नागमती क्षेत्रमा जलाशययुक्त बाँध बनाउँदा काठमाडौंको गोकर्णेश्वरस्थित नागमती क्षेत्रका सानाठूला गरी ८० हजार रुख कटान गरिने भएको छ । बागमती तथा आसपासका नदीमा पानी प्रवाह गर्न दुई वर्षपछि एसियाली विकास बैंकको २५ अर्ब सहुलियत ऋणमा नागमतीमा बाँध बनाउन लागिएको हो ।
बाँध निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (इआइए) स्वीकृतिको चरणमा छ । यसका लागि एसियाली विकास बैंकसँग सफ्ट लोन सम्झौता पनि भइसकेको छ । सात वर्षमा सक्ने गरी बागमती सभ्यता एकीकृत विकास समिति सिँचाइ इकाइले नागमतीमा बाँध बनाउने प्रक्रिया अघि बढाइरहेको छ ।
बागमती सुधार आयोजना सिँचाइ इकाइ प्रमुख निश्चल छत्कुलीले यो बाँध बनेपछि उपत्यकामा हुने पानीको अभाव वा संकट हट्ने र यसको बहुआयामिक फाइदा हुने बताए । उनका अनुसार नागमती निर्माण गर्दा आठ हजार ठूला र करिब ७२ हजार साना रुख (बुट्यान रुख) कटान गरिनेछ । तर, रुख कटान गरे पनि वातावरणीय रूपमा असर नपर्ने अध्ययन भइसकेको इकाइ प्रमुख छत्कुलीको भनाइ छ ।
निश्चल छत्कुली, सिँचाइ इकाइ प्रमुख, बागमती सुधार आयोजना
बाँध बनेपछि उपत्यकामा हुने पानीको अभाव वा संकट हट्ने र यसको बहुआयामिक फाइदा हुनेछ । नागमती बाँध निर्माण गर्दा आठ हजार ठूला र करिब ७२ हजार साना रुख (बुट्यान रुख) कटान गरिनेछ । रुख कटान गरे पनि वातावरणीय रूपमा असर नपर्ने अध्ययनले देखाएको छ ।
कटान गरिने सबै रुख नागमती बाँध बनाउन चाहिने जग्गाभित्रका पर्नेछन् । बाँधले ओगट्ने क्षेत्रभन्दा बाहिरका रुख भने कटान गरिनेछैन । निर्माण गर्दा आसपासका केही रुख कटान गर्नुपरेमा त्यहाँ थप रुख रोपिनेछ । ‘यसभन्दा माथिल्लो तटमा निर्माण भइसकेको बागमती बाँध बागमती नदीकेन्द्रित हो, तर नागमती योभन्दा पनि बहुउपयोगी छ । यसबाट यस क्षेत्रको पर्यटन विकास मात्रै नभएर उपत्यकामा पर्न सक्ने पानीको संकट हट्छ, विद्युत्, सिँचाइ, खोला र अन्य आवश्यकतामा पानीको प्रयोग गर्न सकिन्छ,’ उनले भने, ‘यो जलविद्युत् उत्पादन गर्ने योजना पनि हो ।’
नागमती ड्याम निर्माण सम्पन्न हुन करिब सात वर्ष लाग्ने अनुमान गरिएको छ । नागमती क्षेत्रका दुईवटा पहाडको पाँच सय ५३ मिटर दूरीलाई जोडेर प्राकृतिक रूपमा रहने गरी नागमती ड्याम निर्माण हुनेछ । यसआसपासलाई पर्यटकीय विकासमा कसरी प्रयोग गर्ने भन्नेबारे सरकारले थप योजना पनि तय गर्नेछ ।
नागमती बाँध निर्माणको औपचारिक काम सन् २०२५ को जुनबाट सुरु हुनेछ । यसमा एक करोड ८० लाख घनमिटर पानी अट्नेछ । इकाइ प्रमुख छत्कुलीका अनुसार वातावरणका दुईवटा मुद्दा हुन्छन् त्यो भनेको एउटा ‘ग्लोबल’ र एउटा ‘लोकल’ ।
नागमती बाँध स्थानीय समस्या समाधानका लागि बनाउन लागिएको हो । यो बाँध बन्ने क्षेत्र ४८ हेक्टर (९६० रोपनी)मा फैलिएको छ । हाल सो क्षेत्रफलमा रुखैरुख छन् । बाँध निर्माणको काम सुरु भएपछि पहिलो चरणमा रुख कटान गरिनेछ ।
नागमतीको बाँधबाट प्रतिसेकेन्ड चार सय ४० लिटर पानीबाट ४ मेगावाट जलविद्युत् उत्पादन गर्न सकिने अनुमान गरिएको छ । जलविद्युत्, खानेपानी, कृषि र बागमती नदीलगायत प्रयोगमा नागमती बाँधको पानी प्रयोग हुनेछ ।
गत वर्ष फागुनमा निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेको बागमती धाप बाँधभन्दा चार किलोमिटर दूरीको फरकमा रहेको नागमती शिवपुरी क्षेत्रमै पर्छ । तर, यस प्रकारको जलाशययुक्त पोखरीले अन्य जलाधार क्षेत्र र वातावरणमा असर नपर्ने बागमती आयोजना सिँचाइ इकाइको ठहर छ ।
एडिबीको सहुलियत ऋणमा सिँचाइ इकाइले ९५.५ मिटर अग्लो नागमती बाँध बनाउनेछ । समुद्री सतहबाट झन्डै दुई हजार एक सय मिटरमा रहेको नागमती क्षेत्रमा पानीका मूलमुहान प्रसस्त मात्रामा छन् । त्यही पानी र आकाशेपानी बाँधमा संकलन गर्न सकिनेछ र आवश्यकताअनुसार प्रवाह गर्न सकिनेछ ।
वातावरणविद् भूषण तुलाधरले बाँध बनाउन रुख काटिनु स्वाभाविक रहेको बताए । ‘पानीको स्रोतका लागि र वातावरणीय हितका लागि हो भने रुख काटेर पनि बनाउनुपर्छ, तर कस्तो–कस्तो रुख कटौती गर्दै छ त्यसमा भने ख्याल गर्नुपर्छ,’ उनले भने ।
बाँध निर्माणस्थलका ८० हजार रुख काटिने
गोकर्णेश्वरस्थित नागमती बाँध बनाउने क्षेत्र । बागमती सुधार आयोजना सिँचाइ इकाइ प्रमुख निश्चल छत्कुलीका अनुसार नागमती बाँध निर्माण गर्दा आठ हजार ठूला र करिब ७२ हजार साना रुख (बुट्यान रुख) कटान गरिनेछ, तर रुख कटान गरे पनि वातावरणीय रूपमा असर पर्नेछैन । सात वर्षमा सक्ने गरी बागमती सभ्यता एकीकृत विकास समिति सिँचाइ इकाइले नागमतीमा बाँध बनाउने प्रक्रिया अघि बढाइरहेको छ । बाँध निर्माणको औपचारिक काम सन् २०२५ को जुनबाट सुरु हुनेछ । यसमा एक करोड ८० लाख घनमिटर पानी अट्नेछ । नागमती क्षेत्रमा पानीका मूल मुहान प्रसस्त छन् । मूलको पानी र आकासेपानी बाँधमा संकलन गर्न सकिनेछ ।