मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष २६ बिहीबार
  • Tuesday, 11 March, 2025
चन्द्रपुर नगरपालिका– ६ मा रहेको महिला फुटबल एकेडेमीको भवन
अशोक पहाडी काठमाडाैं
२o८o पौष २६ बिहीबार o८:२७:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

रौतहटको महिला फुटबल एकेडेमी चार वर्षदेखि अलपत्र

Read Time : > 1 मिनेट
अशोक पहाडी, काठमाडाैं
नयाँ पत्रिका
२o८o पौष २६ बिहीबार o८:२७:oo

चन्द्रपुर नगरपालिका– ६ मा रहेको महिला फुटबल एकेडेमीको भवन सञ्चालनमा नआउँदा अलपत्र अवस्थामा पुगेको छ । शेरबहादुर दर्लामी स्मृति खेलमैदानमा रहेको एकेडेमीको निर्माण कार्य सकिए पनि अदालतले रोक लगाएपछि मैदान अलपत्र अवस्थामा पुगेको हो । वनक्षेत्रमा अनधिकृत रूपमा महिला फुटबल एकेडेमी निर्माण सुरु गरेको भन्दै अधिवक्ता सुजित केसीले दायर गरेको रिटमा सुनुवाइमाथि ०७६ माघमा न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले एकेडेमीको विषयमा भए–गरेका निर्णय यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको थियो ।

अदालतको अन्तरिम आदेशले भवन अलपत्र पर्नुका साथै खेलाडीको प्रशिक्षणमा असर परेको मधेश प्रदेश फुटबल संघका अध्यक्ष नेपाल कार्कीले नयाँ पत्रिकालाई बताए । अखिल नेपाल फुटबल संघ (एन्फा)ले गर्मी हुने राष्ट्रमा सहभागी महिला फुटबलको तयारी र मधेश प्रदेशका महिला खेलाडीको प्रशिक्षणका लागि रौतहटको चन्द्रनिगाहपुरमा एकेडेमीको निर्माण प्रक्रिया अगाडि बढाएको थियो । 

रौतहट चन्द्रपुर नगरपालिका– ६ को हातेमालो सामुदायिक वनभित्रको जग्गामा उपभोक्ता समूहका अध्यक्ष रामलाल र रौतहट जिल्ला फुटबल संघका अध्यक्ष भगवानबहादुर दर्लामी मगरबीचको सम्झौता भएको थियो । सम्झौताअनुसार एन्फाले फुटबल मैदान निर्माण गर्न थालेको थियो । पछि यो मुद्दा सर्वोच्च पुगेको थियो । चन्द्रनिगाहपुरमा रहेको एकेडेमी सञ्चालनमा आउन नसक्दा दुःख लागेको रौतहट जिल्ला फुटबल संघका अध्यक्ष भगवान दर्लामीले बताए । 

एकेडेमी निर्माण गर्न फिफाबाट रकम
एन्फाले विश्व फुटबल महासंघ फिफाबाट रकम स्वीकृत गराई न्यु ड्राइगन/नयाँ युग जेभीसँग ०७५ मंसिर १२ मा निर्माण सम्झौता गरेको थियो । सम्झौताअनुरूप एकेडेमी निर्माणको काम सुरु भएको थियो । वनक्षेत्रको जग्गा मन्त्रिपरिषद्को निर्णयका आधारमा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका लागि भोगचलनको अनुमति दिन सकिने भए पनि अवैधानिक रूपमा खेलकुद मैदान बनाउन खोजिएको भन्दै अदालतमा रिट परेको खेलकर्मीहरू बताउँछन् ।

 तत्कालीन एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाको कार्यकालमा निर्माण भएको एकेडेमीको काम नहोस् भन्ने मनसायले फुटबलमै लागेकाहरूले चलखेल गरेका कारण विगत चार वर्षदेखि भवन अलपत्र अवस्थामा पुगेको दर्लामीले बताए । महिला फुटबल खेलाडीको कारखानाको रूपमा पहिचान बनाएको रौतहट फुटबल संघका सदस्य बाबुराम दाहालले बताए । ‘रौतहटको चन्द्रनिगाहपुरमा एकेडेमी बनेको देख्न नचाहनेहरूका कारण भवन हालसम्म अलपत्र अवस्थामा पुगेको हो,’ उनले भने । देशभरबाट छनोट गरी १२ वर्षमुनिका ४४ जना खेलाडी एकेडेमीमा राखिने लक्ष्य रहेको थियो ।