१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० माघ १५ सोमबार १८:०७:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

सडन डेथमा मनाङलाई हराउँदै जावलाखेल युथ क्लब सेमिफाइनलमा

Read Time : > 1 मिनेट
२०८० माघ १५ सोमबार १८:०७:००

६ पटकको विजेता मनाङ–मस्र्याङ्दी क्लब सडन डेथमा जावलाखेल युथ क्लबसँग ७–६ ले स्तब्ध हुँदै २३औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो खेलबाट बाहिरिएको छ । पोखरा रंगशालामा सोमबार तेस्रो क्वार्टरफाइनल खेलको निर्धारित ९० तथा अतिरिक्त ३० मिनेटको समयमा एक–एकको बराबरी भएको थियो । मनाङमाथिको जितसँगै जावलाखेल सेमिफाइनलमा पुगेको छ । यसअघि प्रिक्वार्टरफाइनलमा जावलाखेलले मच्छिन्द्र फुटबल क्लबलाई १–० ले हराएको थियो । अब जावलाखेल फाइनल प्रवेशका लागि १७ माघमा थ्री स्टार क्लबको सामना गर्नेछ । 

टाइब्रेकरमा समेत बराबरी
एक–एकको बराबरपछि सेमिफाइनलमा पुग्ने टोलीको छिनोफानो टाइब्रेकरमा भएको थियो । तर, टाइब्रेकरमा समेत मनाङ र जावलाखेलले चार–चारको गोल गरे । त्यसपछि खेलको निर्णय सडन डेथबाट भयो । जसमा जावलाखेलले बाजी मार्न सफल भयो । टाइब्रेकरमा जावलाखेलका लागि विशाल तामाङ, पुस्कर खड्का, छिरिङ लामा र प्रवेश कुँवरले गोल गरे । मनाङका जय गुरुङ, अशोक खवास, सुदीप श्रेष्ठ र अस्विन घोरासैनीले गोल गरेका थिए । 

टाइब्रेकरमा जावलाखेलबाट पाँचौँ नम्बरका हिसुब थपिलयाको प्रहार विपक्षी गोलरक्षकले विफल पारेका थिए । मनाङका लागि तेस्रो नम्बरमा आएका निशान लिम्बूको प्रहार विपक्षी गोलरक्षकले पारेका थिए । सडन डेथमा जावलाखेलका हरिसराज भट्ट, शिशिर लेखी र प्रदीप बुढाथोकीले गोल गरे । सेमान्त थापाको प्रहार गोलरक्षकले विफल पारे । मनाङका लक्षु थापा मगर र गोलरक्षक जियारथ शेखले गोल गरेका थिए । मनाङका सुरज सिंह र रणदीप पौडेलको प्रहार विपक्षी गोलरक्षकले विफल पारेपछि जावलाखेल अन्तिम चारमा पुगेको हो । 

मध्यान्तरपछि दुई गोल 
जावलाखेल र मनाङले पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए । खेलको ५५औँ मिनेटमा जावलाखेलका हिसुबले १–० का लागि गोल गरे । सुदीप श्रेष्ठले दिएको लामो पासलाई उपयोग गर्दै पेनाल्टी क्षेत्रबाट उनले गोल गरेका हुन् । हिसुबले मच्छिन्द्रविरुद्धको खेलमा एक मात्र निर्णायक गोल गरेका थिए । खेलको ८९औँ मिनेटमा मनाङका लागि राजेश परियारले मैदानको बायाँ साइड उत्कृष्ट गोल गरेका थिए । 

मनाङलाई जित्न गाह्रो भयो
नरेश थापा, प्रशिक्षक, जावलाखेल

खेलको ८९औँ मिनेटसम्म हामी जितनजिक थियौँ । तर, अन्तिम समयमा गोल व्यहोरियो । खेलाडीले डिफेन्सिफ खेल्नुपर्नेमा आक्रामक खेले । यसकारण मनाङले गोल गरेको हो । खेल ड्र भएपछि जित्न धेरै मिहिनेत गर्नुप¥यो । मच्छिन्द्रविरुद्धभन्दा मनाङसँगको खेल राम्रो थियो ।  

विनाअभ्यास खेल्न आयौँ 
सनोज श्रेष्ठ, प्रशिक्षक, मनाङ

हामीले निकै छोटो समयको तयारीका साथ प्रतिस्पर्धामा भाग लिन आएका हौँ । मनाङले विभिन्न क्लबका खेलाडीलाई जुटाएर विनाअभ्यास खेल्न आएको हो । छोटो समयमा खेल्न आएकाले सोचेअनुसार नतिजा निकाल्न सकिएन । जावलाखेलविरुद्ध योजनाअनुसार खेल भएन ।