मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ ३ बुधबार
  • Thursday, 19 December, 2024
हिक्मतसिंह ऐर
२o८o माघ ३ बुधबार o६:३४:oo
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

साना जहाज र कर्णालीको कनेक्टिभिटी

नेपाल वायुसेवा निगमको एउटा तथा निजी क्षेत्रका केही १८ सिटर जहाजले मात्र कति पर्यटकलाई कर्णाली पु¥याउलान् ?

Read Time : > 5 मिनेट
हिक्मतसिंह ऐर
नयाँ पत्रिका
२o८o माघ ३ बुधबार o६:३४:oo

दुर्गम क्षेत्रका आमजनताको ठूलो मागलाई सम्बोधन गर्न र हिमाली गन्तव्यमा हवाई सेवा बढाउने भन्दै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले हालै तीनवटा साना जहाज खरिद गर्न बोलपत्र आह्वान गरी तीनवटा कम्पनीका प्रस्तावमाथि प्रक्रिया अघि बढेको समाचारमा आएको छ । साना हवाईजहाज खरिद प्रक्रिया बढाउनुअघि कर्णाली प्रदेश तथा अन्य हिमाली गन्तव्यलाई केन्द्रमा राखी त्यहाँको वर्तमान हवाई तथा सडक यातायातको अवस्था र त्यस क्षेत्रमा मानिसको आवतजावत एवं आर्थिक गतिविधिमा कनेक्टिभिटीको आवश्यकता र योगदानबारे विश्लेषण पक्कै भएको हुनुपर्छ । 

पछिल्ला २५ वर्षमा देशका सबै प्रदेश वा पर्यटकीय गन्तव्यले गरेको आर्थिक एवं सामाजिक विकासको तुलनात्मक विश्लेषण गर्दा नेपालको भौगोलिक बनोटका कारण देशका सबै प्रदेशमा सडक सञ्जालको विस्तार भएको छैन, भएका अधिकतम स्थानमा पनि भूगोलमा रेखा कोरेझैँ कच्ची ट्र्याक मात्र खोली मानिसको आवतजावत गर्ने गरेको पाइन्छ । त्यसैले, पछिल्ला ६०–७० वर्षदेखि नै नेपालका दुर्गम हिमाली गन्तव्यलाई सडक मार्गबाट भन्दा पनि हवाई मार्गबाट जोडी मानिसको आवतजावत र सरसामानको बन्दोबस्ती गरिँदै आएको पाइन्छ । 

देश संघीय संरचनामा गएको, सबै प्रदेशका बासिन्दाले समान रूपमा राज्यको स्रोत र साधनमा पहँुच पुग्न अत्यावश्यक पूर्वाधार विकासमा सडक एवं हवाई कनेक्टिभिटीमा राज्यले पुर्‍याएको योगदानलाई हेर्ने क्रममा दुर्गम स्थानको वास्तविक स्थितिलाई पनि हेर्नु आवश्यक छ । साथै, पछिल्ला वर्षमा देश र समाजले विकासमा फड्को मारिरहेको अवस्थामा देशका सबै भूभागलाई जोड्ने हवाई यातायात सञ्चालन गरी आवतजावत गर्न निजी वायुसेवा कम्पनी र सरकारी स्वमित्वमा रहेको नेपाल वायुसेवा निगमले नयाँ हवाईजहाज थप्नु अपरिहार्य नै देखिन्छ ।

साना जहाज कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली गन्तव्यको मात्र नभई पूर्वी नेपालको विराटनगर र चन्द्रगढीबाट हिमाली गन्तव्य लुक्ला तथा सुकेटारबाट पाथीभरा मन्दिर र कञ्चनजंघा बेसक्याम्पतर्फ जान पनि आवश्यक छन्
 

