मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ १४ आइतबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o माघ १४ आइतबार o७:४३:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

माओवादी घटक विभाजित भएकाले लक्ष्यमा पुगिएन : प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o माघ १४ आइतबार o७:४३:oo

प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी घटकहरूबीच एकता अपरिहार्य रहेको बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा सहिद प्रतिष्ठानको १४औँ वार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै उनले माओवादी घटक विभाजित भएका कारण लक्ष्यमा पुग्न नसकिएको बताए । परिवर्तन रक्षाका निम्ति माओवादी विचारधारामा छरिएर रहेका नेता तथा कार्यकर्ता एकताबद्ध हुनुपर्नेमा उनले जोड दिए । ‘माओवादी घटकहरू विभाजित भएका कारण लक्ष्यमा पुग्न सकिएन । देशभरका माओवादी आन्दोलनका सबै धारालाई एकताबद्ध हुन र एकढिक्का भएर काम गर्न अपिल गर्दछु,’ उनले भने ।

प्रचण्डले जनयुद्धका सहिद, बेपत्ता तथा घाइतेलाई राज्यले सम्बोधन गर्दै अगाडि बढेको स्मरण गर्दै जनयुद्धका घाइतेको वर्गीकरण गरिने प्रतिबद्धता पनि जनाए । ‘१५–१६ वर्षअघि घोषणा भएका सहिदले औपचारिक रूपमा राष्ट्रिय सहिदको दर्जा प्राप्त गर्न सकेनन् । औपचारिक ढंगले त्यसलाई दर्ता नगरिएको हुनाले, त्यसलाई राजपत्रमा प्रकाशित नगरिएको हुनाले राष्ट्रिय सहिदको सम्मान प्राप्त गर्नबाट हाम्रा हजारौँ सहिद वञ्चित भए । यसपटक मैले प्रधानमन्त्रीको रूपमा त्यो अधुरो कामलाई पूरा गर्नैपर्छ भन्ने संकल्प लिएको हुनाले जनयुद्ध र जनआन्दोलनका सहिदहरूलाई राष्ट्रिय सहिदको सम्मान गर्नुपर्ने थियो । त्यो सम्मान गर्ने कार्य पूरा भएको छ ।’ 

छुट भएका झन्डै थप तीन हजारलाई सहिद घोषणा गर्ने निर्णय भइसकेको र राजपत्रमा प्रकाशित गर्ने प्रक्रिया अगाडि बढिसकेको उनले बताए । कतिपय घाइते सूचीकृत हुन छुटेको भन्दै उनले उनीहरूलाई पनि समावेश गरिने प्रतिबद्धता जनाए । प्रचण्डले सरकारले गरेका राम्रा काम जनतासम्म पु¥याउन आग्रहसमेत गरे । आर्थिक समृद्धि, सुशासन र सामाजिक न्यायको कामले जनतामा आशा जागेको उनले दाबी गरे । संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सहमतिमै टुंगिने उनको भनाइ थियो ।