बागमती प्रदेशको राजधानी हेटौँडामा जारी दोस्रो बागमती प्रदेश लिग फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। सोमबार लिग चरणका अन्तिम खेलहरू सकिएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको हो।
प्रतियोगिताको सेमिफाइनलमा सिन्धुलीको ब्लु अल्पाइन क्लब, ललितपुरको लक्की स्टार फुटबल क्लब, काठमाडौंको चित्लाङ एफसी र दोलखाको टाइगर टिम सेमिफाइनल पुगेका हुन्। सोमबार भएको लिग चरणको अन्तिम खेलमा सिन्धुपाल्चोकको चौतारा स्पोर्टस् क्लबलाई २–१ गोल अन्तरले हराउँदै सिन्धुलीको ब्लु अल्पाइनले सेमिफाइनलमा स्थान बनाएको हो। यस्तै, सोमबार नै भएको दोस्रो सेमिफाइनलमा धादिङको धुनीबेँसी युथ क्लबलाई ३–१ गोल अन्तरले हराउँदै ललितपुरको लक्की स्टार फुटबल क्लब सोमिफाइनल पुगेको हो।
यसअघि मंगलबार भएका खेलमा जित निकाल्दै काठमाडौंको चित्लाङ र दोलखाको टाइगर टिमले सोमिफाइनलमा स्थान बनाएका थिए। बुधबारबाट सेमिफाइनलका खेलहरू हुने प्रतियोगिता आयोजक बागमती प्रदेश फुटबल संघका महासचिव लवराज ठकुरीले जानकारी दिए। महासचिव ठकुरीका अनुसार बुधबार हुने पहिलो सेमिफाइनल खेलमा सिन्धुलीको ब्लु अल्पाइन क्लब र दोलखाको टाइगर टिम भिड्नेछन् भने बिहीबार हुने दोस्रो सेमिफाइनल खेलमा काठमाडौंको चित्लाङ एफसी र ललितपुरको लक्की स्टार भिड्नेछन्।
प्रतियोगिताको फाइनल खेल २० पुसमा हुनेछ। प्रतियोगिताको विजेता टोलीले नगद २ लाख र उपविजेता बन्ने टोलीले १ लाख रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।