१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नवीन गुरुङ संखुवासभा
२०८० माघ ७ आइतबार १२:३५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेता कार्कीको दाबी- राष्ट्रिय सभाका सबै सिट गठबन्धनले जित्छ 

Read Time : > 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०८० माघ ७ आइतबार १२:३५:००

कांग्रेस नेता तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी राष्ट्रिय सभा निर्वाचनमा सत्तागठबन्धनले सबै सिट जित्ने दाबी गरेका छन्।

आज आइतबार संखुवासभाको सदरमुकाम खाँदबारीमा प्रेस युनियनद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता कार्कीले यस्तो दाबी गरेका हुन्।

उनले सत्तागठबन्धनले १९ वटा नै सिटमा उम्मेदवारी दिएको र सबै सिटमा सहज रूपमा जित्ने दाबी गरे। ११ माघमा यसको नतिजा आइहाल्ने भएकाले सत्तागठबन्धनले जित्दैन कि भन्ने शंका नगर्नसमेत आग्रह गरे। 

कोशी प्रदेशबाट सत्तागठबन्धनमा कांग्रेसका कृष्णप्रसाद सिटौला र माओवादी केन्द्रकी चम्पादेवी कार्की उम्मेदवार रहेको बताउँदै कांग्रेसका अनुभवी नेता सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने तयारी रहेकोसमेत उनले खुलासा गरे। 

‘नेपाल अझै पनि विश्वका अन्य मुलुकमा द्वन्द्वग्रस्त क्षेत्रको सूचीमा छ। त्यो हटाउनुपर्छ भनेर लागेका छौँ। सत्य निरुपण तथा बेपत्ता आयोगलगायतका कामहरू बाँकी नै छ। संविधान जारी गर्न र माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने सिटौलाले खेलेको महत्वपूर्ण भूमिकालाई हेरेर राष्ट्रिय सभाको अध्यक्ष बनाउन लागिएको हो। उहाँले यी आयोगका काम सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेल्नुहुनेछ भन्ने आशा छ। नेपाल शान्त र सुन्दर मुलुक हो भनेर विश्वलाई चिनाउनुछ,’ नेता कार्कीले भने।

राष्ट्रिय सभा निर्वाचनको सन्दर्भलाई लिएर नेता कार्की कार्यकर्ताहरूसँग भेटघाट गर्न कोशी प्रदेशका विभिन्न जिल्ला सोलुखम्बु, खोटाङ, भोजपुर हुँदै हिजो बेलुकी संखुवासभा आइपुगेका हुन्। आज नेपाली कांग्रेसको पार्टी कार्यालय खाँदबारीमा अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको छ। उनी आजै धनकुटा हुँदै ९ माघमा विराटनगर पुग्ने कार्यक्रम रहेको बताइएको छ। 

फरक प्रसंगमा नेता कार्कीले संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनामा देखिएको मुआब्जा विवादले चाँडै निकास पाउने बताए। कार्कीले भने, ‘लामो समय गुमेको अरुण तेस्रो हामीले फर्काएर ल्यायौँ, मुआब्जालगायतका सामान्य कुराहरू यहाँका जग्गाधनीहरूको अधिकार हो, त्यो पाउनुहुन्छ। म जलस्रोतमन्त्री भएको बखतमा अरुण तेस्रो जलविद्युत् आयोजना फर्काएर ल्याएको हो।’

नेता कार्कीले विश्वभर कोरोनापछि तहसनहस भएको अर्थतन्त्र बिस्तारै लयमा फर्किँदै गरेकोसमेत दाबी गरे। उनले वर्तमान सत्तागठबन्धन सरकारले अर्थतन्त्र लयमा फर्काउन काम गरिरहेको उनको भनाइ छ। 

नेपालका लागि एमसिसि सबैभन्दा ठूलो वैदेशिक सहायता भएकाले नेपाल फाइदामा रहेको नेता कार्कीले बताए। उनले पाँच वर्षभित्र एमसिसीको काम सम्पन्न गर्नुपर्नेमा जोड दिँदै हाम्रा पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री र म अर्थमन्त्री भएको समयमा अर्थमन्त्री भएको समयमा एमसिसी पास गरिएको हो। यो एमसिसी परियोजना मुलुकको हितमा रहेको बताए। 

आसन्न राष्ट्रिय सभा निर्वाचनमा आफ्नो पक्षमा परिणाम ल्याउन सत्तागठबन्धनलाई जिताउने अभियानमा नै कार्की जिल्ला दौडाहा आएका हुन्। आगामी ११ माघमा राष्ट्रिय सभाका १९ सिट निर्वाचन हुँदै छ।