मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ १४ आइतबार
  • Tuesday, 17 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o माघ १४ आइतबार २o:४७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गठबन्धन सरकारमाथि ओलीको टिप्पणी : ‘धोकाबाट बनेको सरकार धोकाबाटै ढल्न सक्छ’ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o माघ १४ आइतबार २o:४७:oo

एमाले अध्यक्ष केपी ओलीले गठबन्धनभित्रको धोकाधडीकै कारण कुनै पनि वेला सरकार ढल्ने सम्भावना रहेको बताएका छन्। एसिडपीडितहरूको कथामा आधारित ‘नमेटिने घाउ’ चलचित्र घोषणा समारोहमा आइतबार उनले धोकाबाट बनेको सरकार धोकाबाटै ढल्न सक्ने दाबी गरेका हुन्।

‘केन्द्रमा उलटपुलट हुने सम्भावना सधैँ हुन्छ। यो धोकाबाट बनेको सरकार, धोकाबाटै जान सक्छ,’ कोशी प्रदेशमा सरकार विस्तारमा ढिलाइ र राष्ट्रिय सभा चुनावमा गठबन्धनभित्रै भएको धोकाधडीबारे सञ्चारकर्मीको जिज्ञासामा ओलीले भने, ‘केटाकेटीको एउटा खेल छ– गोलोगोलो घुम बाबु गीत सुन्दै घुम भनेजस्तै गोलोगोलो घुमाउने कि कता फर्काउने?’ 

उनले सरकारले सहिदको सूची थप्न गरिरहेको गृहकार्यमाथि आपत्ति जनाए। ‘जति सहिद भए भइहाले, सहिद थप्दै लानुहुँदैन। सहिद थप्ने भनेको मान्छे मार्ने होइन, त्यो गर्नुहुँदैन,’ उनले भने। 

एसिडपीडितहरूको कथामा आधारित ‘नमेटिने घाउ’ मा ओलीलाई प्रधानमन्त्रीको भूमिकामा खेलाउने आयोजकले जनाएको छ। उनले त्यो अनुरोधलाई स्वीकार गरेको जानकारी गराएका छन्।

‘राजतन्त्र सकिएपछि ज्ञानेन्द्र शाह कुसका राजा’
एमाले अध्यक्ष ओलीले दरबार हत्याकाण्डलाई भयानक षड्यन्त्रको संज्ञा दिँदै ज्ञानेन्द्र शाह कहिल्यै राजा नबनेको दाबी पनि गरे। ‘हत्याकाण्ड भएपछि दुनियाँभरि एउटा प्रेम कहानीको चर्चा चलाइयो। दीपेन्द्रको प्रेम कहानी भनेर यस्ता वाहियात कुराको पछाडि नेपाली जनता कुद्न हुन्छ? त्यो भयानक षड्यन्त्र थियो, त्यसले राजा, रानी, युवराज, अधिराजकुमारी अन्त्य गर्‍यो, राजतन्त्र समाप्त भयो, राजाको जेठो छोरो राजा हुन्छ, कान्छोसमेत मारिइसकेपछि, छोरीसमेत मारिइसकेपछि राजतन्त्र समाप्त भो,’ ओलीले भने, ‘त्यति वेलाको सरकारको कमजोरी हो। अलिक समय राजतन्त्र भनेर फेरि ज्ञानेन्द्र शाहलाई ल्याएर सजाउने, राख्ने काम भयो। ज्ञानेन्द्र शाह राजा होइनन्। बाहुनले टपरीमा बाहुन भनेर कुशको बाहुन राखेजस्तै उनी त्यस्तै कुशको राजा मात्र हुन्। यस्ता कुरामा के बेकार बहस गर्ने।’

राजसंस्था फर्काउन भइरहेको गतिविधि र आन्दोलनबारे टिप्पणी गर्दै ओलीले त्यस्तो कुनै सम्भावना नरहेको बताए। ‘राजसंस्था कता फर्काउने? लेफ्ट राइट पूर्व–पश्चिम अगाडि–पछाडि कता? लुटको राज्य सम्झिएर यसो मुख मिठ्याउने कुरा मात्र हो। सिरियस विषय होइन,’ ओलीले भने, ‘आफ्नो अस्तित्व देखाउनलाई कोही पूर्व-पश्चिम अभियान भनेर हिँड्दै छन्। कोही आन्दोलनका कुरा गर्छन्। कोही नारायणघाट–बुटवल पैदल यात्रा गरेँ भन्थे, गरे होलान्। यो सबै आफ्नो अस्तित्व रक्षाको कुरा हो।’