१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नरजन तामाङ काठमाडाैं
२०८० पौष १५ आइतबार ०९:५८:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

चीनको ताक्लाकोट बजारमा निर्भर हुम्लीको भान्सा

Read Time : > 2 मिनेट
नरजन तामाङ, काठमाडाैं
२०८० पौष १५ आइतबार ०९:५८:००

हुम्ला सदरमुकाम सिमिकोटबाट ९५ किलोमिटर कच्ची सडक छिचोलेपछि एक दिनमा पुगिन्छ, चीनसँगको हिल्सानाका । हिल्सानाकादेखि पक्की सडक ३० किलोमिटर टाढा छ, चीनको ताक्लाकोट बजार । 

हुम्लीवासी स्थानीय प्रशासन सीमापास लिएर त्यहीँ ताक्लाकोटमा किनमेल गर्न पुग्छन् । सिमिकोटदेखि हिल्सासम्मको ९५ किलोमिटर कच्ची सडकमा बोलेरो जिप, ट्याक्टर र ट्रकहरू चल्न थालेपछि चीनसँगको निर्भरता अझै बढेको हो । सिंगो नाम्खा गाउँपालिका चीनको ताक्लाकोटकै भरमा दैनिक उपभोग्य वस्तुमा भर पर्नुपरेको छ । नाम्खा गाउँपालिका–५ का तेन्जिङ पाल्जोर लामाका अनुसार पिठो, वनस्पति घिउ, भोटे चिया, उवा, जुत्ता, ब्ल्यांकेट, ओछ्याउने फर्म, चुलो, थर्मस मात्र होइन, सिमेन्ट–सरिया पनि ताक्लाकोटबाट ल्याइन्छ ।

सिमिकोट बजारमा नेपालगन्ज, सुर्खेतबाट जहाज र स्थलबाट दैनिक उपभोग्य वस्तु भित्रिन्छ । तर, ताक्लाकोटदेखि व्यापारीहरूले ल्याउने चिनियाँ सामान सस्तो पर्छ । नेपालगन्ज–सुर्खेत हुँदै हुम्लाको दक्षिण भेगको चंखेली गाउँपालिका सल्लीसल्लासम्म गाडी र त्यसपछि एक दिन पैदल खच्चडबाट बोकाएर चाउचाउ बिस्कुट, तेल, नुन, चामल ल्याउने गरेका छन् । 

‘नेपालबाट आउने सामान महँगो छ । नेपाल भएर सिमिकोटसम्म गाडी आउँदैन,’ उनले भने, ‘सस्तोमा सामान पाइने भएकाले ताक्लाकोट जाने गर्छाैँ ।’ तर, नाकामा सहज छैन । विशेष गरी ताक्लाकोटमा २५ केजी मैदाको बोरालाई चिनियाँ रुपैयाँ एक सय १० देखि एक सय ४० रुपैयाँ पर्छ । चिनियाँ एक युएन बराबर नेपाली १९ रुपैयाँ हो । नेपालीले विशेष गरी एक सय २० र एक सय ३० पर्ने मैदा किनेर ल्याउने गरेको नाम्खा गाउँपालिका–५ का तेन्जिङ पाल्जोर तामाङको भनाइ छ । चिनियाँ प्रहरीले मैदा ल्याउन नदिने भएकाले एक–दुई बोरा मात्रै लुकाएर ल्याउन बाध्य भएको उनले बताए । चिनियाँ पातलो कालो जुत्ता ताक्लाकोटमै पाँच सय ३२ रुपैयाँ, ब्लांकेट २४ सय ७० पर्ने उनले बताए । त्यस्तै, वनस्पति घिउ १० केजीको ३८ सय, भोटेचिया ३० पिसको १९ सय, ओछ्याउने फर्म २८ सय ८० ताक्लाकोटमै पर्छ । ताक्लाकोटदेखि हिल्सासम्म ढुवानीको जिम्मा चिनियाँ पक्षको हुन्छ, नेपालीले भन्सार महसुल तिरेर सामान ल्याउने गरिएको उनले बताए । 

उवा, फापर, कोदोको उत्पादनले वर्षभरि नधान्ने भएकाले ताक्लाकोटबाट सामान ल्याएर जोहो गर्नुपर्ने बाध्यता रहेको नाम्खा गाउँपालिका–४ का पुर्वु लामाले बताए । यस वर्ष तीनपटक ताक्लाकोट पुगेर तीन बोरा पिठो ल्याएको उनले जनाए ।

हिल्सानाकादेखि ताक्लाकोटसम्म ३० किलोमिटर दूरीमा चिनियाँ सार्वजनिक बस चल्दै आएको छ । सार्वजनिक गाडीभाडा २५ चिनियाँ युएन अर्थात् नेपाली पाँच सय रुपैयाँ तिर्दै आएका छन् । निजी सवारीमा सामान बोकाएर ल्याएको तीन सय ५० चिनियाँ युएन अर्थात् नेपाली ६ हजार ६ सय ५० पर्छ । दैनिक बिहान दुईवटा सार्वजनिक सवारी र ६ देखि आठवटा निजी सवारी चल्ने गरेका छन्  । 

