मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष १६ सोमबार
  • Thursday, 19 December, 2024
दुई महिनाअघि बालुवाटारमा उत्खनन गरिएको करिब चार सय वर्ष पुरानो ऐतिहासिक ढुंगेधारा ।
शिवहरि घिमिरे काठमाडाैं
२o८o पौष १६ सोमबार o६:५४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बालुवाटारमा भेटियो चार सय वर्ष पुरानो ढुंगेधारा

३० फिटमुनि पुरिएको बानेश्वरको ढुंगेधारा उत्खनन गर्न माग

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८o पौष १६ सोमबार o६:५४:oo

काठमाडौंको बालुवाटारमा करिब चार सय वर्ष पुरानो ऐतिहासिक ढुंगेधारा फेला परेको छ । दुई महिनाअघि स्थानीयले ढुंगेधारा (हिटी) पुरिएको जानकारी गराएपछि सम्पदापे्रमी तथा पुरातत्व विभागको टोलीले उत्खनन गर्दा उक्त ढुंगेधारा फेला परेको हो । 

पुरातत्व विभागको प्रारम्भिक अध्ययनअनुसार उक्त ढुंगेधारा चार सय वर्ष पुरानो हो । तर, यसबारे थप पुष्टि र शिलालेख खोज्न बाँकी रहेको विभागले जनाएको छ । १६ फिट गहिरो खाडलमा पुरिएको ढुंगेधाराको बाहिरी ढुंगामाटो उत्खनन गरे पनि त्यसलाई मौलिकता दिने काम भने भएको छैन । स्थानीय तथा सम्पदाप्रेमीले ढुंगेधाराको उत्खनन गरेर मात्रै नपुग्ने र अब पुरातत्व विभागले जिम्मेवारी लिएर ढुंगेधारा जीवित राख्नुपर्ने बताएका छन् ।

पुरानै मौलिक शैलीको आकार दिनुपर्ने र उचित संरक्षण गर्नुपर्ने सम्पदाप्रेमी यादवलाल कायस्थले जानकारी दिए । ‘यो ढुंगेधारा यही ठाउँमा छ भनेर मलाई साढे चार वर्षअघि नै स्थानीयले जानकारी गराउनुभएको थियो, विभागलाई पटक–पटक जानकारी गराउँदा बल्ल उत्खनन गर्न सक्यौँ,’ सम्पदाप्रेमी कायस्थले भने, ‘तर, उत्खनन भए पनि यसको उचित संरक्षण भएको छैन, हामीले दबाब दिँदा चासो दिएझैँ गर्ने अन्यथा बेवास्ता गर्ने प्रवृत्ति छ, यो राम्रो होइन ।’

उनले ढुंगेधाराको संरक्षणमा तत्परता नदेखाएको आरोप लगाए । उनका अनुसार यो धाराको डिजाइन जटिल छ । यसको डिजाइन आफूले गर्न सक्ने र समन्वय गर्न पुरातत्वसँग आग्रह गरे । यसअघि उत्खनन भएका कतिपय ढुंगेधारा पुनर्निर्माण गर्दा आकार र शैली बिग्रिएकाले त्यस्तो हुन नदिन सहयोग गर्ने कायस्थले बताए । दुई महिनाअघि उत्खनन गरिएको ढुंगेधारा अहिले खुलै छाडिएको छ । 

बानेश्वरको ढुंगेधारा उत्खनन गर्न माग
काठमाडौं महानगरपालिका–१०, नयाँ बानेश्वरस्थित औषधि व्यवस्था विभागछेवैको ढुंगेधारा पनि ३० फिटमुनि पुरिएको सम्पदाप्रेमीले बताएका छन् । यसबारे पुरातत्व विभाग र सरोकारवालालाई स्थानीयवासी र सम्पदाप्रेमीले जानकारी गराइसकेका छन् । यस ठाउँमा ढुंगेधारा रहेको प्रमाण नक्सामा समेत भेटिएको छ । उक्त नक्सा महानगरपालिका–१० का वडाध्यक्षको कार्यकक्षमा छ । यसलाई जतिसक्दो छिटो उत्खनन गर्न सम्पदाप्रेमीले पुरातत्व विभागसँग माग गरिरहेका छन् । ‘यो ढुंगेधारा धरहरानजिकै रहेको सुन्धाराभन्दा पनि पुरानो र कलात्मक मानिन्छ ।’ सम्पदाप्रेमी कायस्थले भने, ‘त्यसैले यसलाई संरक्षण गर्न जरुरी छ ।’ यो ढुंगेधारा सडक तथा फुटपाथभन्दा ३० फिटमुनि पुरिएको अनुमान छ ।