कर्णाली प्रदेशको हवाई सेवाको विकास र विस्तारबारे व्यक्तिगत अनुभव यहाँ राख्न चाहन्छु । सन् २००१ को जनवरी ११ देखि १८ सम्म एसियन डेभलपमेन्ट बैंकको आर्थिक सहयोगमा नेपालका लागि प्रस्तावित इको टुरिजम परियोजनाका सन्दर्भमा पंक्तिकार र परियोजनाको कन्सल्टेन्सी कम्पनीका तर्फबाट डा. ज्ञानेन्द्र तुलाधरलाई डोल्पाको जुफाल, सुर्खेत र हुम्लाको सिमकोट हवाई अड्डाको स्थलगत भ्रमण गरी त्यहाँका स्थानीय प्रतिनिधि र पर्यटन व्यवसायीसँग छलफल गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको थियो । प्रस्तावित परियोजनाले कर्णाली क्षेत्रमा पर्यापर्यटनको ठूलो सम्भावना देखेर त्यहाँका पर्यटन गन्तव्यको विकास गर्ने परियोजनाअनुरूप वर्तमान हवाई अड्डाकोे विकास एवं विस्तार गर्न ताल्चा रारा, (मुगु), जुफाल (डोल्पा) र सिमकोट (हुम्ला) हवाई अड्डालाई सुविधायुक्त बनाउने उद्देश्य लिई रनवे विस्तार एवं कालोपत्रे गर्नुका साथै थप आधुनिक उपकरण जडान गरी बाह्रैमास हवाई उडान सञ्चालन गर्ने योजना थियो । 

त्यतिखेर देशमा माओवादी द्वन्द्वले गति लिइरहेको थियो । डोल्पाको जुफालमा उत्रेर सदरमुकाम दुनै बजार पुग्दा त्यसको दुई दिनअघि मात्र सदरमुकाममा दुवै सेनाको भिडन्त भई जिल्ला प्रशासन कार्यालय, जेलघर आदि सम्पूर्ण पूर्वाधार भग्नावशेषमा परिणत भएका थिए । स्थानीय पर्यटन व्यवसायी अंगद शाहीको ब्लुसिप होटलमा स्थानीय पर्यटन व्यवसायीसँग छलफल गरी दुई दिनपछि हामी एयर अनन्याको हेलिकोप्टरबाट सुर्खेत फर्कियौँ । सुर्खेत हवाई अड्डामा एक दिन निरीक्षण एवं एयरपोर्ट मेनेजरसँंग त्यहाँको वस्तुस्थितिबारे छलफल गरी अर्को दिन नेपाल एयरलाइन्सको जहाजबाट हुम्लाको सिमकोट पुग्यौँ । त्यहाँ पनि दुई दिन बसी एयरपोर्ट मेनेजर र स्थानीय निकायका प्रतिनिधि एवं पर्यटनसम्बद्ध सरोकारवालासँग छलफल गरी नेपालगन्ज हुँदै काठमाडौं फर्कियौँ ।

यस अनुभवले पंक्तिकारलाई कर्णाली प्रदेशको त्यसताकाको हवाई यातायात सेवाबारे प्रत्यक्ष बुझ्ने मौका मिलेको थियो । प्रस्तावित एसियन डेभलेपमेन्ट बैंकको आर्थिक सहयोगमा नेपाल सरकारले सञ्चालन गर्ने इको टुरिजम परियोजनाअन्तर्गत हिमाली गन्तव्य सिमकोट (हुम्ला), जुफाल (डोल्पा), जोमसोम (मुस्ताङ), सुकेटार (ताप्लेजुङ) र तुमलिङटार (संखुवासभा) हवाई अड्डाको रनवे कालोपत्रे गर्ने र आधुनिक उपकरणको जडान गर्ने परियोजना रहेको थियो । साथै, पश्चिम नेपालको कर्णाली क्षेत्रका हिमाली गन्तव्य रारा र से–फोक्सुन्डो तालबीचको स्थान मसिनेचौर डोल्पामा ठूलो एयरपोर्ट बनाई १८ सिटरभन्दा ठूला क्षमताका हवाईजहाज उतार्न सक्ने पूर्वाधार निर्माण गरी कर्णाली क्षेत्रमा पर्यापर्यटनको विकास गर्ने विस्तृत सम्भावना अध्ययन गरी अघि बढ्ने परियोजना तयार गरिएको थियो । तत्कालीन आन्तरिक द्वन्द्वको अवस्थाले गर्दा सो परियोजना कार्यान्वयन हुन सकेन । पछि हाम्रै देशको आन्तरिक स्रोतबाट नेपाल नागरिक उड्डयन प्राधिकरणले हुम्लाको सिमकोट, डोल्पाको जुफाल, मुस्ताङको जोमसोम र तुम्लिङटार एयरपोर्टकोे रनवे कालोपत्रे गर्नुका साथै आवश्यक उकरणको जडान गरेको देखिन्छ ।

