सन् १९९३ मा बंगलादेशमा भएको छैटौँ दक्षिण एसियाली खेलकुद (साफ)को अन्तिम दिन नेपाल र भारतबीच फुटबलमा स्वर्ण पदकका लागि भिडन्त भएको थियो । स्वर्ण जित्नुअघिसम्म नेपालबाट सहभागिता जनाएका अन्य खेलका खेलाडीले रजत र कांस्य मात्र जितेका थिए । त्यसवेला फुटबलले स्वर्ण दिलाउने कसैले कल्पना नै गरेका थिएनन् । केवल दुई साताको अभ्यास गरी नेपाली फुटबल टोलीले भाग लिएको थियो । फाइनलको टाइब्रेकरमा १९ वर्षीय गोलरक्षक उपेन्द्रमान सिंहले भारतका दुई प्रहार छेक्दै ऐतिहासिक स्वर्ण दिलाए । उनकै उत्कृष्ट प्रदर्शनका कारण यो प्रतियोगितामा नेपाल स्वर्ण पदकविहीन हुनबाट बचेको थियो । उपेन्द्रमानले ३० वर्षअघिको भारतविरुद्धको फाइनल खेलको स्मरण नयाँ पत्रिकाका श्रीलोचन राजोपाध्याय र रमेश सुवेदीलाई यसरी सुनाए ।
छैटौँ साफमा हामीले दुई साताको प्रशिक्षण गरी सहभागिता जनाएका थियौँ । त्यो समयमा आधुनिक प्रशिक्षण र अहिलेको जस्तो अभ्यास खेल थिएन । चना र अन्डाको डाइटका भरमै साफ खेल्न बंगलादेश पुग्यौँ । फुटबलमा सहभागीमध्ये नेपाल सबैभन्दा कमजोर टोलीका रूपमा थियो । सन् १९९० को दशकतिर बंगलादेश र भारतको फुटबल स्तर नै माथि थियो । अझ बंगलादेशका खेलाडी पूर्ण प्रोफेसनल थिए । उनीहरूको कमाइ नै २५ लाख टाँका थियो । हामी नेपालीको केही पनि थिएन । यस किसिमको फरकबीच हामीले साफ खेल्यौँ । सेमिफाइनलमा नेपाल घरेलु टोली बंगलादेशसँग थियो ।
ढाकामा स्थानीय मिडिया तथा पत्रपत्रिकामा नेपालमाथि बंगलादेशले फराकिलो अन्तरले जित निकाल्ने समाचार सम्प्रेषण गरिसकेको थियो । उनीहरूको दाबी बलियो पनि थियो । साफ खेल्नुअघि हामीले बंगलादेशकै एयर फोर्ससँग एक मैत्रीपूर्ण खेल खेल्यौँ । जसमा हामी चार गोलले पराजित भएका थियौँ । नेपालको राष्ट्रिय फुटबल टोलीमाथि सामान्य क्लबले चार गोलले जित निकाल्दा हाम्रो के अवस्था भनौँ वा स्तर थियो ? सोच्नुपर्ने पक्ष थियो । यसैकारण बंगलादेशले नेपालमाथि सानदार जित निकाली फाइनल स्थान बनाउने योजना बनाएको थियो ।
फेरि बंगलादेशले साफमा स्वर्ण जित्न भनी ठूलो लगानी गरेको थियो । उनीहरूका खेलाडीले मलेसियामा तीन महिनाजति प्रशिक्षण गरी साफ खेलेको थियो । तयारीको हिसाबमा हामीभन्दा बंगलादेश धेरै अगाडि थियो । विदेशी भूमिको तयारी तथा व्यावसायिक खेलाडीले भरिएको बंगलादेशविरुद्ध नेपालले १–० को जित निकाल्यो । यो नतिजाले सिंगो बंगलादेश स्तब्ध भयो । उनीहरूको वर्षौँदेखिको सपना सामान्य टोली भनेको नेपालले भताभुंग गरेको थियो ।
