आइसिसी यू–१९ विश्वकप
आइसिसी यू–१९ विश्वकपको दोस्रो खेलमा नेपाली बलर पाकिस्तानको विकेटका लागि संघर्ष गरिरहेका छन् ।
पहिले ब्याटिङ गरेर नेपालले दिएको एक सय ९८ रनको लक्ष्य पछ्याइरहेको पाकिस्तानले ४० ओभरमा चार विकेट गुमाएर एक सय ५१ रन बनाएको छ । कसिलो बलिङ गरिरहे पनि नेपाली बलरले क्रिजमा जमेर बसेका अहमद असान र अजान अविसलाई न आउट गर्न सकेका छन्, न रन बनाउन ।
पाकिस्तानलाई लक्ष्यमा पुग्न रोक्ने हो भने विकेट लिनु अति आवश्यक छ । त्यसैले नेपाली बलरले पाकिस्तानको विकेटका लागि निकै संघर्ष गरिरहेका हुन् । पाँचौँ विकेटका लागि पाकिस्तानले ५० रनको साझेदारी गरिसकेको छ ।
२८औँ ओभरमा एक सय चार रन बनाएको अवस्थामा पाकिस्तानले चौथो विकेट गुमाएको थियो । तर, त्यसपछि क्रिजमा जमेर बसेका अहमद र अजानले बिस्तारै बिस्तारै टिमलाई लक्ष्यतर्फ अघि बढाइरहेका छन् । अहमदले २३ र अजानले ४० रन बनाएका छन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर एक सय ९७ रन बनाएको थियो । नेपालका लागि ओपनर विपिन रावलले ६८ बलमा चार चौका र एक छक्काको मद्दतमा सर्वाधिक ३९ रन बनाए ।
पाकिस्तानी तीव्र गतिका बलरसामु नेपालका ब्याटर चल्न सकेनन् । आशा गरिएका ओपनर अर्जुन कुमाल र आकाश त्रिपाठीले राम्रो प्रदर्शन गर्न सकेनन् । दुवैजना ६–६ रनमै आउट भएपछि नेपाल सुरुबाटै दबाबमा रह्यो ।
यस्तै, नेपालका लागि आकाश चन्द नटआउट रहँदै ११ बलमा एक चौका र एक छक्काको मद्दतले १६ रन जोड्न सफल भए । दीपक डुम्रे २६ र सुवास भण्डारी २० रन बनाएर पेभेलियन फर्किए ।
३७ बलमा तीन चौकाको मद्दतले २३ बनाएका कप्तान देव खनाल लामो सर्ट हान्न खोज्दा क्याचआउट भए । दीपेश कँडेल १३ र उत्तम मगरले चार रन मात्र जोड्न सके । नेपालले २५ रन अतिरिक्त पाएको थियो ।
पाकिस्तानका लागि अरफात मिनहासले तीन विकेट, अहमद हुसैन र उबैद शाहले समान दुई–दुई विकेट लिए। यस्तै, अली अस्फद, खुबैव अली र अली अस्फदले समान एक–एक विकेट झारे ।