आन्तरिक हवाई यातायातको वर्तमान अवस्था : हाल कर्णालीमा रहेका सम्पूर्ण आन्तरिक हवाई अड्डा, सुर्खेत, हुम्ला, डोल्पा, मुगु, जुम्ला, रुकुम (पूर्वी रुकुम) का रनवे कालोपत्रे भई हवाई सेवा सञ्चालन भइरहेको छ । चौरजहारी हवाई अड्डा (पश्चिम रुकुम) र मसिनेचैर हवाई अड्डा (डोल्पा), हाल सञ्ञ्चालनमा छैनन् । साथै कालिकोटको नयाँ विमानस्थल बनिसकी सञ्चालनको क्रममा छ । देशमा नयाँ हवाई अड्डा निर्माण कार्यसँगै निजी हवाई सेवा दिने कम्पनीको संख्या बढे पनि दुर्गम क्षेत्रमा निजी क्षेत्रको हवाई सेवा सुचारु भएको पाइँदैन ।

हाल नेपाल वायुसेवा निगमसँग भएका दुइटा ट्विनअटरमध्ये एक मात्र जहाज उड्ने स्थितिमा छ । नेपाल वायुसेवा निगमको एउटा जहाज र केही निजी क्षेत्रका जहाज कम्पनी तारा, समिट, सीता, अल्टिटुड आदिले १८ सिटर जहाजबाट मात्र कति पर्यटक कर्णाली पुर्‍याउलान् ? यो परिस्थितिले समग्र कर्णाली प्रदेशलाई हवाई यातायातबाट संकुचित बनाएकोजस्तो अवस्था देखिन्छ । कर्णाली प्रदेशका गन्तव्यमा पर्यटन गतिविधिका प्रचुर सम्भावना हुँदाहुँदै पनि पर्यटकलाई त्यहाँ पुर्‍याउन केही गर्न नसकिएको अवस्था छ ।

त्यस्तै अवस्था सुदूरपश्चिम प्रदेशको पनि छ । त्यहाँका पहाडी आकर्षक गन्तव्य खप्तड, अपी, सैपाल हिमाल बेसक्याम्प आदिका लागि धनगढीबाट चैनपुर (बझाङ) र कैलाश मानसरोवर यात्राका लागि सिमकोट (हुम्ला) सम्म पुग्न जहाज सेवा नै उपलब्ध नभइरहेको अवस्था छ । यसबाट एउटा ठूलो धार्मिक एवं साहसिक पर्यटन बजारको यस भेगमा विस्तार हुन सकिरहेको छैन । त्यस्तै अवस्था लुम्बिनी प्रदेशको नेपालगन्ज एयरपोर्टबाट सिमकोट (हुम्ला), डोल्पा, राराजस्ता महŒवपूर्ण गन्तव्यमा जान पनि साना जहाजको संख्या पर्याप्त छैन ।

सगरमाथातिर जाने पर्यटक सिजनमा त एउटा पनि जहाज पश्चिम नेपालका एयरपोर्टमा पुग्दैनन् । देशका निजी हवाई सेवा कम्पनीलाई प्रमुख ठूला सहरमा ठूला जहाज चलाउँदैमा भ्याई–नभ्याईको अवस्था छ । हवाई क्षेत्रको यथार्थबारे हाम्रा पर्यटन व्यवसायीलाई थाहै छ । त्यसैअनुरूप देशभित्रका सीमित गन्तव्य घुम्ने योजनाका भरमा हाम्रो पर्यटन क्षेत्र चलिरहेको छ । मर्काचाहिँ दुर्गमका स्थानीय वासिन्दामाथि परिरहेको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको आर्थिक अवस्था सुदृढ नभएसम्म थप सेवा विस्तार गर्न सकिने अवस्था छैन भन्ने मात्र विगतदेखि नै सुिनँदै आएको छ ।

सडक मार्गको वर्तमान अवस्था :  सडक मार्गबाट कर्णाली करिडोरमा पर्ने गन्तव्यसम्म पुग्नु रोमाञ्चक यात्रा हो । कर्णाली राजमार्गको सुर्खेतबाट दैलेख, कालिकोटको मान्म हुँदै जुम्लासम्म पक्की सडक पुगेको छ । त्यस्तै जुम्लाबाट पतरासी, खालीचौर हुँदै बुलबुलेमा सिञ्जाबाट आएको बाटामा मिसिँदै रारा तालनजिकको सल्लेरीसम्म जिपमा पुग्न सकिन्छ । यस्तै कर्णाली राजमार्गबाट कालिकोटको मान्मबाट नाग्म, सिन्जाको अफरोड हुँदै रारानजिकको सल्लेरी भन्ने ठाउँसम्म पुग्न सकिन्छ ।