नेपालसँगको हार यति पीडादायी भयो कि बंगलादेशले त्यसपछि फुटबलमा लगानी नै गर्न छाड्यो । त्यसपछि मात्र बंगलादेशले फुटबलमा भविष्य नदेखी क्रिकेटमा लगानी गरेको हो । यदि बंगलादेशले त्यो साफमा स्वर्ण जितेको भए, आज उनीहरूको स्तर भारतको भन्दा पनि माथि हुने थियो होला । १५ दिनको तयारीका साथ ढाका पुगेको हाम्रो बलियो पक्ष नै टिमवर्क थियो । सिनियर तथा मजस्ता जुनियर खेलाडीबीच निकै तालमेल थियो ।
कप्तान राजु शाक्य, दीपक अमात्य, राजेश मानन्धर, मणि शाह र देवनारायण चौधरीजस्ता सिनियर खेलाडीको व्यक्तिगत प्रदर्शन अब्बल रहेको थियो । छैटौँ साफ खेल्दा म १९ वर्ष मात्र भएको थिएँ । तर, मसँग अघिल्लोपटक साफ खेलेको अनुभव थियो । त्यसवेला सिनियर दाइहरूले मलाई निकै माया गर्नुहुन्थ्यो । कल्पना पनि नगरेको नतिजा निकाली फाइनल पुग्दा नेपाली क्याम्पको माहोल नै परिवर्तन भयो ।
वास्तवमा साफमा हामी टुरिस्ट भएर गएका थियौँ । फुटबल खेल्ने अनि फर्कने लक्ष्यका साथ ढाका पुगेका थियौँ । भनिहालेँ नि, त्यस किसिमको तयारीमा नेपाल समूह चरणबाटै बाहिरिने अवस्था थियो । खेलाडीबीचको आत्मविश्वास मान्नु नै पर्छ । कोही पनि कम थिएनन्, मैदानभित्र प्रवेश गरेपछि जसरी पनि जित्नुपर्छ भन्ने थियो । मैदानमा ४० प्रतिशत खेल मुढेबल लगाएर खेल्यौँ र फाइनलमा पुग्यौँ ।
फाइनल पुग्दा उच्चपदस्थको भेट
साफको अन्तिम दिन फुटबलको फाइनल थियो । हामी फाइनल पुग्नुअगाडि नेपालबाट सहभागी खेलले स्वर्ण जित्न सकेनन् । सम्भवतः पहिलोपटक नेपाल स्वर्णविहीन हुँदै घर फर्कने सम्भावना त्यतिकै बढेको थियो । फुटबलको फाइनलको अघिल्लो रात र बिहान राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा खेलकुद मन्त्रालयका उच्च पदाधिकारीले फाइनल खेल्ने हामीलाई भेट गर्न आए । हामी फाइनल नपुग्दासम्म कसैले पनि वास्ता गरेका थिएनन् । अब साफमा नेपालको इज्जत फुटबलले मात्र रक्षा गर्न सक्छ र हामी खेलाडीमाथि सिंगो नेपालले आशा गरेको छ भनी पदाधिकारी सम्झाउन आए ।
‘तिमीहरूले जसरी पनि नेपालको नाम राख्नुपर्छ, स्वर्ण जित्न सकेन भने नेपाल पहिलोपटक स्वर्णविहीन भएर घर फर्कनेछ,’ पदाधिकारीले यस्तै बोलेका थिए । यो क्रम बिहानसम्म चलिरह्यो । खेलाडीबीच भने यस किसिमको तनाव केही थिएन । एक त फाइनल पुग्ने सपना नै थिएन । त्यसमाथि स्वर्णको दाबेदार हुँदा बोनस नै भयो । यसैले खेलाडीले यसलाई इजी नै लिएका थिए ।
होटेलदेखि रंगशालासम्म शान्त
रमाइलो पक्ष के छ भने मिरपुरमा फाइनल थियो । होटेलदेखि रंगशालासम्मको यात्रा लगभग डेढ घण्टाजति थियो । यसबीचमा बसभित्र रहेका सबै खेलाडीले एक–आपसमा केही पनि कुराकानी गरेनन् । जो जहाँ थिए, सबै शान्त र चुप लागेर बसेका थिए । फाइनलमा हाम्रो प्रतिद्वन्द्वी भारत थियो । फेरि दक्षिण एसियाली खेलकुदमा भारतसँग सधैँ कडा टक्कर टोली नेपालको थियो । जहाँ भए पनि नेपाल र भारतबीचको खेलको रौनक नै अर्को हुन्थ्यो । यद्यपि, भारत हामीभन्दा निकै शक्तिशाली भए पनि उनीहरूविरुद्ध योजना केही बनाएनौँ ।
