Skip This
विमानस्थलमा अध्यागमन–प्रहरी टकराव : प्रहरीद्वारा अधिकृतमाथि कुटपिट 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ १३ शनिबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o माघ १३ शनिबार o६:o५:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

विमानस्थलमा अध्यागमन–प्रहरी टकराव : प्रहरीद्वारा अधिकृतमाथि कुटपिट 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o माघ १३ शनिबार o६:o५:oo

भिजिट भिसाको विषयलाई लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनका कर्मचारी र प्रहरीबीच सम्बन्ध चिसिएका वेला दुई पक्षबीच शुक्रबार कुटाकुट नै भएको छ । अध्यागमनका कर्मचारी ड्युटी सकेर फर्कन लागेका वेला चेकजाँचको विषयलाई लिएर विवाद हुँदा कुटाकुट भएको हो ।

प्रहरीले अध्यागमन अधिकृत छायालाल मोक्तानलाई कुटपिट गरेको र अध्यागमन प्रमुख गोगनकुमार हमालमाथि समेत दुर्व्यवहार गरेको अध्यागमन कार्यालयले जनाएको छ । प्रहरीले भने सुरुमा अध्यागमन कर्मचारीले हात हालेको दाबी गरेको छ । घटनाको विषयमा गृह मन्त्रालयले छानबिन समिति बनाएको छ । 

गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको नेतृत्वमा छानबिन समिति बनेको हो । समितिमा नेपाल प्रहरीका डिआइजी राजेश बाँस्तोला र गृह मन्त्रालयका उपसचिव कुलबहादुर जिसी सदस्य छन् । 

ड्युटीबाट फर्कन लागेका कर्मचारीमाथि प्रहरीले खानतलासी लिन लागेपछि विवाद सुरु भएको थियो । कर्मचारीले आफूहरूमाथि किन खानतालासी गर्न लागेको भन्दै प्रहरीलाई असहयोग गरेका थिए । त्यही क्रममा प्रहरीमाथि गाली गलौज भएको र विवाद बढेपछि हानाहान भएको थियो । सिसिटिभी भिडियोमा पनि दुवै पक्षबाट हानाहान भएको देखिएको छ । 

अध्यागमन कार्यालयले गृह मन्त्रालयमा पठाएको विवरणअनुसार सुरुमा प्रहरी जवान रविरञ्जन गुप्ताले अश्लील शब्द प्रयोग गरी गाली गरेका थिए । पछि असइ सञ्जय तामाङलगायत प्रहरीले लछारपछार गरी कुटपिट गरेका हुन् । 

सो विषयमा सिसिटिभी मोनिटर रुममा अध्यागमन अधिकारी र प्रहरीले भिडियो हेर्ने क्रममा फेरि विवाद भएको थियो । त्यहाँ डिएसपी रेवतीरमण पोखरेल, इन्स्पेक्टर मधुसूदन विकसहितका प्रहरीले फेरि ढोका बन्द गरी अध्यागमन प्रमुख गोगनकुमार हमाललगायतमाथि फेरि कुटपिट गरेको भन्दै अध्यागमनले उनीहरूमाथि समेत कारबाहीको माग राखी मन्त्रालयलाई पत्राचार गरेको छ । छानबिन समितिको प्रतिवेदनका आधारमा दोषी देखिएकामाथि कारबाही हुने गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराई बताउँछन् । 

विमानस्थलमा केही महिनाअघिदेखि नै प्रहरी र अध्यागमनबीच विवाद छ । अध्यागमनले भिजिट भिसाको सेटिङ चलाएको प्रहरीको आरोप छ । जसमा प्रहरीले अध्यागमन अधिकृतसहितलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । अध्यागमनका अधिकारीले भने प्रहरीले आफ्नो काममा हस्तक्षेप गर्दै आएको आरोप लगाउँदै आएका छन् । प्रहरीले अनुसन्धानमा तानेको भन्दै अध्यागमन कर्मचारीले केही दिनअघि कामसमेत रोकेर विरोध गरेका थिए । देशको अन्तर्राष्ट्रिय विमानस्थलमा दुई प्रमुख निकायबीच नै बढेको टकरावले शान्ति सुरक्षामै असर पर्न सक्ने चिन्ता गृह मन्त्रालयको छ ।