१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
गगन अयडी बाजुरा
२०८० माघ ११ बिहीबार १४:२५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दुई वर्षदेखि सचिव नभएपछि वडा कार्यालयमा तालाबन्दी

Read Time : > 1 मिनेट
गगन अयडी, बाजुरा
२०८० माघ ११ बिहीबार १४:२५:००

दुई वर्षदेखि वडासचिव नभएपछि बाजुराको बुढीगंगा नगरपालिका– ७ को कार्यालयमा तीन दिनदेखि तालाबन्दी गरिएको छ।

वडासचिव नहुँदा दैनिक सेवा लिन नागरिकलाई समस्या भएको भन्दै मंगलबार बिहानदेखि स्थानीय राजनीतिक दलहरूले वडा कार्यालयमा ताला लगाएका हुन्।

दुई वर्षदेखि सचिव नहुँदा ७ नम्बर वडाका स्थानीय ८ नम्बर वडामा गएर जन्म, मृत्यु र बसाइँसराइलगायत पञ्जीकरणका काम गराउँदै आएका छन्। अब वडा नम्बर ८ ले काम गर्न नसक्ने भनेपछि दलका स्थानीय कमिटीहरूले तालाबन्दी गरेका हुन्।

सेवा लिनबाट वञ्चित भएका वडावासीको समस्या समाधान गर्न वडा र नगरपालिकाले कुनै चासो नदेखाएपछि वडा कार्यालयमा तालाबन्दी गरेको नेकपा एमालेका वडा कमिटी अध्यक्ष प्रेमबहादुर विष्टले बताए।

सोमबार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका वडा कमिटी अध्यक्षहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै मंगलबार बिहान ताला लगाएका माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष चरतबहादुर विष्टले बताए।

नेपाली कांग्रेसका वडा सभापति वीरबहादुर केसी, नेकपा एमालेका नगर कमिटी अध्यक्ष प्रेमबहादुर विष्ट, माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष भक्त विष्ट र एकीकृत समाजवादीका जिल्ला कमिटी सदस्य दीपकबहादुर केसीले संयुक्त विज्ञप्ति जारी गर्दै वडा कार्यालयमा तालबन्दी गरेका हुन्।

यता बुढीगंगा नगरपालिकाका– ७ का वडाध्यक्ष भुवनसिंह केसीले भने आफ्नो दुई कार्यकाल बित्न लाग्दासम्म वडामा सचिव नहुँदा आफूलाई काम गर्ने वातावरण नभएको बताए। पटक–पटक नगरपालिकासँग कर्मचारी माग गरे पनि नगरपालिकाले कुनै चासो नदिएको उनको भनाइ छ।

बुढीगंगा नगरपालिकाका निमित्त नगर प्रमुख एवं नगर प्रवक्ता हेमराज जैशीले नगरपालिकाले वडा नम्बर ७ मा पटकपटक कर्मचारी पठाए पनि कुनै कर्मचारीले पनि जान नमानेकाले समस्या भएको बताए। नगरपालिका प्रमुख र उपप्रमुख कामविशेषले प्रदेशतिर गएकाले उनीहरू आउनेबित्तिकै छलफल गरी तुरुन्तै वडासचिव र प्रविधिकहरू पठाउने व्यवस्था गर्ने जैशीले बताए।