नेपाली टोलीमा जुनियर खेलाडीका रूपमा म कल्पनामा डुबेको थिएँ । आजको फाइनल मेरो करिअरको महत्वपूर्ण हो । यसमा स्वर्ण जित्न सक्यौँ भने भविष्य बन्नेछ । गोलरक्षकको पाटोमा म महत्वपूर्ण खेलाडीका रूपमा थिएँ । फाइनलको यात्रासम्म मेरो प्रदर्शन अब्बल भइसकेको थियो । अब चुक्नुहुन्न भन्ने थियो । निर्णायक मोडमा असफल भयौँ भने सबैले गाली गर्नेछन् । अघिल्लो प्रदर्शन सबैले बिर्सनेछन । केवल फाइनलको मात्र सम्झिरहनेछन् । यसकारण पनि गोलरक्षक कमान्ड सम्हालिराखेको मैले दुई सय प्रतिशत मिहिनेत गर्नुपर्छ । जसरी पनि स्वर्ण जित्नुपर्छ । स्वर्ण दिलाउँदा मेरो नाम इतिहासमा रहनेछ । यसका साथै भोलिका दिनमा मेरो फुटबल भविष्यको बाटो खुला हुनेछ । भारतविरुद्ध राम्रो सेभ गर्ने र गोल खानुहुन्न भन्ने भावना बसभित्र आइरहेको थियो ।
मणि र उमेश प्रधानको त्यो गोल
मिरपुरको रंगशालामा भारत र नेपालबीच आमनेसामने भयो । सिनियर दाइहरूले सिरियस भएर खेल्नुभएको थियो । मैदानमा यति जोस थियो कि अनुभवी भारतीय खेलाडीलाई ५०–५० प्रतिशतको टक्कर दिइएको थियो । नेपाली खेलाडीबीच एक–आपसमा सपोर्ट भइरहेको थियो । अर्कोतिर बंगलादेशमा डाक्टरदेखि विभिन्न क्षेत्रमा अध्ययन गरिरहेका नेपाली दाजुभाइको हामीलाई पूर्ण समर्थन रह्यो । रंगशालामा ‘नेपाल–नेपाल–नेपाल’को स्वर गुन्जायमान भइरह्यो । त्यो सुन्दा मन एक किसिमले भावुक र आनन्दित भइरहेको थियो ।
अचानक भारतले हामीविरुद्ध अग्रता लियो । पहिलो गोल खाँदा अब के हुन्छ होला भन्ने मलाई भयो । त्यसपछि उमेश प्रधानको गोलसँगै हामीले १–१ गोलको बराबरी गरेका थियौँ । फेरि नेपालले गोल व्यहोर्यो । त्यसवेला मेरो पक्षबाट सोच्दा अब सकियो भन्ने लागेको थियो । मैले दुई गोल खाँदा सिनियर खेलाडीले यस्तो गाली गर्नुभयो । त्यो नसम्झँदा नै हुन्छ । अहिले त्यस किसिमको गाली सुनेको भए खेलाडी मैदान छाडेर बाहिरिन्थे होला । मैदानमा एक गल्तीमा सिनियर–सिनियर दाइहरूबीच यस्तो गालीको वर्षा हुन्थ्यो कि कान नै दुई हातले बन्द गर्नुपर्ने अवस्था आउँथ्यो । र, नेपाली फुटबलकै म्याराडोना उपनाम पाएका मणि शाह दाइले टप कर्नरमा उत्कृष्ट गोल गर्दै नेपाललाई २–२ को बराबरीमा ल्याउनुभयो । उहाँको त्यो गोल ‘ए वान’ थियो । अझ भनौँ, विश्वस्तरीय फ्रिकिक गोल थियो । बराबरी गोलपछि नेपाललाई जिताउनुपर्छ र राम्रो गोलकिपिङ गर्नुपर्छ भन्ने सोचेँ । अतिरिक्त समय पनि २–२ को बराबरीपछि स्वर्णको छिनोफानो टाइब्रेकरबाट हुने पक्का नै भयो ।
त्यसपछि हिरो बन्ने पालो मेरो