रोजगारीका लागि चीनको ताक्लाकोट पुगेका नेपालीले दैनिक ताक्लाकोटदेखि हिल्सानाकासम्म सामान पास गरेबापत ३६ सय लिने गरेका छन् । नेपालबाट ताक्लाकोट पुगेर रोजगारी नपाएका नेपालीले ताक्लाकोटबाट हिल्सानाकासम्म व्यापारीको सामान पास गर्न आउने गरेका छन् । सीमामा चिनियाँ प्रहरीले प्रतिव्यक्ति दुई पिस मात्रै सामान छाड्ने भएपछि नेपालीले दैनिक दुई बोराका दरले सामान पास गर्छन् । 

सीमापासमा प्रशासनको मनपरी  
स्थानीय प्रशासनको रेकर्डअनुसार झन्डै चार हजार नेपालीलाई सीमापास वितरण गरेको छ । चीनको सीमा जोडिएका बासिन्दाका लागि ३० किलोमिटर परसम्म जाने अनुमति भए पनि जिल्ला प्रशासन कार्यालय हुम्लाले मनपरी रूपमा सीमापास वितरण गरेको स्थानीयको आरोप छ । प्रशासन कार्यालय हुम्लाबाट चीनको ताक्लाकोट जान वैशाख १८ यता तीन हजार सात सय तीनजनाले सीमापास लिएको तथ्यांक छ । जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीले बसाइँसराइ गरेर आएकालाई मात्रै सीमापास दिएको बताए । त्यसबाहेक जिल्लामा कार्यरत कर्मचारी, प्रहरीलगायतका टोलीलाई सीमापाससमेत वितरण भएको छ ।

गाडीभाडामै सिन्डिकेट
चीनको ताक्लाकोटदेखि ३० किलोमिटर दूरी रहेको हिल्सानाकासम्म सामान एउटा गाडीमा र मान्छे अर्काे गाडीमा चढ्नुपर्छ । सार्वजनिक सवारीमा नेपाली पाँच सय रुपैयाँ प्रतियात्रुको भाडा छ भने दुई बोरा सामान ल्याउन निजी गाडीमा ६ हजार ६ सय ५० रुपैयाँ तिर्नुपर्ने स्थानीय तेन्जिङ पाल्जोर तामाङले बताए । ३० किलोमिटर सडक पार गर्दा पाँच सय तिर्न बाध्य भएको नाम्खा गाउँपालिका–४, याङ्गारका पुर्वु तामाङले बताए ।  

चीनको लासाबाट हुम्ला ल्याउने विकास निर्माणका सामानहरू हिल्सासम्म पुग्न झन्झट हुने गरेको छ । ठूलो गाडीका सामानलाई ताक्लाकोट पुगेपछि १४ वटा गाडीमा टुक्र्याएर पैसा लुट्ने गरेको सिमकोट गाउँपालिका–४ का छिरिङ लामाले गुनासो गरे । लासाबाट कम्पनीको नियमअनुसार ढुवानी गरिएको विकासी सामान सिमेन्ट, सरिया ताक्लाकोटमा झारेर १४ गाडी बनाउँदा भाडामा मात्रै दुई लाख ९२ हजार सात सय घाटा भएको लामाले बताए । 

खाद्यान्न लुकाउन बाध्य 
हिल्सानाका हुँदै भित्रिने मैदा लुकाएर ल्याउनुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ । धेरै सामान ल्याउन नदिने भएकाले दुई पिस बनाएर ल्याउनुपर्ने नाम्खा गाउँपालिका–५ का निमा तामाङले बताए । ‘नाम्खामा उत्पादन कम हुन्छ, हिउँदमा खाने मैदा ल्याउन ताक्लाकोट पुग्नुपर्छ, दुई बोरा मात्रै ल्याउन पाइन्छ, त्यही पनि लुकाई–लुकाई सीमापास गर्नुपर्छ,’ तामाङले भने । हिल्सानाका चिनियाँ गेट प्रवेश गर्नेबित्तिकै नेपालीको मनोबल नै परिवर्तन हुने गरेको नाम्खा गाउँपालिका–४, याङ्गार गाउँका पुर्वु तामाङले बताए । 

दैनिक ५० जना आवतजावत
हुम्लाको हिल्सानाकाबाट दैनिक ५०–६० जना नेपाली आवतजावत गर्दै आएको हिल्सा प्रहरी चौकीले जानकारी दिएको छ । वैशाख पहिलो सातादेखि हिल्सानाका सञ्चालनमा आएपछि दैनिक नेपालीहरू चीनको ताक्लाकोट आउजाउ गर्न थालेको हिल्सा प्रहरी चौकीका इन्चार्ज एकेबहादुर खड्काले बताए ।