा रहेको गोलघरलाई केपी ओली राष्ट्रिय संग्रहालय घोषणा गर्न माग गरिएको छ । अन्वेषण केन्द्र काठमाडौंले मंगलबार आयोजना गरेको ‘संसद्मा केपी शर्मा ओली’ ग्रन्थ लोकार्पण कार्यक्रममा आयोजकले गोलघर र त्यसले ओगटेको क्षेत्रलाई केपी ओली राष्ट्रिय संग्रहालय घोषणा गर्न माग गरेको हो । गोलघरमा ओलीले पञ्चायतविरुद्धको संघर्षमा १४ वर्ष जेल जीवन व्यतीत गरेका थिए ।

ग्रन्थकी सम्पादक सानुमैया खड्काले गोलघरलाई केपी ओली राष्ट्रिय संग्रहालय घोषणा गर्नुपर्ने बताइन् । बिपी कोइरालाले सात वर्ष सुन्दरीजलमा जेल जीवन बिताउँदा बिपी संग्रहालय घोषणा हुन सक्छ भने पञ्चायतविरुद्ध जनता र प्रजातन्त्रका लागि १४ वर्ष कठोर जेल जीवन बताएका ओलीको नाममा गोलघरलाई ओली संग्रहालय बनाउन सकिने उनको भनाइ थियो ।

खड्काले ओलीका सम्बोधनमा प्रयुक्त प्रतीक र विम्ब शीर्षकमा विधावारिधिका लागि शोध गरेकी छिन् । त्यसक्रममा ओलीले ०४८ देखि ०७४ सम्म संसद्मा गरेको सम्बोधनलाई पुस्ताकारको रूप दिएकी छिन् । पुस्तकमा ओलीले संसद् बैठकमा भाग लिने क्रममा एक सय ७३ वटा सम्बोधन समेटिएको छ ।
 

ad
ad
ad
ad