टाइब्रेकरमा पुगेपछि हिरो बन्ने पालो गोलरक्षकको थियो । बल छेक्ने गोलरक्षक हिरो बन्नेछन् । जुन खेलाडीले गोल गर्दैनन्, उनी जिरो बन्ने । फेरि गोलरक्षकले पाँचै पेनाल्टीमा गोल खाँदा खलनायक बन्ने गर्छन् । यो मैले राम्रोसँग बुझेको थिएँ । त्यसवेला मसँग लिनु वा दिनु केही थिएन । पेनाल्टीमा जो पनि हुन सक्छ । यद्यपि, पेनाल्टीमा गएपछि सबैको केन्द्रविन्दु म भएँ । सबै आएर मेरा खुट्टा मालिस गर्नेदेखि सुमसुम्याउने गरे । पुनः एकपटक मैदानमा नेपालका विशिष्ट अफिसियलहरूले भने, ‘अब नेपालको इज्जत तिम्रो हातमा छ उपेन्द्र, जसरी पनि भारतले प्रहार गरेको बल रोक्नुपर्छ ।’
राष्ट्रिय टोलीबाट मेरो यो पहिलो टाइब्रेकर थियो । एक किसिमले दबाब थियो । अर्को पक्षमा हिरो बन्ने दिन सम्झेर दंग थिएँ । अक्सरले गोलरक्षकले खेलाडीले प्रहार गर्ने वेलामा दायाँ वा बायाँ खुट्टा कुन पहिला अगाडि बढाउँछन्, यसलाई हेर्ने गर्छन् । हामीले अति नै छोटो समयमा निर्णय गर्नुपर्छ । फेरि कुनै गोलरक्षकले एकै स्थानमा मात्र डाइभ गरेका हुन्छन् । यसको अर्थ विपक्षीका कुनै एक खेलाडीले त्यही स्थानमा बल प्रहार गर्नेछन्, अनि बल रोक्नेछन् । यस्तो पनि रणनीति हुन्छ । धेरैजसो हाम्रो प्लान ७० प्रतिशत मिलेको हुन्छ ।
भारतीय खेलाडीले सुरुवातमा निकै कडा प्रहार गरेका थिए । हाम्रा खेलाडी पनि कम थिएनन् । उनीहरूले राम्रै प्रहार गरे । सबैले टप कर्नरमा पेनाल्टी हिर्काए । मैले भारतको तेस्रो पेनाल्टी रोकेँ । ती भारतीयले दायाँ साइडमा हान्छन् भन्ने गेस गरेँ । त्यहीँ नै डाइभ गरेँ । दुभाग्र्यवश नेपालबाट एक पेनाल्टी मिस भयो । खेल बराबरी भयो । अब के हुन्छ भन्ने लागेको थियो । भारतको चौथो पेनाल्टी हातले छेकेँ । अब नेपालबाट निर्णायक पेनाल्टी प्रहार गर्न वसन्त गुरुङ आए । उनले सहजै भारतीय गोलरक्षकलाई बिट गरे । अनि, नेपालले कल्पना नै नगरेको क्षण आयो, जुन सफलताको स्वर्णपदक थियो ।
नेपालका लागि मणि शाह, राजेश मानन्धर, राजुकाजी शाक्य र वसन्त गुरुङले गोल गरेका थिए । भारतबाट भिपी सथ्यन, सुबिर घोष र भूपिन्दर ठाकुरले गोल गरे । पेनाल्टी सुटआउटमा नायक भएपछि सबै सिनियर दाइ र अफिसियलले मलाई काँधमा उठाउनुभयो । सबैले मलाई स्याबास भन्नुभयो । अहिले नि भन्ने गर्छु, त्यो जित मेरो प्रदर्शनले मात्र नभएर समग्र सबै खेलाडीको मिहिनेतले सम्भव भएको थियो । फुटबल भनेको युनिटी अफ गेम हो । एउटा कुरा, पेनाल्टी क्षणअघि मैले स्वयम्भूका हारती माता र पशुपतिनाथ भगवान्लाई खुबै सम्झेको थिएँ । अहिले पनि केही विशेष काम गर्नुअघि सम्झने गर्छु । बंगलादेशबाट फर्केर आउँदा हामीलाई त्रिभुवन विमानस्थलदेखि रंगशालासम्म परिक्रमा गराइएको थियो ।