१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ ४ बिहीबार
  • Sunday, 22 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o माघ ४ बिहीबार o६:१२:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

प्रधानमन्त्री कप एकदिवसीय : दोस्रो दिन पनि सूर्यकै सनसनी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o माघ ४ बिहीबार o६:१२:oo

प्रधानमन्त्री कप एकदिवसीय (पिएम कप) क्रिकेट प्रतियोगितामा बायाँहाते स्पिनर सूर्य तामाङ लगातार दोस्रो दिन चम्किएका छन् । मूलपानी क्रिकेट मैदानमा सूर्यले मंगलबार र बुधबारको दिनलाई विशेष बनाएका छन् । अघिल्लो दिन उनले प्रतियोगिताकै पहिलो ह्याट्रिकसहित ६ विकेट लिए ।

दोस्रो दिन बिहीबार उनले पाँच विकेटको प्रदर्शन गरी २४ घन्टाको अन्तरमा ११ विकेट हात पारेका छन् । उनकै उत्कृष्ट प्रदर्शनको मद्दतमा बागमतीले उपाधि दाबेदार त्रिभुवन आर्मी क्बललाई तीन विकेटले हरायो । बागमतीले पनि लगातार दुई खेलमा जित निकाल्दै सेमिफाइनलको आशा जीवितै राखेको छ । जितसँगै बागमती चौथो स्थानमा उक्लेको छ । बागमतीले चार खेलबाट ४ अंक जोडेको छ । 

चार खेलमा १७ विकेट
बागमतीका मुख्य बलरका रूपमा अगाडि बढिरहेका सूर्यले चार खेलमा विकेटविहीन हुनु परेन । उनले राष्ट्रिय खेलाडीले भरिएको पुलिसविरुद्ध पहिलो खेलमा ५० रन खर्चेर तीन विकेट लिए । यसवेला उनले ६ ओभर बलिङ गरेका थिए । नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा रहेको एपिएफविरुद्ध उनले केवल दुई ओभर मात्र बलिङ गरी तीन विकेट लिए । घरेलु क्रिकेटमै करिअरकै उत्कृष्ट प्रदर्शन खेल उनको मधेशविरुद्ध रह्यो । मूलपानी मैदानमा उनले मधेशसँगको प्रतिस्पर्धामा ६ विकेट लिए । खेलमा उनले सात ओभर बलिङ गरेका थिए । 

उनले आर्मीसँगको खेलसँगै समग्रमा चार खेलबाट १७ विकेट हात पारेका छन् । यसक्रममा उनले १२६ रन खर्चे । आर्मीविरुद्धको प्रतिस्पर्धामा उनले १४.४ ओभरमा पहिलो विकेट लिए । उनले भीम सार्कीलाई आउट पारे । सोही ओभरमा उनले नेपाली राष्ट्रिय टोलीका अलराउन्डर तथा विस्फोटक ब्याट्सम्यान कुशल मल्ललाई पहिलो बलमै बोल्ड गरे । सूर्यले १८.२ ओभरमा बसिर अहमेद, २०.५ ओभरमा सन्दीप रिजाललाई विकेटपछाडि क्याच आउट र सहदाव आलमलाई २४.१ ओभरमा बोल्ड गर्न सफल भए ।

आर्मी २७ ओभरमै अलआउट
पहिलो ब्याटिङ गरेको आर्मीले स्पिनर सूर्यको घातक बलिङको सामना गर्न सकेन । आर्मी २७.१ ओभरमा ९७ रनमै समेटियो । प्रत्युत्तरमा सहज लक्ष्य पछ्याएको बागमतीले २२.१ ओभरमा सात विकेटको क्षतिमा १०३ रन जोड्दै जित निकाल्यो । बागमतीको जितमा दुई ब्याट्सम्यानले समान २१ रनको योगदान दिए । अशोक पौडेल र प्रतिश जिसीले समान २१ रन जोडेका हुन् । अशोकले ३० बलमा दुई चौका र एक छक्का प्रहार गरे । प्रतिशले २४ बलमा समान एक चौका र छक्का प्रहार गरे । यसैगरी इशान पाण्डेले १२ र विकेटकिपर ब्याट्सम्यान रविन जोशीले १२ रन योगदान दिए । कप्तान रित गौतम ४ रनमा आउट भए । 

बागमतीले इनिङ्सको सुरुवाती छैटौँ बलमै विकेट गुमाएको थियो । आर्मीका लागि राष्ट्रिय टोलीका फास्टबलर सोमपाल कार्मीले सात ओभरमा २६ रन खर्चेर तीन विकेट लिए । साहव आलमले ४५ रन खर्चंदै दुई विकेट लिए । जितेन्द्र मुखियाले १६ रनमा दुई विकेट लिन सफल भए ।

आर्मीको फितलो ब्याटिङ
विनोद भण्डारीको कप्तानीमा क्रिजमा ओर्लेको आर्मीले बागमतीविरुद्ध फितलो ब्याटिङ गर्‍यो । ओपनर इमरान शेखले पाँच र सन्तोष कार्कीले ८ रनको योगदान दिए । इनिङ्सको ४.३ ओभरमा आर्मी २०–२ को अवस्थामा रह्यो । त्यसपछि सोमपालले तेस्रो क्रममा ब्याटिङ गर्ने अवसर पाए । तर, नौ बल सामना गरेका सोमपाल शून्यमा आउट भए । कप्तान विनोदले सर्वाधिक ४० रन जोडे । उनले चार चौका प्रहार गरेका थिए । विवेक यादवले १८ रनमा एक चौकाको सहयोगमा ११ रन बनाए । आर्मीका सात ब्याट्सम्यानले दोहोरो रन नै बनाएनन् । 

कर्णाली ६० रनले विजयी
 प्रतियोगिताअन्तर्गत बुधबार भैरहवामा भएको खेलमा कर्णालीले लुम्बिनीलाई ६० रनले हराएको छ । सिद्धार्थ रंगशालामा पहिलो ब्याटिङ गरेको कर्णालीले ४५ ओभरमा नौ विकेट गुमाएर १८४ रन बनाएको थियो । प्रत्युत्तरमा लुम्बिनी ४१.२ ओभरमा १२४ रनमा समेटियो । कर्णालीको ब्याटिङमा दिनेश अधिकारीले ५९ बलमा ६ चौका र दुई छक्काको सहयोगमा सर्वाधिक ५९ रन जोडे । दीपेन्द्र रावतले ६९ बलमा ४७ र हिमांशु शाहीले २५ रन बनाए । बलिङमा लुम्बिनीका निर्मल गुरुङले तीन र अभिषेक गौतमले तीन विकेट लिए । प्रत्युत्तरमा लुम्बिनीका लागि कृष्ण कार्कीले सर्वाधिक ४७ रन जोडे । ओपनर मर्निल गुरुङले २२ रन बनाए । मध्यक्रमका ब्याट्सम्यानले फितलो प्रदर्शन गर्दा लुम्बिनी इनिङ्सको एक समय ३१–५ को अवस्थामा रह्यो ।