कर्णालीको राजधानी सुर्खेतबाट दैलेख, कालिकोटको खुलालुसम्म कर्णाली राजमार्ग हुँदै गई, त्यसपछि खुलालु हँुदै अफरोड पुल तरी धुलिचौर पुगेर त्यहाँबाट मसिनेसम्म जिपमा गई रारा निकुञ्ज क्षेत्रभित्रको जंगलमा पदयात्रा गर्दै रारा तालसम्म पुग्न सकिन्छ । हाल कर्णाली करिडोरमा सुर्खेत, दैलेख, कालिकोट, बाजुरा, मुगु हुँदै हुम्लाको चंखेली र सर्केगाड गाउँपालिकाको सिमाना सल्लीसल्लास्थित कर्णाली नदीमाथि ४८.७६ मिटर लामो र ४.२० मिटर चौडा बेलिब्रिज जडान भई दक्षिणी हुम्लाका चार गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिएका छन् ।

समयमै, सल्लीसल्लाको बेलिब्रिज बनेकाले यसै आर्थिक वर्ष (०८०–८१) मा हुम्लाको सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोडिने गरी नेपाली सेना र सिमकोट सडक आयोजनाको सम्पूर्ण टिम लागिपरेकोे छ । माथि चिनियाँ सीमा हिल्साबाट कच्ची सडक हिल्सा–यारी–यलबाँड–सल्लीगाड हुँदै हुम्लाको सिमकोट सदरमुकामसम्म पुगिसकेको छ । हाल, दुईवटा चाइनिज बस स्थानीय निजी व्यवसायीले यस रुटमा चलाएका पनि छन् ।

सहज र सुलभ यातायात र पर्यटन व्यवसायको गहिरो सम्बन्ध हुन्छ । विश्वभरि प्रत्येक देश आफ्नो जल, थल र हवाई मार्गको विकास र विस्तारमा दिनरात लागिपरेको हुन्छन् । छिमेकी राष्ट्र भारतले यस वर्ष देशभरि १२ हजार पाँच सय किलोमिटरको हाइवे सडक निर्माणको लक्ष्य राख्दै प्रत्येक दिन ३४ किलोमिटर हाइवे सडक निर्माण गरिरहेको छ । प्रत्येक पाँच लाख जनसंख्या भएका साना सहरका लागि ठूला बोइङ उत्रिन सक्नेसम्मका हवाई अड्डा बनाउने योजनासहित काम अघि बढाइएको छ । यातायात र पर्यटन व्यवसायको देश विकासमा प्रत्यक्ष सम्बन्ध भएकाले यस क्षेत्रको विकासले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याएको देखिन्छ । 

सडक यातायातभन्दा पनि पर्यटकलाई विभिन्न हिमाली गन्तव्यसम्म पुग्न छिटो र सहज हवाई मार्ग नै हो । त्यसैले, पर्यटकलाई नयाँ–नयाँ गन्तव्यमा भ्रमण गराउने, थप पर्यटकीय गतिविधि बढाउने कार्यसँगै स्थानीयवासीको आवागमन र स्थानीय उत्पादनको ओसारपसारबाट समग्र देशकै आर्थिक गतिविधि बढ्नेमा द्विविधा छैन । 

साना जहाज कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली गन्तव्यको मात्र आवश्यकता होइन । पूर्वी नेपालको विराटनगर र चन्द्रगढी हवाई अड्डाबाट पनि हिमाली गन्तव्य लुक्ला, सगरमाथातिर जान तथा सुकेटार (ताप्लेजुङ) बाट पाथीभरा मन्दिर र कञ्चनजंघा बेसक्याम्प आदि स्थलतर्फ जान पनि साना जहाज नै आवश्यक छ । त्यसैले, नेपाल वायुसेवा निगमले हाल अघि बढाएको तीनवटा ट्विनअटर जहाज खरिदकार्य यथाशीघ्र कार्यान्वयन होस् । यसले हिमाली भेगका गन्तव्यमा पर्यटक आवागमन बढाउनुका साथै कर्णाली प्रदेशलगायत अन्य हिमाली भेगका जनताको आवागमनमा सहजता थप्न सकोस् । 
(ऐर नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हुन्)